म्याक्सस नेपालको ८० लाखको राहत, दुई स्थानमा खानेपानी प्रशोधन प्रणाली जडान

विपद्बाट प्रभावित समुदायको राहत तथा पुनःस्थापनाका लागि म्याक्सस नेपालले करिब ८० लाख रुपैयाँ बराबरको सहयोग गरेको छ। एसएआईसी म्याक्सस चाइनाको सहयोग तथा हिमालय अर्गनाइजेसनको समन्वयमा म्याक्सस नेपालले प्रत्यक्ष आर्थिक सहयोगसँगै स्वच्छ खानेपानी र आवश्यक राहत सामग्री उपलब्ध गराएको हो।

म्याक्सस नेपालले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ५० लाख रुपैयाँ सहयोग गरिसकेको जनाएको छ। केही दिनअघि उक्त रकमको चेक अर्थमन्त्रीलाई हस्तान्तरण गरिएको थियो। त्यस्तै, त्रिशूली नदी पारिपट्टिका विपद् प्रभावित समुदायलाई लक्षित गरी करिब ३० लाख रुपैयाँ बराबरको राहत सामग्री वितरण गर्नुका साथै दुईवटा अस्थायी आश्रयस्थलमा स्वच्छ खानेपानीका लागि अल्ट्रा फिल्टर वाटर ट्रिटमेन्ट प्लान्ट जडान गरिएको छ।

नुवाकोटको त्रिशूलीस्थित श्री भैरम माध्यमिक विद्यालयमा सौर्य ऊर्जामा आधारित पानी शुद्धीकरण प्रणाली जडान गरिएको छ। उक्त स्थानमा हाल करिब ३०० परिवार अस्थायी रूपमा आश्रय लिइरहेका छन्। त्यसैगरी, नुवाकोटकै विदुर नगरपालिकास्थित त्रिशूली प्राथमिक विद्यालयमा अर्को पानी शुद्धीकरण प्रणाली जडान गरिएको छ, जहाँ करिब २०० परिवार अस्थायी रूपमा बसिरहेका छन्।

प्रत्येक पानी शुद्धीकरण प्रणालीले प्रतिघण्टा एक हजार लिटर पानी प्रशोधन गर्न सक्ने क्षमता राख्छ। यसबाट अस्थायी आश्रयस्थलमा रहेका परिवारलाई सुरक्षित तथा स्वच्छ खानेपानी उपलब्ध गराउन सहयोग पुग्ने म्याक्सस नेपालले जनाएको छ। विद्यालय सञ्चालनमा आएपछि उक्त प्रणालीबाट विद्यार्थीसमेत लाभान्वित हुनेछन्।

राहतअन्तर्गत प्रभावित परिवारका लागि डसना, सिरानी, तन्ना, औषधि तथा आधारभूत स्वास्थ्य सामग्री, खाद्यान्न, तरकारी, खाना पकाउने सामग्री तथा भाँडाकुँडा, पुरुष, महिला र बालबालिकाका लागि कपडालगायत दैनिक जीवनका लागि आवश्यक सामग्री वितरण गरिएको छ। राहतबाट करिब ४०० जना प्रभावित प्रत्यक्ष रूपमा लाभान्वित भएको कम्पनीले जनाएको छ।

राहत वितरण तथा खानेपानी प्रशोधन प्रणाली जडानमा हिमालय अर्गनाइजेसनका अध्यक्ष ध्रुव थापा, प्रबन्ध निर्देशक मिलन थापालगायत कर्मचारी तथा लायन्स इन्टरनेसनल डिस्ट्रिक्ट ३२५ जे नेपालका चिफ गभर्नर रामराजा थापासहित डिस्ट्रिक्टका अन्य पदाधिकारीको प्रत्यक्ष सहभागिता रहेको थियो।

म्याक्सस नेपालले उक्त सहयोग आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत गरिएको जनाएको छ। तत्कालीन राहतसँगै प्रभावित समुदायलाई सुरक्षित खानेपानीको दीर्घकालीन सुविधा उपलब्ध गराउने उद्देश्यले पानी शुद्धीकरण प्रणाली जडान गरिएको कम्पनीको भनाइ छ।

प्रतिक्रिया

सम्बन्धित समाचार