रास्वपा सांसद सुवेदीको प्रस्ताव: दाङ प्रशासनिक र वीरगन्जलाई औद्योगिक राजधानी 

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद कमल सुवेदीले दाङ उपत्यकालाई देशको प्रशासनिक राजधानी बनाउन प्रतिनिधि सभामा प्रस्ताव गरेका छन्।

दाङ क्षेत्र- ३ बाट निर्वाचित सांसद सुवेदीले प्रतिनिधि सभाको बैठकमा बोल्दै काठमाडौँमा बढ्दो जनघनत्व र विपद्को जोखिमलाई ध्यानमा राख्दै दाङलाई प्रशासनिक राजधानीका रूपमा अघि बढाउनुपर्ने बताएका हुन्। दाङ दक्षिण एसियाकै ठूलो उपत्यका भएकाले भविष्यको सम्भावनालाई हेरेर अध्ययन/अनुसन्धानको प्रणाली विकास गर्न सकिने उनको भनाइ छ।

प्रशासनिक राजधानीका अतिरिक्त सांसद सुवेदीले वीरगन्जलाई देशको ‘औद्योगिक राजधानी’ का रूपमा विकास गर्नुपर्ने धारणा समेत राखे।

बैठकमा प्राकृतिक विपद् र जलवायु परिवर्तनका मुद्दा उठाउँदै उनले जोखिमयुक्त बस्तीहरूको वैज्ञानिक नक्साङ्कन गरी जमिनको बस्न योग्य अवस्था यकिन गरेर मात्र नीति बनाउनुपर्नेमा जोड दिए। साथै, विपद् व्यवस्थापन र पूर्वतयारीका लागि नेपाल, भारत र चीनबीच सामूहिक सूचना प्रणाली विकास गर्नुपर्ने उनले बताए।

‘हामीले संकट सिर्जना गरेका होइनौँ, तर सजाय भोगिरहेका छौँ,’ जलवायु न्यायका विषयमा बोल्दै सांसद सुवेदीले भने, ‘त्यसैले अन्तर्राष्ट्रिय मञ्चमा नेपालले राहत वा सहयोग होइन, आफ्नो अधिकार माग्नुपर्छ। जोखिमयुक्त बस्तीको सुरक्षा र पूर्वतयारीका लागि संघ, प्रदेश र स्थानीय तहबीच साझा जिम्मेवारी कायम गरेर अघि बढ्नुपर्छ।’

प्रतिक्रिया

सम्बन्धित समाचार