सिटिजन्स बैंकले प्रस्ताव गर्‍यो ४ प्रतिशत लाभांश, २० वर्षको औसत १०.०८ प्रतिशत

सिटिजन्स बैंक इन्टरनेसनलले आर्थिक वर्ष २०८२/८३ को नाफाबाट सेयरधनीलाई ४ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ। बैंकले ३.८० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.२० प्रतिशत नगद लाभांश प्रस्ताव गरेको हो।

बैंक सञ्चालक समितिको बुधबार बसेको ५२१औँ बैठकले उक्त लाभांश प्रस्ताव गरेको हो। नेपाल राष्ट्र बैंकको स्वीकृति तथा बैंकको आगामी २०औँ वार्षिक साधारणसभाबाट पारित भएपछि प्रस्तावित लाभांश सेयरधनीलाई वितरण गरिने बैंकले जनाएको छ।

बैंकका अनुसार २०८३ असार मसान्तसम्म कायम चुक्ता पुँजी १५ अर्ब ५० करोड ७४ लाख ६३ हजार ६१४ रुपैयाँको ३.८० प्रतिशतले हुने ५८ करोड ९२ लाख ८३ हजार रुपैयाँ बराबरको बोनस सेयर प्रस्ताव गरिएको छ। त्यस्तै, कर प्रयोजनका लागि ०.२० प्रतिशतले हुने ३ करोड १० लाख १४ हजार रुपैयाँ नगद लाभांश प्रस्ताव गरिएको छ।

बैंकले प्रस्ताव गरेको कुल लाभांश रकम ६२ करोड २ लाख ९८ हजार ५४४ रुपैयाँ ५७ पैसा रहेको छ। राष्ट्र बैंकको स्वीकृति र वार्षिक साधारणसभाबाट पारित भएपछि मात्र उक्त लाभांश वितरण हुनेछ।

सिटिजन्स बैंकले स्थापनादेखि नै सेयरधनीलाई निरन्तर लाभांश वितरण गर्दै आएको जनाएको छ। बैंकका अनुसार २०६४ वैशाख ७ गतेदेखि कारोबार सुरु गरेको बैंकले सर्वसाधारणलाई सेयर जारी गरेको आर्थिक वर्ष २०६५/६६ देखि नै लाभांश वितरण गर्दै आएको हो। पछिल्लो प्रस्तावसमेत जोड्दा बैंकको २० वर्षको औसत लाभांश दर १०.०८ प्रतिशत पुगेको छ भने पछिल्लो १० वर्षको औसत लाभांश दर ९.२४ प्रतिशत रहेको बैंकले जनाएको छ।

लाभांशसँगै बैंकले डिजिटल तथा लक्षित बैंकिङ सेवाको विस्तारलाई समेत प्राथमिकता दिँदै आएको जनाएको छ। बैंकले नवयुवालाई लक्षित गर्दै ‘सिटिजन्स जेन–जी सेभिङ अकाउन्ट’ तथा ‘सिटिजन्स डिजी बैंक सेवा’ सञ्चालनमा ल्याएको छ। त्यस्तै, फ्रिलान्सरलाई लक्षित गर्दै ‘फ्रिलान्सर सेभिङ अकाउन्ट’ पनि सुरु गरिएको बैंकले जनाएको छ।

बैंकले फोनपेसँगको सहकार्यमा ‘सिटिजन्स फोनपे क्रेडिट कार्ड’ नामक भर्चुअल क्रेडिट कार्ड सेवा सञ्चालनमा ल्याएको जनाएको छ। मोबाइल बैंकिङमार्फत सेयर आवेदन तथा सी–आस्बासम्बन्धी सेवा लिन सकिने सुविधा पनि उपलब्ध गराइएको बैंकको भनाइ छ।

त्यसैगरी, बैंकले क्रस बैंक टेलर सेवा सञ्चालनमा ल्याएको छ। यस सेवामार्फत अन्य बैंकका ग्राहकले सिटिजन्स बैंकका शाखामा टेलर क्यूआर स्क्यान गरी नगद प्राप्त गर्न सक्ने व्यवस्था गरिएको छ।

बैंकले ‘बैंक अफ द इयर २०२४’ र ‘बैंक अफ द इयर २०२५’ अवार्डसमेत प्राप्त गरेको जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित समाचार