पर्वतमा पहिरो खसेर किम्रुङ खोला थुनिएपछि जिल्ला प्रशासन कार्यालयले खोला आसपास तथा तल्लो तटीय क्षेत्रमा बसोबास गर्ने स्थानीयलाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ।
जिल्ला प्रशासन कार्यालय पर्वतले मंगलबार राति ८ः४० बजे सूचना जारी गर्दै पहिरोका कारण किम्रुङ खोला थुनिएको जानकारी गराएको हो। खोला थुनिएपछि पानीको बहाव एक्कासि बढ्न सक्ने र तल्लो क्षेत्रमा जोखिम निम्तिन सक्ने भएकाले स्थानीयलाई सुरक्षित रहन प्रशासनले आग्रह गरेको छ।
प्रशासनका अनुसार किम्रुङ खोलाको पानी थुनिएर एक्कासि बाहिरिएमा नयाँपुल, वीरेठाँटी तथा आसपासका बस्तीमा प्रभाव पर्न सक्ने सम्भावना छ। त्यसैले जोखिमयुक्त क्षेत्रका बासिन्दालाई सम्भावित बाढीबाट जोगिन सुरक्षित स्थानतर्फ जान अनुरोध गरिएको छ।
किम्रुङ खोला मोदी खोलाको शाखा नदी हो। खोला थुनिएर पानीको बहावमा परिवर्तन आएमा यसको असर मोदी खोला हुँदै कालीगण्डकीको दोभान र आसपासका तल्लो तटीय क्षेत्रमा समेत पर्न सक्ने भएकाले त्यस क्षेत्रका बासिन्दालाई पनि सतर्क रहन भनिएको छ।
जिल्ला प्रशासन कार्यालयले सम्भावित जोखिमलाई ध्यानमा राख्दै मोदी नदी करिडोरमा आवागमन नगर्न समेत आग्रह गरेको छ। प्रशासनले स्थानीय बासिन्दालाई नदी तथा खोला किनारमा नजान, सुरक्षित स्थानमा रहन र जोखिमसम्बन्धी सूचनामा ध्यान दिन अनुरोध गरेको छ।
खोला थुनिएपछि त्यस क्षेत्रमा पानीको अवस्था र सम्भावित जोखिमबारे निगरानी बढाइएको प्रशासनले जनाएको छ। सम्भावित जोखिमलाई मध्यनजर गर्दै सम्बन्धित निकायलाई आवश्यक तयारी अवस्थामा रहनसमेत आग्रह गरिएको छ।
किम्रुङ खोला थुनिएको घटनाले एकातर्फ पहिरोबाट तत्कालीन जोखिम बढाएको छ भने अर्कोतर्फ खोला फुटेर एक्कासि ठूलो पानीको बहाव तल्लो क्षेत्रमा पुग्न सक्ने सम्भावना सिर्जना गरेको छ। त्यसैले किम्रुङ खोला, मोदी खोला तथा कालीगण्डकी आसपासका बस्तीमा रहेका नागरिकलाई विशेष सावधानी अपनाउन प्रशासनले आग्रह गरेको हो।











प्रतिक्रिया