काठमाडौं । नेपालमा विद्युतीय दुईपाङ्ग्रे सवारीको बजार तीव्र रूपमा विस्तार भइरहेका बेला टीभीएस मोटर कम्पनीले नयाँ विद्युतीय स्कुटर ‘टीभीएस अर्बिटर’ सार्वजनिक गरेको छ। एक पटकको पूर्ण चार्जमा १५८ किलोमिटरसम्म चल्ने दाबी गरिएको यो स्कुटर सार्वजनिक भएसँगै नेपाली ईभी बजारमा प्रतिस्पर्धा थप तीव्र हुने अपेक्षा गरिएको छ।
कम्पनीले अर्बिटरलाई सहरी यात्रु, कार्यालय जाने कर्मचारी, विद्यार्थी तथा दैनिक प्रयोगकर्तालाई लक्षित गर्दै बजारमा ल्याएको जनाएको छ। ३.१ किलोवाट–घण्टा क्षमताको ब्याट्री जडान गरिएको स्कुटरले आईडीसी मापदण्डअनुसार १५८ किलोमिटरसम्म यात्रा गर्न सक्ने दाबी गरिएको छ।
अर्बिटरमा दैनिक प्रयोगलाई सहज बनाउने विभिन्न आधुनिक सुविधा समावेश गरिएको कम्पनीले जनाएको छ। स्कुटरमा क्रुज कन्ट्रोल, हिल होल्ड असिस्ट, रिजेनेरेटिभ ब्रेकिङ, पार्किङ असिस्ट, इको तथा पावर राइडिङ मोड, मोबाइल एपमार्फत कनेक्टिभिटी, रङ्गीन एलसीडी डिजिटल डिस्प्ले, टर्न–बाइ–टर्न नेभिगेसन तथा ओभर–द–एयर (ओटीए) सफ्टवेयर अपडेट जस्ता प्रविधि उपलब्ध छन्।
सामान राख्न पर्याप्त ठाउँ खोज्ने प्रयोगकर्तालाई ध्यानमा राख्दै स्कुटरमा ३४ लिटर क्षमताको अन्डर–सिट स्टोरेज दिइएको छ, जहाँ दुईवटा हेल्मेटसम्म राख्न सकिने कम्पनीको दाबी छ। साथै ८४५ मिलिमिटर लामो फ्ल्याट सिट र २९० मिलिमिटरको फराकिलो फुटबोर्डले लामो दूरीको यात्रालाई समेत आरामदायी बनाउने विश्वास कम्पनीको छ।
सुरक्षातर्फ दुर्घटना तथा स्कुटर ढलेको सूचना, चोरी तथा टोइङ अलर्ट, जियो–फेन्सिङ, लाइभ लोकेसन ट्र्याकिङ, आपतकालीन सूचना प्रणाली, १६९ मिलिमिटर ग्राउन्ड क्लियरेन्स, एलईडी हेडलाइट तथा यूएसबी चार्जिङ पोर्टजस्ता सुविधा समावेश गरिएको छ। कम्पनीले उद्योगमै पहिलोपटक १४ इन्चको अगाडिको पाङ्ग्रा प्रयोग गरिएको दाबी गर्दै यसले स्कुटरलाई थप स्थिर र नियन्त्रणयोग्य बनाउने जनाएको छ।
टीभीएस मोटर कम्पनीका अन्तर्राष्ट्रिय व्यवसाय अध्यक्ष पेमान कार्गरले नेपाल विद्युतीय सवारीका लागि सम्भावनायुक्त बजार भएकाले अर्बिटरको सार्वजनिकीकरण कम्पनीको दीर्घकालीन रणनीतिको महत्वपूर्ण हिस्सा रहेको बताए। अन्तर्राष्ट्रिय व्यवसाय उपाध्यक्ष मधु प्रकाश सिंहले नेपाली सडक र भौगोलिक अवस्थाअनुसार स्कुटरको परीक्षण गरिएकाले यसको कार्यसम्पादनप्रति कम्पनी विश्वस्त रहेको बताए।
नेपालका लागि टीभीएसको आधिकारिक वितरक शंकर ग्रुपका प्रबन्ध निर्देशक साहिल अग्रवालले अर्बिटरले कम्पनीको विद्युतीय दुईपाङ्ग्रे सवारीको दायरा अझ विस्तार गर्ने विश्वास व्यक्त गरे। उनका अनुसार देशभर फैलिएको बिक्री तथा सेवा सञ्जालमार्फत ग्राहकलाई बिक्रीपछिको सेवा पनि प्रभावकारी रूपमा उपलब्ध गराइनेछ।
टीभीएस अर्बिटर नियन सनबर्स्ट, कस्मिक टाइटेनियम र मार्सियन कपर गरी तीन रङमा उपलब्ध हुनेछ। यसको परिचयात्मक मूल्य २ लाख ८१ हजार ९ सय रुपैयाँ तोकिएको कम्पनीले जनाएको छ।
नेपालमा पछिल्ला वर्षहरूमा पेट्रोलको बढ्दो लागत, सरकारी कर छुट तथा विद्युतीय सवारीप्रतिको बढ्दो आकर्षणका कारण ईभी दुईपाङ्ग्रे बजार द्रुत रूपमा विस्तार भइरहेको छ। यस्तो अवस्थामा नयाँ प्रविधि, लामो रेन्ज र प्रतिस्पर्धी मूल्यसहित आएको टीभीएस अर्बिटरले बजारमा उपभोक्तालाई थप विकल्प दिने र विद्यमान ब्रान्डबीच प्रतिस्पर्धालाई अझ तीव्र बनाउने अपेक्षा गरिएको छ।










प्रतिक्रिया