साना तथा मध्यम व्यवसायका लागि वर्ल्डलिंकको ‘बिज२४ म्यानेज्ड वाइफाइ’ सेवा

नेपालकै अग्रणी इन्टरनेट सेवा प्रदायक वर्ल्डलिंक कम्युनिकेसन्स लिमिटेडले साना तथा मध्यम व्यवसायलाई लक्षित गर्दै ‘बिज२४ म्यानेज्ड वाइफाइ सोलुसन’ सञ्चालनमा ल्याएको छ । व्यवसायिक परिसरमा भरपर्दो तथा एकसमान वाइफाइ कभरेज उपलब्ध गराउने र नेटवर्कलाई क्लाउडमार्फत व्यवस्थापन गर्न सकिने गरी तयार गरिएको यो सेवा वर्ल्डलिंकले पहिलो पटक नेपाली बजारमा साना तथा मध्यम उद्यमका लागि ल्याएको हो ।

वर्ल्डलिंकका अनुसार व्यवसाय सञ्चालनमा इन्टरनेटको निर्भरता बढ्दै गए पनि धेरै साना तथा मध्यम व्यवसायले अझै घरायसी प्रयोजनका लागि डिजाइन गरिएका सामान्य इन्टरनेट कनेक्सन र एउटै राउटरमा आधारित वाइफाइ प्रणाली प्रयोग गरिरहेका छन् । यस्तो अवस्थामा व्यवसायिक परिसरको सबै क्षेत्रमा समान रूपमा वाइफाइ नपुग्ने, केही स्थानमा सिग्नल कमजोर हुने, व्यावसायिक गतिविधि भइरहेका बेला इन्टरनेटमा समस्या आउने तथा नेटवर्कमा भइरहेको गतिविधिबारे पर्याप्त जानकारी लिन नसकिनेजस्ता समस्या देखिने गरेका छन् ।

यिनै समस्यालाई ध्यानमा राखेर बिज२४ तयार पारिएको कम्पनीले जनाएको छ । व्यवसायिक परिसरको भौतिक संरचना, क्षेत्रफल र आवश्यकताअनुसार उपयुक्त वाइफाइ संरचना बनाउन सहयोग गर्ने भएकाले एउटै राउटरमा निर्भर रहनुपर्ने अवस्था अन्त्य हुने कम्पनीको दाबी छ । बिज२४ मार्फत व्यवसायका विभिन्न स्थानमा आवश्यकताअनुसार नेटवर्क विस्तार गरी सम्पूर्ण कार्यक्षेत्रमा समान र स्थिर वाइफाइ कभरेज उपलब्ध गराउन सकिनेछ ।

वर्ल्डलिंकका बिक्री प्रबन्धक सतीश कृष्ण राजभण्डारीका अनुसार साना तथा मध्यम व्यवसायले भोगिरहेका वास्तविक समस्या पहिचान गरेर बिज२४ विकास गरिएको हो । ग्राहकसँगको प्रत्यक्ष कुराकानी तथा फिल्डमा विभिन्न चरणमा गरिएको परीक्षणबाट सेवा तयार पारिएको कम्पनीले जनाएको छ । यसले व्यवसायलाई सामान्य इन्टरनेट कनेक्सनभन्दा व्यवस्थित, भरपर्दो र व्यवसायिक स्तरको कनेक्टिभिटी उपलब्ध गराउने लक्ष्य राखेको छ ।

बिज२४ लाई क्लिनिक, रेस्टुरेन्ट, साना तथा मध्यम आकारका मार्ट, स्टुडियो, को-वर्किङ अफिसलगायत विभिन्न प्रकारका व्यवसायलाई ध्यानमा राखेर डिजाइन गरिएको छ । यस्ता व्यवसायमा ग्राहक, कर्मचारी, डिजिटल उपकरण, सुरक्षा प्रणाली तथा अन्य सूचना प्रविधिसम्बन्धी सेवाको प्रयोग बढ्दै गएकाले स्थिर र पर्याप्त वाइफाइ कभरेज आवश्यक पर्ने कम्पनीको भनाइ छ ।

बिज२४ को प्रमुख विशेषतामध्ये व्यवसायिक परिसरभरि व्यवस्थित वाइफाइ कभरेज रहेको छ । व्यवसायको भौतिक संरचना र क्षेत्रफलअनुसार नेटवर्कको आवश्यकता मूल्यांकन गरी उपयुक्त वाइफाइ समाधानको योजना बनाउन सकिने भएकाले कार्यालय वा व्यवसायिक स्थलको कुनाकाप्चासम्म कनेक्टिभिटी विस्तार गर्न सहज हुने कम्पनीले जनाएको छ । यसले कुनै एउटा स्थानमा राखिएको एउटै राउटरको क्षमतामा मात्र निर्भर हुनुपर्ने अवस्थालाई कम गर्नेछ ।

व्यवसायका लागि अर्को महत्वपूर्ण पक्षलाई ध्यानमा राख्दै बिज२४ मा प्राथमिकतायुक्त ग्राहक सहायता सेवा पनि समावेश गरिएको छ । व्यवसाय सञ्चालनमा इन्टरनेट अवरोध हुँदा प्रत्यक्ष रूपमा कारोबार तथा दैनिक काम प्रभावित हुन सक्ने भएकाले समस्या देखिएपछि प्राथमिकताका आधारमा सहयोग उपलब्ध गराउने व्यवस्था गरिएको हो । बिज२४ का ग्राहकले तत्काल सहयोगका लागि ०१-५९७००४० मा सम्पर्क गर्न सक्नेछन् ।

कम्पनीले बिज२४ लाई व्यवसायको आवश्यकता बढ्दै जाँदा विस्तार गर्न सकिने गरी तयार गरेको छ । उच्च गतिको वाइफाइ कनेक्टिभिटीसँगै व्यवसायमा कर्मचारीको संख्या, उपकरण तथा नेटवर्कमा जोडिने सेवाहरू बढ्दै जाँदा त्यसअनुसार नेटवर्क विस्तार गर्न सकिने कम्पनीले जनाएको छ । यसले व्यवसायको आकार र आवश्यकतामा हुने परिवर्तनसँगै कनेक्टिभिटी प्रणालीलाई पनि अनुकूल बनाउन सहयोग गर्नेछ ।

बिज२४ अन्तर्गत सार्वजनिक स्थिर आईपी पनि उपलब्ध गराइनेछ । सुरक्षा क्यामेरा प्रणाली, विभिन्न सफ्टवेयर तथा अन्य सूचना प्रविधिसम्बन्धी सेवाहरू सञ्चालनका लागि आवश्यक पर्न सक्ने स्थिर आईपीले व्यवसायलाई आफ्ना डिजिटल तथा सूचना प्रविधि प्रणाली व्यवस्थापन गर्न थप सुविधा दिने कम्पनीको भनाइ छ ।

वर्ल्डलिंकले बिज२४ लाई ‘राइज’, ‘ग्रो’ र ‘प्रो’ गरी तीन तहमा उपलब्ध गराएको छ । यी प्याकेजमार्फत २०० एमबीपीएसदेखि १ जीबीपीएससम्मको उच्च गतिको इन्टरनेट कनेक्टिभिटी उपलब्ध हुनेछ । व्यवसायको आकार, प्रयोगको मात्रा र विकासको चरणअनुसार उपयुक्त प्याकेज छनोट गर्न सकिने व्यवस्था गरिएको छ ।

कम्पनीका अनुसार ‘राइज’ प्याकेज तुलनात्मक रूपमा सानो आकारका व्यवसायको आवश्यकता पूरा गर्ने गरी तयार गरिएको छ भने व्यवसाय विस्तारसँगै थप कनेक्टिभिटी आवश्यक पर्ने ग्राहकका लागि ‘ग्रो’ र ठूलो नेटवर्क तथा उच्च गतिको इन्टरनेट आवश्यक पर्ने व्यवसायका लागि ‘प्रो’ विकल्प उपलब्ध हुनेछ । यसले व्यवसायको आवश्यकता र क्षमताअनुसार सेवा छनोट गर्न सहज बनाउने अपेक्षा गरिएको छ ।

बिज२४ को वार्षिक शुल्क ३० हजार रुपैयाँबाट सुरु हुने कम्पनीले जनाएको छ । उक्त मूल्यमा १३ प्रतिशत मूल्य अभिवृद्धि कर समावेश छैन । सबै बिज२४ प्याकेजमा व्यवसायिक स्तरको राउटर, सार्वजनिक स्थिर आईपी र प्राथमिकतायुक्त ग्राहक सहायता सेवा समावेश गरिएको छ ।

वर्ल्डलिंकले यो सेवा नयाँ ग्राहकका साथै सेवा नवीकरण गर्ने ग्राहकका लागि पनि उपलब्ध गराएको छ । देशभर उपलब्ध हुने बिज२४ ले साना तथा मध्यम व्यवसायलाई इन्टरनेटलाई केवल कनेक्टिभिटीको माध्यमका रूपमा नभई व्यवसाय सञ्चालनको महत्वपूर्ण पूर्वाधारका रूपमा प्रयोग गर्न सहयोग गर्ने कम्पनीको अपेक्षा छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार