नेसनल प्याब्सन काठमाडौंको आयोजनामा जिल्लाव्यापी खेलकुद सप्ताह- २०८२ आजबाट सुरु

नेसनल प्याब्सन काठमाडौं जिल्ला समितिको आयोजना तथा नेसनल प्याब्सन बुढानिलकण्ठ नगर समितिको समन्वयमा जिल्लाव्यापी खेलकुद सप्ताह- २०८२ आज माघ १३ गतेदेखि १६ गतेसम्म सञ्चालन हुने भएको छ ।

बुढानिलकण्ठ नगर समितिको कार्यालयमा सोमबार माघ १२ गते सोमबार आयोजित पत्रकार भेटघाट कार्यक्रममा जिल्ला कोषाध्यक्ष तथा अतिरिक्त क्रियाकलाप संयोजक विजय न्यौपानेले खेलकुद सप्ताहको जानकारी दिएका हुन् । उनका अनुसार विद्यालय तहका विद्यार्थीहरूको चौतर्फी विकास, अनुशासन र नेतृत्व क्षमताको अभिवृद्धि गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो ।

यस वर्षको खेलकुद सप्ताहमा नेशनल प्याब्सन काठमाडौं अन्तर्गतका सदस्य विद्यालयहरूले विभिन्न खेल विधामा सहभागिता जनाउनेछन् । खेलकुद सप्ताहअन्तर्गत पूर्व–प्राथमिक तहदेखि अब्स्ट्याकल गेम, फुटसल, बास्केटबल, टेबल टेनिस, तानडोरी र मार्चपासमध्ये चार विधामा प्रतिस्पर्धा गराइनेछ । उद्घाटनका दिन एक हजारभन्दा बढी विद्यार्थीले मार्चपासमा सहभागिता जनाउने अपेक्षा गरिएको छ ।

प्रतियोगितामा सहभागी हुन सदस्य विद्यालयका विद्यार्थीहरूले तोकिएको शुल्क तिरेर सहभागिता जनाउन सक्ने व्यवस्था गरिएको छ । सम्पूर्ण प्रतियोगिताका लागि प्रति विद्यालय पाँच हजार रुपैयाँ शुल्क तोकिएको जिल्ला कोषाध्यक्ष न्यौपानेले जानकारी दिए ।

खेल सञ्चालनका लागि विभिन्न विधाका संयोजकसमेत तोकिएका छन् । मार्चपासका लागि किरण खड्का, फुटसलका संयोजक लक्ष्मी गुरुङ र गोविन्द बहादुर धामी, बास्केटबलका संयोजक बेनी खड्का र रुकेश तामाङ, अब्स्ट्याकल गेमका लागि प्रकाश अधिकारी, तानडोरीका संयोजक रामप्रसाद काफ्ले तथा टेबल टेनिसका संयोजक ईश्वर केसी रहनेछन् ।

खेलकुद सप्ताहको उद्घाटन समारोह बुढानिलकण्ठ नगरपालिका वडा नं. १० स्थित ह्याण्डबल ग्राउण्डमा हुँदैछ। सोही स्थानमा तानडोरी र अब्स्ट्याकल गेम सञ्चालन गरिनेछ भने फुटसल प्रतियोगिता साम्तेन स्कुल कपनमा, बास्केटबल प्रतियोगिता तिरुपति स्कुलरकलेजमा र टेबल टेनिस प्रतियोगिता पिक प्वाइन्ट पब्लिक स्कुलमा आयोजना गरिनेछ ।

उद्घाटन समारोह माघ १३ गते मंगलबार बिहान १० बजे ह्याण्डबल ग्राउण्ड कपनमा नेसनल प्याब्सनका संस्थापक तथा वर्तमान अध्यक्ष गीता राणा क्षेत्रीको प्रमुख आतिथ्यतामा हुनेछ ।

खेलकुद सप्ताहको समापन समारोह एसईई मोटिभेसन कार्यक्रमसँगै संयुक्त रूपमा आयोजना गरिनेछ, जसअन्तर्गत विजयी विद्यालयहरूलाई पुरस्कार वितरण गरिनेछ। कार्यक्रम सञ्चालनका लागि करिब पाँच लाख १५ हजार रुपैयाँ खर्च हुने अनुमान गरिएको छ ।

नेसनल प्याब्सन काठमाडौं जिल्ला अध्यक्ष होमबहादुर अधिकारीका अनुसार प्रत्येक खेल विधामा प्रथम, द्वितीय र तृतीय हुने विद्यालयलाई ट्रफी तथा मेडल प्रदान गरिनेछ ।

प्रतिक्रिया

सम्बन्धित समाचार