सरकारले घोषणा गरेको व्यवसायीक पुनरुत्थान प्याकेजको नाडाद्वारा स्वागत

भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित उद्योग, व्यापार तथा व्यवसायको पुनरुत्थानका लागि सरकारले घोषणा गरेको राहत प्याकेजको नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालले स्वागत गरेको छ।

सरकारले बाढी प्रभावित निजी क्षेत्रलाई लक्षित गरी भन्सार तथा कर छुट, कर्जा पुनर्संरचना तथा पुनर्तालिकीकरण, ब्याजमा सहुलियत, थप कर्जाको व्यवस्था र बीमा दाबी भुक्तानीलाई सहज बनाउने निर्णय गरेको छ। विपद्बाट प्रभावित व्यवसायलाई तत्काल राहत दिँदै पुनः सञ्चालनको वातावरण बनाउन सरकारले लिएको पहल सकारात्मक रहेको नाडाको धारणा छ।

विशेषगरी बाढीका कारण पूर्णरूपमा क्षतिग्रस्त वा बगाएर हराएका व्यावसायिक सवारीसाधन तथा ढुवानीका साधनको दर्ता खारेज गरी सोही प्रकृतिका नयाँ साधन पुनः आयात गर्दा भन्सार महसुल छुट दिने निर्णयले अटोमोबाइल तथा ढुवानी व्यवसायीलाई ठूलो राहत पुग्ने नाडाले जनाएको छ। बाढीबाट क्षतिग्रस्त मेसिनरी तथा उपकरण पुनः आयातमा दिइएको भन्सार सहुलियत पनि प्रभावित उद्योग तथा व्यवसाय पुनःस्थापनाका लागि महत्वपूर्ण हुने नाडाको भनाइ छ।

त्यस्तै, बाढीबाट प्रभावित ऋणीका लागि कर्जा पुनर्संरचना, पुनर्तालिकीकरण तथा ब्याजमा सहुलियत दिने निर्णयले व्यवसायीमाथिको तत्कालीन वित्तीय दबाब कम गर्ने नाडाले जनाएको छ। क्षतिग्रस्त सवारीसाधन तथा उपकरण पुनः खरिदका लागि आवश्यक कर्जा उपलब्ध गराउने व्यवस्था गरिएमा व्यवसायलाई पुरानै अवस्थामा फर्काउन थप सहज हुने नाडाको निष्कर्ष छ।

नाडाका अध्यक्ष सुरेन्द्रकुमार उप्रेतीले विपद्पछि निजी क्षेत्रलाई पुनः उभ्याउन सरकारले कर, भन्सार, कर्जा, ब्याज र बीमालाई एकीकृत रूपमा सम्बोधन गर्नु सकारात्मक कदम भएको बताए। यसले बाढी प्रभावित व्यवसायीलाई पुनः व्यवसायमा फर्कन आधार तयार गर्ने उनको भनाइ छ।

नाडाले सरकारी निर्णयको शीघ्र, सरल र प्रभावकारी कार्यान्वयनका लागि सम्बन्धित निकायलाई आग्रह गरेको छ। राहतका लागि घोषणा गरिएका व्यवस्था कार्यान्वयनमा प्रक्रियागत जटिलता नहोस् र वास्तविक रूपमा क्षति व्यहोरेका व्यवसायीले सहज रूपमा सुविधा प्राप्त गर्न सकून् भन्नेमा नाडाले जोड दिएको छ।

वास्तविक क्षतिको अध्ययन गरी आवश्यकताअनुसार पुनरुत्थान प्याकेजको दोस्रो चरणसमेत ल्याउन नाडाले सरकारसँग आग्रह गरेको छ। बाढीबाट प्रभावित व्यवसायलाई दीर्घकालीन रूपमा पुनः सञ्चालनमा ल्याउन तत्कालीन राहतसँगै पुनर्निर्माण र पुनःस्थापनाका थप कार्यक्रम आवश्यक रहेको नाडाको भनाइ छ।

प्रतिक्रिया

सम्बन्धित समाचार