चालु आर्थिक वर्ष २०८०/८१ को सातौं महिना अर्थात् माघमा वैदेशिक रोजगारीका लागि ६२ हजार बढी नेपाली श्रमिक विदेशिएका छन् । वैदेशिक रोजगार विभागले सार्वजनिक गरेको विवरणअनुसार माघ महिनामा ६२ हजार १४७ जना नेपाली नयाँ तथा पुनः श्रम स्वीकृति लिएर रोजगारीका लागि ९९ वटा मुलुकमा गएका छन् ।
विभागको तथ्यांकअनुसार माघमा विदेशिने नेपालीको संख्या गत पुस महिनाको भन्दा तीन हजार ६६६ ले कमी देखिएको छ । पुसमा ६५ हजार ८१३ जनाले वैदेशिक रोजगारीका लागि श्रम स्वीकृति लिएका थिए । यसअघि गत मंसिर महिनामा ७१ हजार २७६ जनाले वैदेशिक रोजगारीका लागि श्रम स्वीकृति लिएका थिए ।
चालु आवको सुरुआती महिनादेखि नै संयुक्त अरब इमिरेट्स (युएई) नेपाली श्रमिकहरुको पहिलो गन्तव्य बन्न सफल भएको छ । विभागको तथ्यांकअनुसार युएईका लागि १७ हजार ६०२ जनाले श्रम स्वीकृति लिएका छन् । गत पुस महिनामा युएई जाने नेपालीको संख्या १६ हजार ३८५ रहेको थियो ।
यस्तै माघ महिनामा रोजगारीका लागि साउदी अरेबिया जान १२ हजार ३६६ जनाले श्रम स्वीकृति लिएका छन् । दोस्रो स्थानमा परेको साउदी जाने नेपालीको संख्या पुस महिनाको भन्दा एकहजार ९४१ ले कम रहेको छ ।
त्यसैगरी तेस्रो स्थानमा रहेको कतारमा १२ हजार १६४ जना श्रम स्वीकृति लिएर पुगेका छन् । यसअघि पुस महिनामा कतार जाने नेपालीको संख्या १३ हजार १४ रहेको थियो । चालु आव सुरु भएयता कतार र साउदी जाने नेपालीको संख्या हराहारी जस्तो देखिए पनि युएई जाने संख्यामा उल्लेख्य बृद्धि भएको विभागको तथ्यांकले देखाएको छ ।
यसैगरी गत आर्थिक वर्षभरि पहिलो स्थान ओगटेको मलेसिया सात महिनासम्म पनि चौथो स्थानमै रहेको छ । माघमा मलेसिया जान ६ हजार ७९५ जनाले श्रम स्वीकृति लिएका छन् । यस्तै पाँचौं स्थानमा परेको कुवेतमा तीन हजार २५३ जना नेपाली श्रमिक रोजगारीका लागि पुगेका छन् । कुवेत जाने श्रमिकहरुको संख्या पनि क्रमशः बढेको देखिएको छ । उल्लेखित पाँच मुलुकले नै नेपालको वैदेशिक रोजगारीको ठूलो हिस्सा (झण्डै ८० प्रतिशतभन्दा बढी) ओगटेको विभागको तथ्यांकले देखाएको छ ।
यसैगरी रोमानिया एक हजार ३९७, जापान एक हजार २८०, बहराइन ९२३, मोरिसस जान ६२२, क्रोएसिया ५८३, माल्दिभ्स ५६८, ओमान ४४८ र साइप्रसका लागि ४२६ जनाले श्रम स्वीकृति लिएका छन् । त्यस्तै माघ महिनामा इपीएस प्रणालीबाट दक्षिण कोरिया जाने नेपालीको संख्या एक हजार ६६० रहेको छ ।
धेरै श्रमिक गएका मुलुक
युएई– १७,६०२
साउदी– १२,३६६
कतार– १२,१६४
मलेसिया– ६,७९५
कुवेत– ३,२५३
रोमानिया– १,३९७
जापान– १,२८०
बहराइन– ९२३
मोरिसस– ६२२
क्रोएसिया– ५८३







प्रतिक्रिया