शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले शिक्षा तथा खेलकुद क्षेत्रका विषयमा सातै प्रदेश सरकारसँग सहकार्य र समन्वय थप प्रभावकारी बनाउने प्रतिबद्धता व्यक्त गरेका छन्।
सिंहदरबारस्थित शिक्षा मन्त्रालयमा सातै प्रदेशका शिक्षा तथा सामाजिक विकास हेर्ने मन्त्रीहरूसँग भएको छलफलमा संघ र प्रदेश सरकारबीचको समन्वय, विद्यालय शिक्षा ऐन, १०औँ राष्ट्रिय खेलकुद प्रतियोगिता, प्राविधिक तथा व्यावसायिक शिक्षा तथा तालिमसम्बन्धी विधेयक र विपद्का समयमा अन्तरसरकारी सहकार्यलगायत विषयमा छलफल भएको हो।
छलफलमा १०औँ राष्ट्रिय खेलकुद प्रतियोगिता निर्धारित समयमै सम्पन्न गर्ने, प्राविधिक तथा व्यावसायिक शिक्षा तथा तालिमसम्बन्धी विधेयक आपसी छलफलबाट टुंगोमा पुर्याउने तथा प्राविधिक शिक्षालाई थप विकेन्द्रीकृत र पहुँचयोग्य बनाउने विषयमा जोड दिइएको थियो।
मन्त्री पोखरेलले संघीय सरकार प्रदेश सरकारसँग मिलेर काम गर्न इच्छुक रहेको उल्लेख गर्दै शिक्षा र खेलकुद क्षेत्रको विकासका लागि तीन तहका सरकारबीच सहकार्य र समन्वय आवश्यक रहेको बताए। उनले विद्यालय शिक्षा ऐनलाई मन्त्रालयले प्राथमिकतामा राखेको जानकारी दिँदै ऐनमा तीन तहका सरकारको अधिकार क्षेत्र स्पष्ट पार्नुका साथै विगतका विधेयकमा छुटेका विषय समेटेर थप समृद्ध बनाउने प्रक्रिया अघि बढाइएको बताए।
विद्यालय शिक्षा ऐनलाई दीर्घकालीन र प्रभावकारी बनाउने उद्देश्यले देशभरका सरोकारवालासँग छलफल गरेर सुझाव संकलन भइरहेको उनको भनाइ थियो। विभिन्न पक्षका सुझाव समेटेर ऐनलाई अन्तिम रूप दिन केही समय लागिरहेको उनले स्पष्ट पारे।
१०औँ राष्ट्रिय खेलकुद प्रतियोगितालाई भव्य, सभ्य र प्रभावकारी रूपमा सम्पन्न गर्न तीन तहका सरकारबीच बलियो सहकार्य आवश्यक रहेको मन्त्री पोखरेलले बताए। सीमित स्रोतसाधनको अधिकतम उपयोग गर्दै खेल क्षेत्रको विकाससँगै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगितामा खेलाडीलाई प्रोत्साहन गर्ने नीति आवश्यक रहेको उनले उल्लेख गरे।
छलफलमा कोशी प्रदेशका सामाजिक विकासमन्त्री गीता तिम्सिनाले १०औँ राष्ट्रिय खेलकुद प्रतियोगितालाई प्रभावकारी रूपमा सञ्चालन गर्न संघ, प्रदेश र स्थानीय तहबीच समन्वय आवश्यक रहेको बताइन्। उनले तीन तहका सरकारबीच सिर्जनशील र दूरदर्शी योजना बनाएर अघि बढ्नुपर्नेमा जोड दिइन्।
मधेश प्रदेशका खेलकुद तथा समाजकल्याणमन्त्री लखन दास तत्माले शिक्षा प्रभावकारी नभएसम्म देशको समृद्धि सम्भव नहुने उल्लेख गर्दै शिक्षा र खेलकुद क्षेत्रको विकासका लागि तीन तहका सरकारबीच सहकार्य आवश्यक रहेको बताए।
बागमती प्रदेशका स्वास्थ्य तथा सामाजिक विकासमन्त्री गिरबहादुर तामाङ, गण्डकी प्रदेशका सामाजिक विकास, युवा तथा खेलकुदमन्त्री रेखा गुरुङ, लुम्बिनी प्रदेशका सामाजिक विकासमन्त्री रामजीप्रसाद घिमिरे, सुदूरपश्चिम प्रदेशका सामाजिक विकासमन्त्री सन्तोषकुमारी शर्मा (थापा) र कर्णाली प्रदेशका सामाजिक विकासमन्त्री जीतबहादुर मल्लले पनि शिक्षा तथा खेलकुद क्षेत्रको विकासका लागि संघ र प्रदेश सरकारबीच समन्वय अझ प्रभावकारी बनाउनुपर्नेमा जोड दिए।
कार्यक्रममा राष्ट्रिय योजना आयोगका सदस्य रेशु अर्याल ढुंगानाले शिक्षा तथा खेलकुद क्षेत्रको विकासका लागि राज्यको लगानी बढाउनुपर्ने आवश्यकता औँल्याइन्। विपद् व्यवस्थापनका लागि संघदेखि प्रदेश र स्थानीय तहसम्म प्रभावकारी समन्वय र स्पष्ट कार्ययोजना आवश्यक रहेको उनले बताइन्।
शिक्षा मन्त्रालयका सचिव चुडामणि पौडेलले बाढी प्रभावित बालबालिकाको शिक्षा निरन्तरता र गुणस्तरीय शिक्षाको सुनिश्चितताका लागि तीन तहका सरकारबीच समन्वय बलियो बनाउनुपर्ने बताए। बाढी तथा अन्य प्राकृतिक विपद्का कारण विद्यार्थीको पढाइ प्रभावित हुन नदिन संघ, प्रदेश र स्थानीय तहबीच प्रभावकारी सहकार्य आवश्यक रहेको उनको भनाइ थियो।
नेपाल नगरपालिका संघका अध्यक्ष भीमप्रसाद ढुंगाना र गाउँपालिका राष्ट्रिय महासंघका अध्यक्ष लक्ष्मी पाण्डेले पनि बाढी प्रभावित क्षेत्रका बालबालिकाको शिक्षा निरन्तरताका लागि तीन तहका सरकारबीच सहकार्य विस्तार गर्नुपर्नेमा जोड दिए।
कार्यक्रमको सहजीकरण शिक्षा मन्त्रालयका सहसचिव श्रीप्रसाद भट्टराईले गरेका थिए।








प्रतिक्रिया