नेपाल चिकित्सक संघले आर्थिक वर्ष २०८३/०८४ को बजेटमार्फत निजी अस्पतालमा उपचार गराउने बिरामीबाट ‘स्वास्थ्य समता शुल्क’को नाममा ३ प्रतिशत कर उठाउने गरी गरिएको सरकारी निर्णयको कडा शब्दमा विरोध गरेको छ ।
संघका महासचिव डा. सञ्जिब तिवारीले आज एक प्रेस विज्ञप्ति जारी गर्दै उक्त निर्णयप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएका छन् । उपचारका लागि अस्पताल पुगेका बिरामीमाथि नै थप कर लगाउनु बिरामी र तिनका आफन्तमाथि आर्थिक भार थप्ने अन्यायपूर्ण कार्य भएको संघले उल्लेख गरेको छ ।
विज्ञप्तिमा भनिएको छ, ‘उपचार गराउन आएका बिरामीहरूलाई बिरामी भएकै अवस्थामा थप कर उठाउनु बिरामी र बिरामीका आफन्तमाथि थप आर्थिक भार पर्न गई ठूलो अन्याय हुने संघको ठहर छ ।’
यसअघि पनि यस्तो निर्णय गरिएकामा संघको पहलमा उक्त निर्णय फिर्ता लिइएको थियो । यद्यपि, यस वर्ष पुनः सोही प्रकारको निर्णय गरिनु अत्यन्त खेदजनक रहेको संघले जनाएको छ ।
बिरामीहरूलाई थप आर्थिक भार पर्ने र अन्याय हुने उक्त निर्णयलाई तत्काल खारेज गर्न नेपाल चिकित्सक संघले जोडदार माग गरेको छ ।









प्रतिक्रिया