चालु आर्थिक वर्ष २०८०/८१ को छैठौं महिना अर्थात् पुसमा वैदेशिक रोजगारीका लागि झण्डै ६६ हजार नेपाली श्रमिक विदेशिएका छन् । वैदेशिक रोजगार विभागले सार्वजनिक गरेको विवरणअनुसार पुस महिनामा ६५ हजार ८१३ जना नेपाली नयाँ तथा पुनः श्रम स्वीकृति लिएर रोजगारीका लागि १०५ वटा मुलुकमा गएका हुन् ।
विभागको तथ्यांकअनुसार पुसमा विदेशिने नेपालीको संख्या गत मंसिर महिनाको भन्दा पाँच हजार हजार ४६३ ले कमी देखिएको छ । मंसिरमा ७१ हजार २७६ जनाले वैदेशिक रोजगारीका लागि श्रम स्वीकृति लिएका थिए । चालु आवको ६ महिनाभित्र मंसिरमा श्रम स्वीकृति लिएर विदेश जाने संख्या सबैभन्दा बढी हो ।
चालु आवको सुरुआती महिनादेखि नै संयुक्त अरब इमिरेट्स (युएई) नेपाली श्रमिकहरुको पहिलो गन्तव्य बन्न सफल भएको छ । विभागको तथ्यांकअनुसार युएईका लागि १६ हजार ३८५ जनाले श्रम स्वीकृति लिएका छन् । गत मंसिर महिनामा युएई जाने नेपालीको संख्या १८ हजार ४९३ रहेको थियो । यस्तै मंसिर महिनामा रोजगारीका लागि साउदी अरेबिया जान १४ हजार ३०७ जनाले श्रम स्वीकृति लिएका छन् । दोस्रो स्थानमा परेको साउदी जाने नेपालीको संख्या मंसिरमा महिनाको भन्दा ७१९ ले बढी रहेको छ । त्यसैगरी तेस्रो स्थानमा रहेको कतारमा १३ हजार १४ जना श्रम स्वीकृति लिएर पुगेका छन् । यसअघि मंसिर महिनामा कतार जाने नेपालीको संख्या १४ हजार १५२ रहेको थियो । चालु आव सुरु भएयता कतार र साउदी जाने नेपालीको संख्या हराहारी जस्तो देखिए पनि युएई जाने संख्यामा उल्लेख्य बृद्धि भएको विभागको तथ्यांकले देखाएको छ ।
यसैगरी गत आर्थिक वर्षभरि पहिलो स्थान ओगटेको मलेसिया छ महिनासम्म पनि चौथो स्थानमै रहेको छ । मलेसिया जान आठ हजार ९१ जनाले मंसिरमा श्रम स्वीकृति लिएका छन् । यस्तै पाँचांै स्थानमा परेको कुवेतमा तीन हजार ५१८ जना नेपाली श्रमिक रोजगारीका लागि पुगेका छन् । कुवेत जाने श्रमिकहरुको संख्या पनि क्रमशः बढेको छ । उल्लेखित पाँच मुलुकले नै नेपालको वैदेशिक रोजगारीको ठूलो हिस्सा (झण्डै ८० प्रतिशतभन्दा बढी) ओगटेको विभागको तथ्यांकबाट देखिएको छ ।
यसैगरी जापान एक हजार १९९, रोमानिया एक हजार ५८, बहराइन ९९४, ओमान ६८३, माल्दिभ्स ६२१, क्रोएसिया ५५८, मोरिसस जान ४८१ र साइप्रसका लागि ३५७ जनाले श्रम स्वीकृति लिएका छन् । त्यस्तै मंसिर महिनामा इपीएस प्रणालीबाट दक्षिण कोरिया जाने नेपालीको संख्या एक हजार ४२५ रहेको छ ।
विभागबाट कूल श्रम स्वीकृति लिनेमध्ये पुनः श्रम स्वीकृति लिने ३१ हजार ३९८ जना छन् भने पहिलोपटक विदेश जान श्रम स्वीकृति लिनेको संख्या ३४ हजार ४१५ जना रहेका छन् । चालु आवको छैठौंैं महिनामा श्रम स्वीकृति लिनेमध्ये ६ हजार ८४ जना महिला श्रमिक रहेको विभागले उल्लेख गरेको छ । पछिल्लो समय वैदेशिक रोजगारीका लागि युरोपेली मुलुकमा जान श्रम स्वीकृति लिने नेपालीको संख्या क्रमिक रुपमा बढ्दै गएको विभागको तथ्यांकबाट देखिएको छ ।
यस्तै जिल्लागत रुपमा धनुषाबाट सबैभन्दा बढी रोजगारीका लागि श्रम स्वीकृति लिएको देखिन्छ । पुसमा धनुषाबाट तीन हजार ४४३ जना विदेशिएका छन् । त्यस्तै झापा दोस्रो स्थानमा रहेको छ । त्यहाँबाट तीन हजार १४१ जना श्रमिक विदेशिएका छन् । यस्तै तेस्रो स्थानमा मोरङबाट दुई हजार ८२५ जना रोजगारीका लागि बाहिरिएका छन् । चौथोमा रहेको सिरहाबाट दुई हजार ६५६ र पाँचौंमा रहेको महोत्तरीबाट दुई हजार ४६२ जना रहेका छन् ।
त्यसैगरी रुपन्देही, सुनसरी, चितवन, स्याङ्जा, सुर्खेत, सर्लाही, तनहुँ, दाङ, नवलपरासी पूर्व, मकवानपुर, कास्की, कपिलवस्तु, धादिङ, काभ्रे, रौतहट, बारा, बागलुङबाट पनि वैदेशिक रोजगारीका लागि जाने नेपालीहरुको संख्या ठूलो रहेको विभागको तथ्यांकले देखाएको छ ।
धेरै श्रमिक गएका मुलुक
युएई– १६,३८५
साउदी– १४,७०३
कतार– १३,०१४
मलेसिया– ८,०९१
कुवेत– ३,५१८
जापान– १,१९९
रोमानिया– १,०५८
बहराइन– ९९४
ओमान– ६८३
माल्दिभ्स– ६२१







प्रतिक्रिया