पृथ्वी राजमार्गअन्तर्गत धादिङको कृष्णभीरस्थित अवरुद्ध सडक भदौ महिनाभित्रै सञ्चालनमा ल्याउने गरी सरकारले निर्माण कार्यलाई तीव्र पारेको छ। भदौ १७ गते प्रतिनिधिसभामा सम्बोधन गर्दै प्रधानमन्त्री वालेन्द्र शाहले भदौको अन्तिमसम्ममा निर्माण सम्पन्न गरी यातायात सहज बनाउने लक्ष्यका साथ काम अघि बढाइएको जानकारी गराउनुभएको थियो।
अहिले कृष्णभीरमा पहाड काटेर करिब २५० मिटर नयाँ ट्रयाक निर्माण गर्न १० वटा मेसिन र ३० जना कर्मचारी परिचालन गरिएको छ। निर्माण क्षेत्रमा रातको समयमा पनि निर्बाध काम गर्न सकियोस् भन्ने उद्देश्यले सशस्त्र प्रहरी बल, नेपालले फ्लडलाइट जडान गरिदिएको छ। जसका कारण दिनमा १२ देखि १४ घण्टासम्म निरन्तर काम भइरहेको छ।
सडक विभाग र प्राविधिक टोलीले नयाँ ट्रयाक खोल्नुका साथै पहिरो रोकथामका लागि माथि र तल दुवैतर्फ जोगाउने काम तीव्र गतिमा अघि बढाएका छन्। यसै राजमार्गका अन्य ५ स्थानमा गएका पहिरो पन्छाएर दुईतर्फी यातायात खुलाउने कार्य पनि साथसाथै भइरहेको छ।
यही भदौ १० गतेको बाढीका कारण कृष्णभीर क्षेत्रको सडक संरचना कमजोर बनेको थियो भने भदौ १४ गते भोटेकोशीको बाढीले सडक भासिएपछि यातायात पूर्ण रूपमा ठप्प बनेको थियो। सोही दिन सरकारी टोलीले स्थलगत निरीक्षण गरी प्रधानमन्त्री र पूर्वाधारमन्त्रीबीच तत्काल मर्मत सुधारबारे छलफल भएको थियो।
त्यसलगत्तै सडक विभाग र नेपाल जियोटेक्निकल सोसाइटीका प्राविधिकहरूले ४ दिनसम्म गरेको द्रुत अध्ययनका आधारमा कृष्णभीरको पहाड काटेर २५० मिटर नयाँ ट्रयाक बनाउनु नै पहिलो र उपयुक्त विकल्प भएको निष्कर्ष निकालेका थिए। सोही प्राविधिक टोलीको सुझावअनुसार अहिले युद्धस्तरमा कार्य भइरहेको छ।





प्रतिक्रिया