भारतमा वरिष्ठ सरोदवादक राजोपाध्याय ‘कला शिरोमणि’ पुरस्कारबाट सम्मानित

नेपालका वरिष्ठ सरोदवादक सुदर्शन राजोपाध्याय भारतको असम राज्यमा आयोजित ‘१०औँ अन्तर्राष्ट्रिय सङ्गम महोत्सव’मा प्रतिष्ठित ‘कला शिरोमणि’ पुरस्कारबाट सम्मानित हुनुभएको छ।

असमको गुवाहाटीस्थित राजहुवा सत्रको आयोजनामा साउन ४ देखि ६ गतेसम्म कुमारपाराको रङ्गमञ्चमा आयोजित तीन दिवसीय महोत्सवका क्रममा उहाँलाई उक्त सम्मान प्रदान गरिएको हो। आयोजक संस्थाका सत्त्राधिकार सनातन दास र सांस्कृतिक सचिव मञ्जुमणी बोराहका अनुसार महोत्सवको विशेष समारोहमा राजोपाध्यायले आफ्नो उत्कृष्ट सरोद वादन प्रस्तुत गर्नुभएको थियो। तीन दिनसम्म चलेको उक्त अन्तर्राष्ट्रिय महोत्सवमा भारतका विभिन्न राज्यका कलाकारहरूले नृत्य, गायन, वाद्यवादन तथा विविध सांस्कृतिक कला प्रस्तुत गरेका थिए।

नेपाली सङ्गीत र कलालाई अन्तर्राष्ट्रिय मञ्चमा प्रवर्द्धन गर्दै आउनुभएका सरोदवादक राजोपाध्याय यसअघि गत जेठमा महाराष्ट्रको पुणेमा आयोजित ‘भारत उत्सव’मा ‘राष्ट्रिय कलाक्षेत्रम् सम्मान’बाट समेत सम्मानित हुनुभएको थियो।उहाँले यसभन्दा अघि पनि भारतका विभिन्न राज्यहरूमा आयोजित सांस्कृतिक कार्यक्रमहरूमा सरोद वादन प्रस्तुत गरिसक्नुभएको छ।

सङ्गीत तथा कलाको क्षेत्रमा पुर्‍याउनुभएको विशिष्ट योगदानको कदरस्वरूप उहाँलाई यसअघि ‘सुरताल अन्तर्राष्ट्रिय अवार्ड’, ‘विविधतामा एकता राष्ट्रिय पुरस्कार’, ‘इण्डियन बेस्टिज अवार्ड’, ‘सङ्गीत मञ्जरी’ लगायत अनेकौँ राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मान प्रदान गरिसकिएको छ।

प्रतिक्रिया

सम्बन्धित समाचार