काठमाडौ, नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले विश्वेश्वरप्रसाद कोइरालाको विचार र चिन्तनको जगमा कांग्रेसलाई अगाडि बढाउने बताएका छन् ।
बीपी कोइरालाको ४१औँ स्मृति दिवसका अवसरमा ‘प्रजातान्त्रिक विचार समाज’ले आयोजना गरेको ‘आजका सन्दर्भमा बीपीका विचार’ विषयक विचार गोष्ठीमा उनले बीपीको विचार र चिन्तनलाई समावेश गरेर कांग्रेस केन्द्रीय समिति अगाडि बढ्ने बताए ।
‘लोकतान्त्रिक प्रतिनिधिका रुपमा हामीले बीपीलाई चिन्नुपर्छ, बीपी दूरदर्शी र परिपक्क्व नेता हुनुहुन्थ्यो, बीपी कोइरालाको विचारलाई कांग्रेसले छाडेको छैन,’ महामन्त्री शर्माले भने ।
नेपालको कम्युनिष्ट आन्दोलनले बीपीलाई समयमा चिन्न नसकेको उनले गुनासो गरे । ‘बीपीलाई कम्युनिष्ट आन्दोलनले चिन्न नसक्दा झापा आन्दोलन र माओवादी आन्दोलन भयो, उक्त आन्दोलनका कारण देशले ठूलो क्षति व्यहोर्नुपर्यो,’ महामन्त्री शर्माले भने ।
मुलुकभर तीन सय २९ स्थानीय तहको नेतृत्व गरेको कांग्रेसले चार प्रदेश सरकारको समेत नेतृत्व गरेकाले अब राम्रो काम गरेर आगामी निर्वाचनमा पहिलो पार्टी बन्ने वातावरण बनाउन जुट्नुपर्ने उनको भनाइ थियो ।
‘हामीले ०८४ सालको निर्वाचनको चिन्ता गर्ने होइन, अहिलेको चिन्ता गर्ने हो, राम्रो काम गर्ने हो, संगठनलाई बलियो बनाउने हो,’ महामन्त्री शर्माले भने ।
प्रजातान्त्रिक विचार समाजका अध्यक्ष एवं वरिष्ठ पत्रकार कुलचन्द्र वाग्लेले प्रजातन्त्र बलियो भए मात्र देश बलियो हुने भएकाले प्रजातन्त्र बलियो बनाउन कांग्रेस लाग्नुपर्ने बताए ।








प्रतिक्रिया