फागुनमा विदेशिने नेपालीको संख्या ६५ हजार बढी

चालु आर्थिक वर्ष २०८०/८१ को आठौं महिना अर्थात् फागुनमा वैदेशिक रोजगारीका लागि ६५ हजार बढी नेपाली श्रमिक विदेशिएका छन् । वैदेशिक रोजगार विभागले सार्वजनिक गरेको विवरणअनुसार फागुन महिनामा ६५ हजार ६५८ जना नेपाली नयाँ तथा पुनः श्रम स्वीकृति लिएर रोजगारीका विदेशिएका हुन् ।

विभागको रेकर्ड अनुसार ९९ वटा मुलुकमा श्रम स्वीकृति लिएर नेपालीहरु रोजगारीको लागि गएका छन् । जसअनुसार फागुनमा विदेशिने नेपालीको संख्या गत माघ महिनाको भन्दा तीन हजार ५११ ले बढी देखिएको छ । माघमा ६२ हजार १४७ जनाले वैदेशिक रोजगारीका लागि श्रम स्वीकृति लिएका थिए । यसअघि गत पुस महिनामा ६५ हजार ८१३ जनाले वैदेशिक रोजगारीका लागि श्रम स्वीकृति लिएका थिए ।

चालु आवको सुरुआती महिनादेखि नै संयुक्त अरब इमिरेट्स (युएई) नेपाली श्रमिकहरुको पहिलो गन्तव्य बन्न सफल भएको छ । विभागको तथ्यांकअनुसार फागुनमा युएईका लागि १८ हजार ७०७ जनाले श्रम स्वीकृति लिएका छन् । गत माघ महिनामा युएई जाने नेपालीको संख्या १७ हजार ६०२ रहेको थियो । यस्तै फागुन महिनामा रोजगारीका लागि साउदी अरेबिया जान १३ हजार २६७ जनाले श्रम स्वीकृति लिएका छन् । दोस्रो स्थानमा परेको साउदी जाने नेपालीको संख्या माघ महिनाको भन्दा ९०१ ले बढेको छ ।

त्यसैगरी तेस्रो स्थानमा रहेको कतारमा ११ हजार ३९० जना श्रम स्वीकृति लिएर पुगेका छन् । यसअघि माघ महिनामा कतार जाने नेपालीको संख्या १२ हजार १६४ रहेको थियो । चालु आव सुरु भएयता कतार र साउदी जाने नेपालीको संख्या हराहारी जस्तो देखिए पनि युएई जाने संख्यामा उल्लेख्य बृद्धि भएको विभागको तथ्यांकले देखाएको छ ।

यसैगरी गत आर्थिक वर्षभरि पहिलो स्थान ओगटेको मलेसिया आठौं महिनासम्म पनि चौथो स्थानमै रहेको छ । फागुनमा मलेसिया जान ८ हजार ४१७ जनाले श्रम स्वीकृति लिएका छन् । यस्तै पाँचांै स्थानमा परेको कुवेतमा तीन हजार २०६ जना नेपाली श्रमिक रोजगारीका लागि पुगेका छन् । कुवेत जाने श्रमिकहरुको संख्या पनि क्रमशः त्यस्तो धेरै उतारचढाव देखिएको छैन । उल्लेखित पाँच मुलुकले नै नेपालको वैदेशिक रोजगारीको ठूलो हिस्सा (झण्डै ८० प्रतिशतभन्दा बढी) ओगटेको विभागको तथ्यांकले देखाएको छ

यसैगरी रोमानिया एक हजार ७८४, जापान एक हजार ३६०, बहराइन ९२८, मोरिसस जान ८५९, क्रोएसिया ८१५, माल्दिभ्स ५९०, साइप्रस ५७७ र ओमानका लागि ५३३ जनाले श्रम स्वीकृति लिएका छन् । त्यस्तै फागुन महिनामा इपीएस प्रणालीबाट दक्षिण कोरिया जाने नेपालीको संख्या ७३० रहेको छ ।

विभागबाट कूल श्रम स्वीकृति लिनेमध्ये पुनः श्रम स्वीकृति लिने २५ हजार ७३८ जना छन् भने पहिलोपटक विदेश जान श्रम स्वीकृति लिनेको संख्या ३९ हजार ९२० जना रहेका छन् । चालु आवको आठांैं महिनामा श्रम स्वीकृति लिनेमध्ये ६ हजार ७६८ जना महिला श्रमिक रहेको विभागले उल्लेख गरेको छ ।

पछिल्लो समय वैदेशिक रोजगारीका लागि युरोपेली मुलुकमा जान श्रम स्वीकृति लिने नेपालीको संख्या क्रमिक रुपमा बढ्दै गएको पनि विभागको तथ्यांकबाट देखिएको छ ।

धेरै श्रमिक गएका मुलुक:
युएई– १८,७०७
साउदी– १३,२६७
कतार– ११,३९०
मलेसिया– ८,४१७
कुवेत– ३,२०६
रोमानिया– १,७८४
जापान– १,३६०
बहराइन– ९२८
मोरिसस– ८५९
क्रोएसिया– ८१५

प्रतिक्रिया

सम्बन्धित समाचार