भोटेकोशी बाढीले घरपरिवारसँगै पढाइसमेत प्रभावित भएका बालबालिकामध्ये करिब एक हजार जनाको शिक्षा निरन्तर गराउन एक अर्ब रुपैयाँ बराबरको छात्रवृत्ति कार्यक्रम अघि सारिएको छ। सरकारले निजी शैक्षिक क्षेत्र तथा अन्य संघसंस्थासँग सहकार्य गरी प्रारम्भिक बालविकासदेखि कक्षा १२ सम्मका प्रभावित विद्यार्थीको पढाइ सुनिश्चित गर्ने गरी ‘सुनिश्चित भविष्य छात्रवृत्ति योजना’ घोषणा गरेको हो।
शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले सोमबार उक्त योजना घोषणा गरेका हुन्। छात्रवृत्ति केवल विद्यालय शुल्कमा सीमित हुने छैन। प्रभावित विद्यार्थीको अवस्थाअनुसार विद्यालय शुल्क, पाठ्यपुस्तक, पोसाक र शैक्षिक सामग्रीदेखि आवास तथा खानासम्मको खर्च समेट्ने तयारी गरिएको छ।
सबै प्रभावित विद्यार्थीले भने समान प्रकृतिको सुविधा पाउने छैनन्। बाढीका कारण अभिभावक वा परिवारका सदस्य गुमाएका वा सम्पर्कविहीन भएका, आर्थिक रूपमा कमजोर बनेका, विद्यालय जान नसक्ने अवस्थामा पुगेका तथा विशेष सहयोग आवश्यक पर्ने बालबालिकालाई पहिलो प्राथमिकतामा राखिनेछ।
विद्यार्थीको वास्तविक अवस्था पहिचान गर्न स्थलगत सर्वेक्षण गरिनेछ। सम्बन्धित विद्यालय, वडा कार्यालय र स्थानीय तहको सिफारिससमेतका आधारमा विद्यार्थी छनोट गरी आवश्यकताअनुसार पूर्ण, आंशिक वा आवासीय छात्रवृत्ति उपलब्ध गराइने मन्त्रालयले जनाएको छ।
योजनाको आकार करिब एक अर्ब रुपैयाँ बराबरको हुने हिसानका अध्यक्ष युवराज शर्माले बताएका छन्। उनका अनुसार पहिलो चरणमा करिब एक हजार विद्यार्थीलाई छात्रवृत्तिमा समेट्ने तयारी छ। कार्यक्रमलाई दीर्घकालीन बनाउन राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संस्थाबाट समेत सहयोग जुटाउने योजना छ।
छात्रवृत्तिका लागि आवश्यक स्रोत जुटाउन सरकारले निजी शैक्षिक क्षेत्रसँग सहकार्य गर्नेछ। प्याब्सन, एनप्याब्सन, हिसान, एपिन र मन्टेश्वरी एसोसिएसन नेपाललगायत निजी विद्यालय सञ्चालकका संस्थालाई कार्यक्रममा जोडिएको छ। मन्त्रालयले निजी तथा व्यावसायिक क्षेत्रसँगै सरकारी, गैरसरकारी तथा अन्य संस्थालाई पनि योजनामा योगदान गर्न आह्वान गरेको छ।
मन्त्रालयको सिफारिसका आधारमा निजी विद्यालय तथा सहयोगी संस्थाले प्रभावित विद्यार्थीलाई छात्रवृत्ति तथा अन्य शैक्षिक र भौतिक सहयोग उपलब्ध गराउने प्रस्ताव छ। यसरी सरकार आफैंले एक अर्ब रुपैयाँ नगद विनियोजन गर्नेभन्दा पनि विभिन्न निकाय र निजी शैक्षिक संस्थासँगको सहकार्यबाट सो बराबरको छात्रवृत्ति तथा सुविधा जुटाउने गरी कार्यक्रम अघि बढाइएको हो।
भोटेकोशी बाढीले शिक्षा क्षेत्रमा समेत ठूलो असर पारेको प्रारम्भिक तथ्यांक छ। रसुवा, नुवाकोट र धादिङमा मात्रै १९ विद्यालय पूर्ण वा आंशिक रूपमा क्षतिग्रस्त भएका छन्। १६ शिक्षक र २१७ विद्यार्थी सम्पर्कविहीन रहेको विवरण छ भने ९ हजार ७४२ विद्यार्थीको सिकाइ प्रभावित भएको छ।
भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट रसुवा, नुवाकोट, धादिङ, गोरखा र तनहुँका १५ स्थानीय तह प्रभावित भएका छन्। सरकारले ती स्थानीय तहलाई विपद् संकटग्रस्त क्षेत्र घोषणा गरेको छ।
बाढीपछि तत्काल उद्धार, राहत र पुनःस्थापनामा केन्द्रित सरकारी प्रयाससँगै अब प्रभावित बालबालिकाको पढाइ नछुटोस् भन्ने उद्देश्यले शिक्षा क्षेत्रको पुनःस्थापनालाई समेत अघि बढाइएको हो।








प्रतिक्रिया