कोरियामा नेपालीको लागि रोजगारीको क्षेत्र विस्तार

दक्षिण कोरियाले नेपाली कामदारको लागि रोजगारीको क्षेत्र विस्तार गरेको बताइएको छ । यस वर्ष (सन् २०२४)देखि रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत जाने कामदारको लागि कोरियाले वन क्षेत्र, सेवा क्षेत्र र रुट इण्डष्ट्री गरी रोजगारीका थप ३ वटा क्षेत्र विस्तार गरेको वैदेशिक रोजगार विभाग इपीएस कोरिया शाखाले बताएको हो ।

शाखाले एक विज्ञप्ति जारी गर्दै दक्षिण कोरियामा अहिलेसम्म कृषि तथा पशुपालन, उत्पादनमुलक र जाहज निर्माण क्षेत्रतर्फ मात्रै कामदारको माग भइरहेको अवस्थामा थप ३ वटा क्षेत्रमा पनि नेपालीलाई रोजगारीको अवसर प्राप्त भएको उल्लेख छ । विगत बर्षको भन्दा सन २०२४ मा अझ बढी संख्यामा नेपाली कामदार लैजाने व्यहोराको पत्राचार कोरिया सरकारबाट भएको पनि शाखाले जनाएको छ ।

कोरियाको साना तथा मझौला उद्योगले आफुलाई आवश्यक पर्ने कामदारको उचाई, तौल, लिंग, उमेर, कामदारको अवस्था र देश जस्ता विवरण खुलाई कोरियाको सरकारी निकाय एचआरडी सर्भिससमक्ष कामदार माग गरी पठाउँछ ।

माग अनुसार उक्त मापदण्ड मेलखाने गरी रोष्टरमा रहेका कामदारको सूचीबाट १ः३ को अनुपातमा (१ जना माग भई आएमा ३ जना) कामदारको विवरण एचआडीमार्फत साना तथा मझौला उद्योगमा पठाइन्छ । सोही विवरणबाट उद्योगले आफूलाई चाहिने कामदार छान्छ । यही प्रकृया बमोजिम नै हालसम्म एक लाखभन्दा बढी नेपाली कामदारहरु कोरिया पुगिसकेको शाखाले उल्लेख गरेको छ ।

रोजगारदाता मुलुक कोरियाको साना तथा मझौला उद्योगबाट कामदार आवश्यक परी माग भई आएपछि मात्रै रोष्टरमा रहेका कामदार छनौट कार्य हुने हँुदा कुनै पनि प्रक्रियामा कोही कसैको भनसुन नचल्ने तथा इपीएस कोरिया शाखा वा एचआरडी कोरियालगाएत कुनै पनि निकायको हात नरहने पनि शाखाले प्रष्ट पारेको छ ।

यद्यपी यति हुँदाहुदै पनि केही दिन यता समाजिक सज्जाललगायत यदाकदा कोरियन भाषा परीक्षा उतिर्ण गरी रोष्टरमा रहेका कामदारहरुको विवरण÷फाइल कम्पनी समक्ष ईपीएस कोरिया शाखाबाट नपठाइएको र कोरिया लैजाने कोटासमेत कटौती भएको भन्ने तथ्यहीन र आधारहीन भ्रम फैलाइएको भन्दै गम्भिर ध्यानाकर्षण भएको शाखाले जनाएको छ ।

इपीएसमार्फत नेपाली कामदारहरु कोरिया पठाउने कार्य नेपाल–कोरिया सरकारबीच भएको द्विपक्षीय सम्झौताको आधारमा कार्यान्वयन हुने भन्दै यस प्रक्रियामा नेपाल सरकार र दक्षिण कोरिया सरकारबाहेक अन्य कुनै पनि पक्षको संलग्नता नहुने प्रष्ट पारिएको छ ।

एकपटक कोरियन भाषा परीक्षा उतिर्ण भएका कामदारहरु दुई वर्षसम्म जब रोष्टरमा बस्न पाउने र कामदार कोरिया पठाउने कार्य जीटुजी सम्झौता बमोजिम निष्पक्ष, पारदर्शी र व्यवस्थितरुपमा हुने भएकाले कुनै पनि तथ्यहीन, आधारहीन, भ्रामक र कपोलकल्पित हल्लाको पछाडि नलाग्न शाखाले सम्बन्धित सबैलाई आग्रहसमेत गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार