कांग्रेसमा क्रियाशीलकै किचलो, महाधिवेशन तयारीमा चुनौती

नेपाली कांग्रेसको १५औं महाधिवेशन नजिकिँदै गर्दा पार्टीभित्र क्रियाशील सदस्यताको किचलो चुलिएको छ । निर्धारित कार्यतालिकाअनुसार काम अघि बढाउन नेतृत्वले जोड दिइरहे पनि सदस्यता अद्यावधिक र नयाँ वितरणमा देखिएको विवादले महाधिवेशन तयारीमा गम्भीर चुनौती थपेको छ ।

के छ विवादको चुरो ?
कांग्रेसले आगामी असोज १६–१९ गतेसम्म केन्द्रीय महाधिवेशन गर्ने गरी कार्यतालिका सार्वजनिक गरिसकेको छ । सोही योजनाअनुसार वैशाख मसान्तभित्रै सदस्यता अद्यावधिक गरिसक्ने लक्ष्य थियो । तर, संस्थापन इतर समूहको असन्तुष्टि र आन्तरिक विवादका कारण उक्त काम पटक–पटक लम्बिएर हाल असार २० गतेसम्म पुगेको छ । अहिलेसम्म शीर्ष नेताहरूसहित हजारौं पुराना क्रियाशील सदस्यले नवीकरण गरेका छैनन् । संस्थापन पक्षले सदस्यता अद्यावधिक नगर्ने नेता-कार्यकर्ताहरू महाधिवेशन प्रक्रियाबाट बाहिरिने चेतावनी दिँदै आएको छ ।

नेतृत्वको अडान
पार्टी महामन्त्री गगन थापाले क्रियाशील सदस्यता अद्यावधिक नगर्ने जोसुकैलाई पनि पार्टीको ‘सिस्टम’ले नचिन्ने प्रस्ट पारेका छन् । झापामा आयोजित एक कार्यक्रममा थापाले भने, ‘अद्यावधिक नभएको साथीलाई सम्मान गर्छौं, तर पार्टी सदस्यका रूपमा चिन्दैनौं । भोट हाल्ने बेला नाम वडामा आउँदैन ।’ उता, क्रियाशील सदस्यता व्यवस्थापन केन्द्रीय समितिका सदस्य तथा सहमहामन्त्री प्रकाश रसाइली ‘स्नेही’ भने काम तोकिएकै समयमा सकिने दाबी गर्छन् । महाधिवेशनको मुख्य मिति प्रभावित नहुने गरी तयारी भइरहेको उनको भनाइ छ। यद्यपि, उनले तल्लो तहका अधिवेशनका मितिहरू केही दिन तलमाथि हुन सक्ने संकेत भने गरेका छन् ।

नयाँ सदस्य थप्ने र पुराना नवीकरण गर्ने दबाब
कांग्रेसले १५औं महाधिवेशनलाई लक्षित गर्दै देशभर नयाँ सदस्यता वितरण अभियान चलाइरहेको छ । पार्टीले विशेषगरी ३५ वर्षमुनिका युवालाई समेट्दै ३ लाख नयाँ क्रियाशील सदस्य थप्ने महत्त्वाकांक्षी लक्ष्य राखेको छ । हालसम्मको तथ्यांकअनुसार करिब ५ लाख ३८ हजार पुराना सदस्यले नवीकरण गरिसकेका छन् भने डेढ लाख हाराहारीका फारम प्रक्रियामा छन् । १४औं महाधिवेशनमा ८ लाख ६६ हजारको हाराहारीमा रहेका क्रियाशील सदस्यहरूको संख्या यसपटक थप व्यवस्थित र फराकिलो बनाउने पार्टीको योजना छ।

महाधिवेशनको कार्यतालिकामाथि संशय
कांग्रेसले भदौ २ गतेदेखि वडा अधिवेशन सुरु गर्ने र असोज तेस्रो साता केन्द्रीय महाधिवेशन सम्पन्न गर्ने कार्यतालिका बनाएको छ । तर, सदस्यताकै किचलोका कारण यो कार्यतालिका पूर्ण रूपमा पालना होला कि नहोला भन्नेमा कार्यकर्तामाझ व्यापक आशंका उब्जिएको छ । प्रतिनिधि चयनदेखि मतदानसम्मको आधार नै क्रियाशील सदस्यता भएकाले यो विवाद समयमै सुल्झाउनु कांग्रेसका लागि मुख्य चुनौती बनेको छ । पार्टीभित्रको आन्तरिक अविश्वास र संस्थापन तथा इतर समूहबीचको दूरी बढ्दा महाधिवेशनको पूर्वसन्ध्यामा कांग्रेसको सांगठनिक एकतामै प्रश्न उठेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार