काठमाडौं । गरिमा विकास बैंकले नयाँ आर्थिक वर्ष २०८३/८४ को सुरुआतसँगै डिजिटल बैंकिङ सेवाको विस्तार गर्दै एकैसाथ तीन नयाँ प्रविधिमा आधारित सेवा सार्वजनिक गरेको छ।
ग्राहकलाई अझ सहज, सुरक्षित र आधुनिक बैंकिङ सेवा उपलब्ध गराउने उद्देश्यले बैंकले गरिमा प्रिपेड डलर कार्ड, गरिमा पीओएस टर्मिनल सेवा तथा गरिमा इन्टरबैंक क्यूआर टेलर सेवा औपचारिक रूपमा सञ्चालनमा ल्याएको जनाएको छ।
बैंकका अनुसार गरिमा प्रिपेड डलर कार्ड मार्फत नेपाल राष्ट्र बैंकले तोकेको सीमाभित्र रही अन्तर्राष्ट्रिय वेबसाइट, मोबाइल एप तथा विभिन्न ई–कमर्स प्लेटफर्ममा अमेरिकी डलरमा सुरक्षित रूपमा अनलाइन भुक्तानी गर्न सकिनेछ। यस सेवाले अन्तर्राष्ट्रिय डिजिटल कारोबारलाई थप सहज र सुरक्षित बनाउने विश्वास बैंकले लिएको छ।
त्यसैगरी, गरिमा पीओएस टर्मिनल सेवा मार्फत व्यवसायी तथा व्यापारीहरूले डेबिट, क्रेडिट तथा प्रिपेड कार्डबाट सुरक्षित, छिटो र भरपर्दो डिजिटल भुक्तानी स्वीकार गर्न सक्नेछन्। बैंकका अनुसार यस सेवाले नगदरहित कारोबारलाई प्रोत्साहन गर्दै व्यापारिक कारोबारलाई थप व्यवस्थित, पारदर्शी र प्रभावकारी बनाउन सहयोग पुग्नेछ।
यस्तै, गरिमा इन्टरबैंक क्यूआर टेलर सेवा मार्फत फोनपे नेटवर्कमा आबद्ध अन्य बैंक तथा वित्तीय संस्थाका ग्राहकहरूले आफ्नो मोबाइल बैंकिङ एपबाट इन्टरबैंक क्यूआर स्क्यान गरी गरिमा विकास बैंकको जुनसुकै शाखाबाट सहज रूपमा नगद प्राप्त गर्न सक्ने व्यवस्था गरिएको छ।
बैंकले डिजिटल प्रविधिमा आधारित नवीन सेवामार्फत ग्राहकको बैंकिङ अनुभवलाई अझ सहज, सुरक्षित र आधुनिक बनाउने लक्ष्य राखेको जनाएको छ। साथै, आगामी दिनमा पनि ग्राहकको आवश्यकता र बदलिँदो प्रविधिअनुसार नवीनतम डिजिटल सेवा विस्तार गर्दै जाने प्रतिबद्धता बैंकले व्यक्त गरेको छ।






प्रतिक्रिया