‘सुरक्षित आवास, प्रत्येक नागरिकको अधिकार’ भन्ने मूल नारासहित ‘सिजी प्रोपर्टिज नवौँ नेपाल घरजग्गा तथा निर्माण प्रदर्शनी–२०८३’ आगामी असोज १ देखि ४ गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा आयोजना हुने भएको छ।
नेपाल जग्गा तथा आवास विकास संघ र नेपाल जग्गा तथा आवास विकास महासंघको संयुक्त आयोजनामा हुने प्रदर्शनी नेपाल चेम्बर अफ कमर्सको ७५औँ हिरक जयन्तीका अवसरमा चेम्बरको सहकार्यमा आयोजना गर्न लागिएको हो। प्रदर्शनीको व्यवस्थापन सिया इभेन्ट एसोसिएट्स प्रालिले गर्नेछ।
आयोजकका अनुसार प्रदर्शनीमा नेपालका विभिन्न स्थान तथा भारतबाट समेत गरी १०० भन्दा बढी स्टल रहनेछन्। सबै स्टल बुकिङ भइसकेका छन्। प्रदर्शनीमा अपार्टमेन्ट तथा जग्गा विकास आयोजना, सिमेन्ट, स्टिल, काठ, सिसा, पेन्ट्स, सेनिटरी, विद्युतीय उपकरण, इन्टेरियर डिजाइन, सौर्य ऊर्जा, वर्षाको पानी संकलन तथा फोहोर व्यवस्थापनसम्बन्धी सामग्री र प्रविधि प्रदर्शन गरिनेछ।
यसपटक प्रदर्शनीलाई प्रविधिमैत्री तथा वातावरणमैत्री बनाउने तयारी गरिएको छ। डिजिटल स्ट्यान्डी, इलेक्ट्रोनिक कियोस्क तथा भर्चुअल रियालिटी प्रविधिको प्रयोग गर्दै प्रदर्शनीलाई ‘पेपरलेस’ बनाउने लक्ष्य आयोजकले राखेको छ। घर तथा जग्गा खरिद गर्न चाहने उपभोक्ताले विभिन्न आवासीय आयोजना, निर्माण सामग्री र प्रविधिबारे प्रत्यक्ष जानकारी लिन सक्नेछन्।
नवौँ नेपाल घरजग्गा तथा निर्माण प्रदर्शनीका संयोजक रोशन भोयध्योले सुरक्षित, व्यवस्थित तथा वैज्ञानिक बस्ती विकासमार्फत दिगो शहरीकरण प्रवर्द्धन गर्ने उद्देश्यले प्रदर्शनी आयोजना गरिएको बताए।
नेपाल चेम्बर अफ कमर्सका वरिष्ठ उपाध्यक्ष दीपक मल्होत्राले घरजग्गा क्षेत्रमा देखिएको सुस्तता हटाउन नीतिगत सुधार आवश्यक रहेको बताए। घरजग्गा कारोबारमा आएको मन्दीले यस क्षेत्रसँग जोडिएका व्यवसायसँगै समग्र अर्थतन्त्रमा समेत असर परेको भन्दै उनले कारोबारमा लाग्ने विभिन्न शुल्क तथा करका विषयमा पुनर्विचार गर्नुपर्ने धारणा राखे। उनले घरजग्गा क्षेत्रलाई चलायमान बनाउन लोन–टु–भ्यालु अनुपात ७० प्रतिशत पुर्याउनुपर्ने मागसमेत गरे।
नेपाल जग्गा तथा आवास विकास महासंघका अध्यक्ष विष्णुप्रसाद घिमिरेले घरजग्गा व्यवसाय अर्थतन्त्रको महत्वपूर्ण आधार भएको भन्दै क्षेत्रलाई व्यवस्थित र चलायमान बनाउन सरकार र निजी क्षेत्रबीच सहकार्य आवश्यक रहेको बताए।
नेपाल जग्गा तथा आवास विकास संघका अध्यक्ष इन्जिनियर दीपक कुँवरले भूकम्प, कोभिड–१९ महामारी र आर्थिक शिथिलताका बाबजुद घरजग्गा तथा निर्माण क्षेत्रले निरन्तरता पाउँदै आएको बताए। उनका अनुसार प्रदर्शनीले घरजग्गा कारोबारसँगै निर्माण सामग्री, प्रविधि, इन्जिनियरिङ, वास्तुकला तथा यससँग जोडिएका उद्योग र व्यवसायलाई समेत समेट्नेछ। प्रदर्शनीमा करिब १ करोड ४० लाख रुपैयाँ आसपासको मूल्यमा घर उपलब्ध हुने विकल्पसमेत उपभोक्तासमक्ष प्रस्तुत गरिनेछ।







प्रतिक्रिया