काठमाडौ, नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले कम्युनिष्ट पार्टीहरूलाई एक ठाउँमा ल्याउने कुरामा हरेस खान नहुने बताएका छन् ।
आइतबार नेपाल कम्युनिष्ट पार्टीका संस्थापक पुष्पलाल श्रेष्ठको ४५ औँ स्मृति दिवसलाई सम्बोधन गर्दै कीर्तिपुरमा उनले कम्युनिष्ट पार्टीहरू आफ्नाआफ्ना पसल थापेर बसेको भन्दै सबैलाई एक ठाउँमा ल्याउन जरुरी रहेको बताए ।
नेपालले मिल्नसक्ने, सहकार्य गर्नसक्नेहरूबीच सहकार्य र एकता गरेर अघि बढ्ने बताए । उनले कम्युनिष्टहरूलाई जति मिलाउन सक्यो त्यत्ति धेरै शक्ति आर्जन गर्न सकिने बताए ।
अध्यक्ष नेपालले कम्युनिष्टहरू जति धेरै विभाजित हुन्छन् त्यत्ति धेरै नोक्सान हुने बताए । ‘कमरेड वामदेव गौतमले कम्युनिष्ट पार्टी शक्तिलाई मिलाऔँ भनेर जोड दिए।
सबै कम्युनिष्ट पार्टीहरू आफ्नाआफ्ना पसल थापेर बसेका छन्, आफ्ना आफ्नै पाराले चलिरहेका छन् ।
त्यसका बाबजुद पनि हामीले हरेक खानु हुँदैन । उनको संकल्प, उहाँको भावना अत्यन्त राम्रो छ,’ नेपालले भने, ‘यस अर्थमा जो जो जति मिल्न सक्छन् मिल्दै जाने हो ।
सहकार्य गर्दै जान सक्छन्, सहकार्य गर्दै जाने हो, यस अर्थमा हामीले हरेस खान जरुरी छैन, मिहिनेत गरेर प्रयत्न गर्नुपर्छ । जति शक्तिलाई मिलाउन सकियो, त्यत्ति हामी बढी शक्ति आर्जन गर्नसक्छौँ ।
त्यत्ति धेरै उर्जा पैदा गर्नसक्छ । जति हामी विभाजित बन्छौँ त्यत्ति धेरै नोक्सान हुन्छ, कम्युनिष्ट आन्दोलनको एकता, एकतावद्ध बनाउनको निम्ति हाम्रोतर्फबाट प्रयत्न हुनेछ ।’
उनले कम्युनिष्ट आन्दोलनलाई एकतावद्ध गराउन आफू सकारात्मक रहेको पनि बताए ।








प्रतिक्रिया