बालुवाटारको ‘मारिया हस्पिटल’मा मेडिकल काउन्सिलको छापा, अवैध रूपमा कार्यरत तीन चिनियाँ चिकित्सक निलम्बित

पाल मेडिकल काउन्सिलले काठमाडौँको बालुवाटारस्थित ‘मारिया हेल्थ सेन्टर प्रालि’ (मारिया हस्पिटल)मा छापा मारेको छ। अनुमति विना र तोकिएको क्लिनिकल मापदण्ड विपरीत सञ्चालन भइरहेको पाइएपछि काउन्सिलले उक्त हस्पिटलमाथि छापा मारेको हो।

काउन्सिलले एक विज्ञप्ति जारी गर्दै बिहीबार स्थलगत अनुगमनका क्रममा उक्त अस्पतालले आवश्यक प्रक्रिया पूरा नगरी अवैध रूपमा विदेशी चिकित्सक परिचालन गरी स्वास्थ्य परीक्षण गरिरहेको फेला पारेको उल्लेख गरेको छ । जनस्वास्थ्यमा प्रत्यक्ष खेलबाड भएको पाइएपछि काउन्सिलले तत्काल एक्सन लिँदै हस्पिटलको सम्पूर्ण सेवा बन्द गराएको छ ।

काउन्सिलले घटनाको गम्भीरतालाई ध्यानमा राख्दै विभिन्न तहमा कारबाही अगाडि बढाएको छः

विदेशी चिकित्सक निलम्बनः अस्पतालमा अवैध रूपमा कार्यरत तीन जना चिनियाँ चिकित्सकको अस्थायी दर्ता तत्कालका लागि निलम्बन गरिएको छ।

नेपाली चिकित्सकलाई स्पष्टीकरणः संस्थाको बोर्डमा नाम राखेर आचारसंहिता उल्लङ्घन गर्ने नेपाली चिकित्सकहरूलाई तीन दिनभित्र लिखित स्पष्टीकरण पेस गर्न निर्देशन दिइएको छ।

प्रशासनिक कारबाहीः अस्पताललाई भौतिक रूपमा बन्द गराई सञ्चालकहरूमाथि कारबाही गर्न जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी परिसर, काठमाडौँलाई पत्राचार गरिएको छ।

भिसा खारेजीको सिफारिसः भिसा सर्त विपरीत कार्य गर्ने विदेशी नागरिकहरूको ‘नन–टुरिस्ट भिसा’ र श्रम इजाजत खारेज गर्न स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयमा विस्तृत प्रतिवेदन पठाइसकिएको छ।

नेपाल मेडिकल काउन्सिलका निमित्त रजिस्ट्रार डा. दीपेन्द्र पाण्डेले स्वास्थ्य जस्तो संवेदनशील क्षेत्रमा कुनै पनि बहानामा हुने गैरकानूनी कार्यप्रति काउन्सिल शून्य सहनशीलताको नीतिमा रहेको बताए । उनले भने, “काउन्सिलको आचारसंहिता विपरीत कार्य गर्ने र जनस्वास्थ्यमा जोखिम निम्त्याउने जो कोहीलाई पनि कानुनी दायरामा ल्याउन हामी प्रतिबद्ध छौँ।”

काउन्सिलले अवैध रूपमा सञ्चालित स्वास्थ्य संस्था वा अनुमति विना बिरामी जाँच्ने चिकित्सकका बारेमा जानकारी भएमा तत्काल प्रमाणसहित उजुरी दिन सर्वसाधारणमा अपिल गरेको छ। उजुरी दिनेको गोपनीयता पूर्ण रूपमा सुरक्षित राखिने काउन्सिलले जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित समाचार