चिलिमे हाइड्रोको टनेलसम्म बाटो खुल्यो, लेदो फाल्ने र खोजी कार्य तीव्र

देशका विभिन्न बाढी–पहिरो प्रभावित क्षेत्रमा सुरक्षा निकायले खोज, उद्धार तथा राहत कार्यलाई तीव्रता दिएका छन्। भाद्र २६ गते साँझ सम्म प्राप्त विवरणअनुसार नेपाली सेनासहितका सुरक्षा टोलीले प्रभावित क्षेत्रमा हवाई तथा जमिनी उद्धारसँगै जलविद्युत् आयोजनाका टनेलमा समेत खोजी कार्य जारी राखेका छन्।

नेपाली सेनाले शुक्रबार थप ३० जनाको हवाई उद्धार गरेको छ। यससँगै हालसम्म हवाई साधनमार्फत ४ हजार १३७ जनाको सकुशल उद्धार गरिएको छ। उद्धार गरिएकामध्ये ३ हजार ८५४ जना नेपाली र २८३ जना विदेशी नागरिक रहेका छन्।

रसुवागढी, त्रिशूली–३ ए र त्रिशूली–३ बी जलविद्युत् आयोजनाका टनेलमा क्विक रियाक्सन टोली तथा विदेशी विज्ञसहितको संयुक्त टोलीले खोजी कार्यलाई निरन्तरता दिएको छ। चिलिमे हाइड्रोपावरको टनेलसम्म ठूला उपकरण पुर्‍याउन आवश्यक बाटो निर्माण सम्पन्न भएपछि टनेलभित्र जमेको लेदो हटाउने र खोजी कार्यलाई थप तीव्र पारिएको छ।

त्यसैगरी नेपाली सेनाको टोलीले लाङटाङ क्षेत्रको टनेलभित्र खोजी गरिरहेको छ। हाकुबेशीस्थित अडिट–१ टनेलको करिब २०० मिटर क्षेत्रमा ड्रोनमार्फत रेकी गर्दा हालसम्म कुनै शंकास्पद वस्तु वा व्यक्ति फेला नपरेको सेनाले जनाएको छ।

उद्धार तथा खोजी कार्यलाई प्रभावकारी बनाउन रसुवा र नुवाकोटका त्रिशूली पारीका कोलोनी, तुप्चे, दानसिङ, सामरी भञ्ज्याङलगायतका क्षेत्रमा नेपाली सेनाले पैदल गस्तीसमेत गरिरहेको छ। टोलीले सम्भावित प्रभावित तथा जोखिमयुक्त स्थानमा खोजी गर्दै उद्धारको आवश्यकता रहेका व्यक्तिको पहिचान गरिरहेको छ।

विपद प्रभावितको स्वास्थ्य उपचारलाई समेत प्राथमिकता दिइएको छ। स्याफ्रुबेसी होल्डिङ सेन्टरमा सञ्चालित स्वास्थ्य शिविरबाट शुक्रबार ५४ जनाले उपचार सेवा लिएका छन्। त्यस्तै त्रिशूली र धुन्चेका आपत्कालीन उपचार केन्द्रबाट ८५ जनाले उपचार पाएका छन्। हालसम्म मेडिकल पेट्रोल तथा विभिन्न स्वास्थ्य शिविरमार्फत ३ हजार ६६५ जनाले उपचार सेवा प्राप्त गरिसकेका छन्।

विपद प्रभावित क्षेत्रको खोज, उद्धार, राहत तथा पुनःस्थापनाका लागि नेपाली सेनाका ८ हजार ७ सयभन्दा बढी जनशक्ति प्रत्यक्ष रूपमा परिचालित छन्। रसुवाको टिमुरेदेखि नुवाकोट, धादिङ, चितवन र नवलपरासी पूर्वसम्मका प्रभावित क्षेत्रमा खटिएका सैनिक टोलीले घाइते तथा प्रभावितको उद्धार, शव व्यवस्थापन, राहत सामग्री ढुवानी तथा अवरुद्ध सडक र पुल सञ्चालनमा समेत काम गरिरहेका छन्।

सेनाले कठिन भौगोलिक अवस्था, अवरुद्ध सडक तथा टनेलभित्र जमेको लेदोका कारण चुनौतीपूर्ण बनेको खोज तथा उद्धार कार्यलाई उपलब्ध जनशक्ति, उपकरण र प्रविधिको प्रयोग गर्दै निरन्तरता दिइरहेको जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित समाचार