काठमाडौँको ऐतिहासिक तथा सामाजिक केन्द्र डिल्लीबजारमा पिता बाबुकाजी र माता केशरी श्रेष्ठकी दोस्रो छोरीका रूपमा जन्मिएकी रेनु श्रेष्ठको बाल्यकाल निकै चञ्चल र रमाइलो वातावरणमा बित्यो। सानैदेखि चञ्चल स्वभावकी उनी साथीभाइ तथा समाजमा सबैसँग सहजै मिल्न सक्ने र अरूलाई सहयोग गर्ने सेवाभावयुक्त व्यक्तित्वकी धनी थिइन्।
आफ्नो माध्यमिक तहको शिक्षा डिल्लीबजारस्थित विजय मेमोरियल उच्च माध्यमिक विद्यालयबाट एसएलसी पूरा गरेकी उनले पद्मकन्या क्याम्पसबाट प्रमाणपत्र तह ११ र १२ को अध्ययन अघि बढाइन्। पद्मकन्या क्याम्पसमा पढ्दादेखि नै उनको चेतना र नेतृत्व क्षमता प्रस्फुटित हुन थाल्यो र उनी सक्रिय राजनीतिमा जोडिइन्।
२०४६ को ऐतिहासिक राजनीतिक परिवर्तन र त्यसपछिका उतारचढावबीच रेनुको विवाह भए तापनि सामाजिक तथा राजनीतिक यात्रा रोकिएनस बरु परिवारको निरन्तरको सहयोग र हौसलाले उनलाई अझ दह्रोसँग समाजसेवामा लाग्न प्रेरणा मिल्यो।
एक छोरा र एक छोरीकी आमाका रूपमा पारिवारिक जिम्मेवारी कुशलतापूर्वक सम्हाल्दै उनले आफूलाई सार्वजनिक सेवामा समर्पित गरिन्। स्थानीय जनप्रतिनिधि हुनुभन्दा अघि उनले नागरिक मञ्चको सदस्य भई जनताका पिरमर्कामा मलम लगाउने काम गरिन्। त्यसै गरी स्वास्थ्य स्वयंसेविकाका रूपमा उनले टोलटोल र घरघर पुगेर निरन्तर स्वास्थ्य सेवा पुर्याइन्।
विशेष गरी, देशलाई संकट परेका बेला २०७२ को विनाशकारी भूकम्प, विश्वव्यापी कोभिड–१९ महामारी, र डेंगुको प्रकोपका बेला उनले आफ्नो ज्यानको प्रवाह नगरी अहोरात्र खटिएर जनताको घरदैलोमै पुगी राहत, उद्धार र स्वास्थ्य सेवा प्रदान गरिन्। संकटका बेला जनताको सुख र दुःखमा पुर्याएको यही निस्वार्थ योगदान र समर्पणलाई कदर गर्दै पार्टीले उनलाई काठमाडौँ महानगरपालिका वडा २९ को वडा सदस्यको उम्मेदवारका रूपमा अघि सार्यो।
स्थानीय निर्वाचनमा जनताले उनको कामको मूल्याङ्कन गर्दै वडामा सबैभन्दा बढी मत दिएर विजयी गराए। विजयी भएपछि पनि उनी झन् बढी विनम्र र सक्रिय हुँदै जनातका काममा निरन्तर सक्रिय छन् ।
हाल उनी वडा कार्यालयमा बसेर नियमित रूपमा सर्वसाधारणका काम र गुनासाहरू सुनिरहेकी हुन्छिन्। साथै, वडा महिला सञ्जालको जिम्मेवारी सम्हाल्दै उनले स्थानीयस्तरमा हुने पारिवारिक तथा सामाजिक विवादहरू मिलाउने, महिला अधिकारको रक्षा गर्ने र अप्ठ्यारोमा परेकाहरूलाई कानुनी तथा सामाजिक सहयोग पुर्याउने काम गरिरहेकी छन्।
सहानुभूति, निस्वार्थ सेवा र दृढ इच्छाशक्ति भएकी यी महिलाको बिहानदेखि बेलुकीसम्मको दैनिकी नै समाज र नागरिकको सेवामा बित्ने गरेको छ। काठमाडौँ वडा २९ का बासिन्दाका लागि रेनु केवल जनप्रतिनिधि मात्र होइनन्, संकटकी साथी र सच्चा सामाजिक अभिभावक बनेकी छन्।









प्रतिक्रिया