सेनाको उद्धार तीव्र, हवाई मार्गबाट ४ हजार २० जनाको उद्धार

काठमाडौँ। देशका विभिन्न भागमा आएको विनाशकारी विपद्पछि नेपाली सेनाले खोज, उद्धार, उपचार तथा राहत कार्यलाई थप तीव्र बनाएको छ। प्रभावित क्षेत्रमा जीवनरक्षा, बेपत्ताको खोजी, घाइतेको उपचार, राहत सामग्रीको ढुवानी तथा अवरुद्ध पूर्वाधार सञ्चालनमा ल्याउने कामका लागि सेनाले हवाई र जमिन दुवै माध्यमबाट ठूलो संख्यामा जनशक्ति परिचालन गरेको छ।

मंगलबार २०८३ भदौ २२ गते साँझ ६ बजेसम्मको विवरणअनुसार नेपाली सेनाले हवाई साधनमार्फत थप ४० जनाको सकुशल उद्धार गरेको छ। यससँगै विपद् प्रभावित क्षेत्रबाट हवाई मार्ग हुँदै उद्धार गरिनेको संख्या ४ हजार २० पुगेको छ। उद्धार गरिएकामध्ये ३ हजार ७३७ जना नेपाली र २८३ जना विदेशी नागरिक रहेका छन्।

सेनाका अनुसार रसुवाको टिमुरेदेखि नुवाकोट, धादिङ, चितवन र नवलपरासी पूर्वसम्मका प्रभावित क्षेत्रमा ९ हजार ३०० भन्दा बढी सैनिक प्रत्यक्ष रूपमा परिचालन भएका छन्। उनीहरू खोज तथा उद्धारसँगै शव व्यवस्थापन, राहत सामग्री ढुवानी र अवरुद्ध सडक तथा अन्य संरचना सञ्चालनमा ल्याउने काममा निरन्तर खटिरहेका छन्।

विशेषगरी जलविद्युत् आयोजना र टनेल क्षेत्रमा बेपत्ता तथा प्रभावितको खोजीलाई सेनाले उच्च प्राथमिकतामा राखेको छ। चिलिमे जलविद्युत् आयोजनामा विदेशी टोलीसहितको संयुक्त उद्धार टोलीले ‘स्लिङ अपरेसन’मार्फत स्याफ्रुबेंसी पुर्‍याइएको मिनी एक्साभेटर प्रयोग गरी टनेल क्षेत्रमा खोजी थालेको छ। टनेलभित्र सहज रूपमा आवतजावत गर्न ६/६ मिटरका चारवटा ठूला पाइप प्रयोग गरेर पैदल मार्गसमेत तयार पारिएको छ।

त्यस्तै, त्रिशूली–३ बी जलविद्युत् आयोजनामा १०० जना सैनिक तथा आयोजनाका प्रतिनिधिको टोलीले तीनवटा बोबक्याट प्रयोग गरी आयोजना कार्यालय तथा आवास गृह क्षेत्रमा खोजी गरेको छ। करिब १० फिट गहिराइसम्म खन्दा पनि संरचना फेला नपरेपछि थप चारवटा एक्साभेटर प्रयोग गरी खोजी कार्य जारी राखिएको सेनाले जनाएको छ।

माथिल्लो त्रिशूली–१ आयोजनाको टनेलमा पनि मुख्य प्रवेशद्वारबाट करिब ४०० मिटरसम्म पुगेर खोजी गरिएको छ। हालसम्म त्यहाँबाट कोही फेला परेका छैनन्। यसैगरी रसुवागढी जलविद्युत् आयोजनाको पावरहाउस तथा कन्ट्रोल प्वाइन्ट, त्रिशूली–३ ए र लाङटाङ जलविद्युत् आयोजना क्षेत्रमा पनि सैनिकसहितको संयुक्त टोलीले खोजी कार्य जारी राखेको छ।

विपद्पछि टुटेका भौतिक सम्पर्क पुनःस्थापित गर्ने कामलाई पनि सेनाले तीव्रता दिएको छ। नुवाकोटको विदुर नगरपालिका–५, देवीघाटस्थित तादी नदीमा नेपाली सेनाको इन्जिनियरिङ फौजका ५५ जनाको टोलीले नयाँ पुल निर्माणलाई तीव्र बनाएको छ। त्यस्तै, नुवाकोट–देवीघाटअन्तर्गत इन्द्रेणी चौर र गुम्बा डाँडा जोड्ने दुईवटा तुइन निर्माण गरी सञ्चालनमा ल्याइएको छ।

उद्धारसँगै प्रभावित तथा घाइतेलाई तत्काल स्वास्थ्य सेवा उपलब्ध गराउने काम पनि निरन्तर भइरहेको छ। त्रिशूली र धुन्चेमा स्थापना गरिएका आपत्कालीन उपचार केन्द्र तथा मेडिकल पेट्रोलमार्फत हालसम्म ३ हजार ४०४ जनाले उपचार सेवा पाएका छन्। मैलुङदेखि स्याफ्रूबेंसीसम्मको क्षेत्रमा सैनिक टोलीले पैदल गस्ती गर्दै प्रभावितको खोजी तथा उद्धार गरिरहेको छ।

विपद्पछिको कठिन भूगोल, अवरुद्ध सडक, नदीको कटान तथा जलविद्युत् आयोजनाका टनेलमा रहेको जोखिमका बीच नेपाली सेनाले हवाई तथा जमिनी माध्यमबाट उद्धारलाई निरन्तरता दिएको छ। प्रभावित क्षेत्रमा तत्काल राहत पुर्‍याउनेदेखि जोखिमपूर्ण संरचनाभित्र बेपत्ताको खोजी, स्वास्थ्य सेवा, शव व्यवस्थापन र सम्पर्कविहीन क्षेत्रसँग पुनःसम्पर्क स्थापित गर्ने काममा सेनाको ठूलो जनशक्ति परिचालन गरिएको छ।

सेनाको निरन्तर परिचालनसँगै विपद् प्रभावित क्षेत्रमा उद्धार र खोजी कार्यलाई थप प्रभावकारी बनाउने प्रयास भइरहेको छ। हवाई मार्गबाट मात्र चार हजारभन्दा बढीको उद्धार भइसकेको अवस्थामा जोखिमपूर्ण टनेल, नदी किनार तथा अवरुद्ध क्षेत्रमा खोजी कार्य भने अझै जारी रहेको छ।

प्रतिक्रिया

सम्बन्धित समाचार