बाढीमा ज्यान गुमाएकाप्रति शैक्षिक परामर्श व्यवसायीको श्रद्धाञ्जली, माइतीघरमा दीप प्रज्वलन

रसुवा, नुवाकोट र धादिङमा आएको विनाशकारी बाढी तथा पहिरोमा ज्यान गुमाएकाको सम्झनामा शैक्षिक परामर्श व्यवसायीहरू माइतीघर मण्डलामा भेला भएका छन्। विपद्को १३औँ दिनको पुण्यतिथिमा सोमबार साँझ दीप प्रज्वलन गर्दै उनीहरूले मृतकप्रति श्रद्धाञ्जली र प्रभावित परिवारप्रति ऐक्यबद्धता जनाएका हुन्।

नेपाल शैक्षिक परामर्श व्यवसायी महासंघको आयोजनामा भएको कार्यक्रममा महासंघमा आबद्ध विभिन्न शैक्षिक परामर्श व्यवसायी संघ–संस्थाका अध्यक्ष, पदाधिकारी, प्रतिनिधि तथा व्यवसायी सहभागी भएका थिए।

सहभागीले दीप प्रज्वलन गर्दै बाढी–पहिरोमा ज्यान गुमाएकाको चिरशान्तिको कामना गरेका थिए। उनीहरूले परिवारका सदस्य गुमाएका तथा विपद्बाट प्रभावित समुदायप्रति समवेदना व्यक्त गर्दै राहत र पुनर्स्थापनामा समेत शैक्षिक परामर्श क्षेत्रले भूमिका खेल्ने बताएका छन्।

महासंघका अध्यक्ष राजेन्द्र बरालले दीप प्रज्वलनलाई श्रद्धाञ्जलीमा मात्रै सीमित नभई प्रभावित नागरिकसँग शैक्षिक परामर्श क्षेत्र एकताबद्ध रहेको सन्देशका रूपमा लिइएको बताए।

“यो दीप प्रज्वलन केवल श्रद्धाञ्जलीको कार्यक्रम मात्र होइन, विपत्तिमा आफ्ना प्रियजन गुमाएका परिवार र प्रभावित समुदायप्रति शैक्षिक परामर्श क्षेत्रको सामूहिक ऐक्यबद्धता प्रकट गर्ने माध्यम पनि हो,” बरालले भने।

उनले विपद्पछिको उद्धार र तत्काल राहतसँगै प्रभावित परिवारको दीर्घकालीन पुनर्स्थापनामा पनि ध्यान दिनुपर्ने बताए। त्यसका लागि सरकार, निजी क्षेत्र, सामाजिक संघ–संस्था र नागरिक समाजबीच समन्वय तथा सहकार्य आवश्यक रहेको उनको भनाइ छ।

महासंघ र आबद्ध संघ–संस्थाले विपद्पछि प्रभावित नागरिकका लागि विभिन्न तहबाट सहयोगको पहल गरिरहेको जनाएका छन्। आगामी दिनमा प्रभावित क्षेत्रको आवश्यकता र अवस्थाका आधारमा सहयोगलाई निरन्तरता दिने महासंघले प्रतिबद्धता जनाएको छ।

महासंघले प्राकृतिक विपद्का बेला शैक्षिक परामर्श क्षेत्रको भूमिका व्यावसायिक गतिविधिमा मात्र सीमित नराखी सामाजिक उत्तरदायित्वका काममा समेत सामूहिक रूपमा सहभागी हुने जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित समाचार