‘ग्राहकको विश्वास नै हाम्रो सबैभन्दा ठूलो पूँजी हो’

पाँचथरको फिदिमबाट सुनचाँदी व्यवसाय सुरु गरी आज नेपाल सुनचाँदी रत्न तथा आभुषण महासंघ महासचिवसम्मको यात्रा तय गर्नुभएका विमल धमला (विश्वकर्मा) यस क्षेत्रका परिचित व्यवसायी तथा संगठनकर्ता हुनुहुन्छ। बुवा अमृतमान विश्वकर्मा र आमा फुलमाया विश्वकर्माका सुपुत्र उहाँले हजुरबुवा र बुवाले गर्दै आएको परम्परागत पेशालाई आधुनिक प्रविधि, पारदर्शिता र व्यावसायिक अनुशासनसँग जोडेर नयाँ पुस्तामा हस्तान्तरण गर्ने लक्ष्यका साथ करिब तीन दशकदेखि निरन्तर काम गर्दै आउनुभएको छ।

२०५३ सालमा कालिगढका रूपमा व्यवसायिक यात्रा सुरु गर्नुभएका उहाँ २०५४ सालदेखि आफ्नै व्यवसाय सञ्चालन गर्दै आउनुभएको छ। व्यवसायसँगै संगठनमा पनि सक्रिय रहँदै पाँचथर सुनचाँदी व्यवसायी संघको अध्यक्ष, महासंघको केन्द्रीय सदस्य, सचिव हुँदै हाल महासचिवको जिम्मेवारी सम्हालिरहनुभएको छ। उहाँसँग सुनचाँदी व्यवसायको वर्तमान अवस्था, चुनौती, अवसर र आगामी योजनाबारे गरिएको कुराकानीको सम्पादित अंशः

सुनचाँदी व्यवसायमा करिब तीन दशक बिताउँदा सबैभन्दा ठूलो सिकाइ के रह्यो ?
सुनचाँदी व्यवसायले मलाई धेरै कुरा सिकाएको छ, तर सबैभन्दा महत्वपूर्ण कुरा भनेको ग्राहकको विश्वास नै व्यवसायको सबैभन्दा ठूलो पूँजी हो भन्ने अनुभूति हो। ग्राहकले गरेको विश्वास जित्न सक्नु नै वास्तविक सफलता रहेछ भन्ने निष्कर्षमा म पुगेको छु। यस व्यवसायले इमानदारी, अनुशासन, धैर्यता, पारदर्शिता र जिम्मेवारीका साथ काम गर्न सिकाएको छ। बजारको उतारचढाव बुझ्ने, सही समयमा उचित निर्णय गर्ने, ग्राहकको आवश्यकता पहिचान गरी गुणस्तरीय सेवा प्रदान गर्ने तथा दीर्घकालीन सम्बन्ध निर्माण गर्ने सीप पनि यही व्यवसायबाट प्राप्त भएको हो। मेरो दृष्टिमा सुनचाँदी व्यवसाय केवल गहना बेच्ने–किन्ने पेशा होइन। यो हाम्रो संस्कृति, परम्परा, कला, सीप, विश्वास र व्यावसायिक नैतिकतासँग जोडिएको सम्मानित व्यवसाय हो। त्यसैले ग्राहकको विश्वासलाई मैले सधैं पहिलो प्राथमिकतामा राखेको छु।

समग्रमा सुनचाँदी व्यवसायका अवसर र चुनौतीलाई कसरी हेर्नुहुन्छ ?
यो व्यवसाय परम्परागत, सम्मानित र सीपमा आधारित पेशा हो। यसले स्वरोजगार र रोजगारी सिर्जना गर्ने ठूलो सम्भावना बोकेको छ। राम्रो आम्दानी, उद्यम विस्तार तथा देशको अर्थतन्त्रमा योगदान पुर्‍याउने क्षमता यस क्षेत्रमा प्रशस्त छ। भविष्यमा आभूषण निर्यातमार्फत विदेशी मुद्रा आर्जन गर्ने सम्भावना पनि उत्तिकै बलियो छ। तर चुनौतीहरू पनि कम छैनन्। सुनको मूल्यमा निरन्तर हुने उतारचढाव, चोरी–डकैती तथा सुरक्षा जोखिम, उच्च लगानी, नक्कली गहनाको कारोबार, तस्करी, अवैध व्यापार, बढ्दो प्रतिस्पर्धा, कर प्रणाली तथा नीतिगत अस्थिरताले व्यवसाय सञ्चालनमा कठिनाइ सिर्जना गरिरहेका छन्। यद्यपि इमानदारी, गुणस्तर, सीप र ग्राहकको विश्वास कायम राख्न सकियो भने यो व्यवसाय दीर्घकालीन रूपमा अझ सम्मानजनक र सफल बन्न सक्छ।

सरकार, महासंघ, व्यवसायी र उपभोक्ताको भूमिका कस्तो हुनुपर्छ ?
सुनचाँदी व्यवसायको दिगो विकासका लागि सरकार, व्यवसायी, महासंघ र उपभोक्ता सबै पक्षको समान जिम्मेवारी छ। सरकारले व्यवसायमैत्री, स्पष्ट र स्थिर नीति ल्याउनुपर्छ। सुनको आपूर्ति सहज बनाउने, कर प्रणालीलाई व्यवहारिक र पारदर्शी बनाउने तथा तस्करी र अवैध कारोबारलाई कडाइका साथ नियन्त्रण गर्ने वातावरण बनाउनुपर्छ। व्यवसायीहरूले इमानदारी, पारदर्शिता र व्यावसायिक नैतिकतालाई केन्द्रमा राख्नुपर्छ। शुद्ध र गुणस्तरीय गहना बिक्री, अनिवार्य बिलिङ, आधुनिक प्रविधिको प्रयोग तथा ग्राहकप्रति सम्मानजनक व्यवहारले मात्र व्यवसायप्रतिको विश्वास अझ मजबुत हुन्छ। महासंघले व्यवसायीहरूको हकहित संरक्षण गर्दै सरकारसँग प्रभावकारी समन्वय गर्नुपर्छ। साथै तालिम, क्षमता अभिवृद्धि, सीप विकास र नयाँ पुस्तालाई व्यवसायमा आकर्षित गर्ने कार्यक्रम सञ्चालन गर्न आवश्यक छ। उपभोक्ताले पनि प्रमाणित तथा दर्ता भएका पसलबाट मात्रै गहना खरिद गर्ने, अनिवार्य रूपमा बिल लिने र गुणस्तर तथा शुद्धताबारे सचेत रहने बानी बसाल्नुपर्छ।

नियमावली, कर प्रणाली र अहिले देखिएका समस्याबारे तपाईंको धारणा के छ ?
हामी करको विरोधी होइनौं। तर कर नीति न्यायोचित, स्पष्ट, स्थिर र व्यवसायमैत्री हुनुपर्छ भन्ने हाम्रो धारणा हो। अवैध कारोबार र तस्करीलाई पूर्ण रूपमा नियन्त्रण गरेर कानुनी व्यवसाय गर्ने वातावरण बनाउनुपर्छ। सरकार र व्यवसायीबीच निरन्तर संवाद र सहकार्य हुन सके अहिले देखिएका अधिकांश समस्या समाधान गर्न सकिन्छ। त्यसबाट व्यवसायी, उपभोक्ता र राज्य—तीनै पक्ष लाभान्वित हुन्छन्।

सुनचाँदी तथा आभूषण व्यवसायलाई थप व्यवस्थित र मर्यादित बनाउन के आवश्यक छ ?
सुनचाँदी तथा आभूषण व्यवसाय केवल सौन्दर्यसँग सम्बन्धित विषय होइन। यो हाम्रो संस्कृति, परम्परा, रोजगारी, सीप र राष्ट्रिय अर्थतन्त्रसँग प्रत्यक्ष जोडिएको क्षेत्र हो। यसलाई अझ व्यवस्थित बनाउन पारदर्शी नीति, गुणस्तरको सुनिश्चितता, व्यवसायीको उत्तरदायित्व, उपभोक्ता संरक्षण र राज्यको प्रभावकारी सहजीकरण आवश्यक छ। यसले व्यवसायप्रतिको विश्वासलाई अझ मजबुत बनाउनेछ।

लामो समय संगठनको नेतृत्वमा रहँदा व्यवसायी र कालिगढको हितमा के–के काम गर्नुभयो ?
पाँचथर सुनचाँदी व्यवसायी संघको अध्यक्षदेखि महासंघको महासचिवसम्मको यात्रामा मैले व्यवसायी, कालिगढ र उपभोक्ताबीच विश्वासको वातावरण निर्माण गर्न निरन्तर प्रयास गरेको छु। व्यवसायलाई व्यवस्थित, पारदर्शी र मर्यादित बनाउने, कालिगढको सीप विकास, सम्मान, सुरक्षा र सामाजिक संरक्षणका विषयलाई प्राथमिकताका साथ उठाएको छु। उपभोक्ताले शुद्ध, गुणस्तरीय र विश्वसनीय गहना प्राप्त गर्ने वातावरण निर्माण गर्न पनि निरन्तर आवाज उठाउँदै आएको छु।

आगामी योजना के–के छन् ?
आगामी दिनमा व्यवसायलाई अझ प्रविधिमैत्री, पारदर्शी र प्रतिस्पर्धी बनाउने लक्ष्य छ। कालिगढको क्षमता अभिवृद्धि, सीप विकास, सामाजिक सुरक्षा तथा युवा पुस्तालाई यस व्यवसायतर्फ आकर्षित गर्ने कार्यक्रमलाई थप प्रभावकारी बनाइनेछ। साथै उपभोक्ताको हितलाई केन्द्रमा राखेर नीति सुधार, बजार व्यवस्थापन तथा व्यवसायको संस्थागत विकासमा महासंघले अझ सशक्त भूमिका खेल्नेछ। मेरो स्पष्ट विश्वास छ— व्यवसायी बलियो भए कालिगढ सुरक्षित हुन्छन्, कालिगढ सुरक्षित भए गुणस्तरीय उत्पादन हुन्छ, र गुणस्तरीय उत्पादनले उपभोक्ताको विश्वास अझ बलियो बनाउँछ।

कालिगढ मजदुरहरूको अवस्था र उनीहरूको विकासका लागि के योजना छन् ?
सुनचाँदी व्यवसायको आधार नै दक्ष कालिगढ हुन्। उनीहरूको सीप, श्रम र सिर्जनशीलताले नै यस क्षेत्रको भविष्य निर्धारण गर्छ। त्यसैले कालिगढहरूको सीप विकास, व्यावसायिक सम्मान, सामाजिक सुरक्षा तथा क्षमता अभिवृद्धिलाई हाम्रो पहिलो प्राथमिकतामा राखेका छौं। सरकार, व्यवसायी र कालिगढबीच प्रभावकारी समन्वय गरी रोजगारीमुखी तथा सीपमूलक कार्यक्रम सञ्चालन गर्ने हाम्रो प्रतिबद्धता छ।

प्रतिक्रिया

सम्बन्धित समाचार