नेपालमा महिला तथा युवा उद्यमशीलता प्रवर्द्धन गर्न बेलायतसँग सहकार्य गरिने

नेपालमा महिला तथा युवा सशक्तीकरण, उद्यमशीलता प्रवर्द्धन र आर्थिक विकासका क्षेत्रमा बेलायतसँगको सहकार्यलाई थप प्रभावकारी बनाउने विषयमा लण्डनमा विशेष छलफल भएको छ।

बेलायतको विदेश, राष्ट्रमण्डल तथा विकास कार्यालय (एफसीडीओ) का प्रतिनिधिसँग भएको भेटवार्तामा नेपालसहित दक्षिण एसियाली क्षेत्रमा सञ्चालन भइरहेका कार्यक्रमलाई थप परिणाममुखी बनाउने तथा महिला र युवालाई अन्तर्राष्ट्रिय आर्थिक अवसरसँग जोड्ने विषयमा विस्तृत छलफल गरिएको हो।

भेटका क्रममा महिला तथा युवाको सामाजिक–आर्थिक सशक्तीकरण, सीप अभिवृद्धि, बजार पहुँच, नेतृत्व विकास र अन्तर्राष्ट्रिय सहकार्यका सम्भावनाबारे अनुभव तथा सुझाव आदानप्रदान गरिएको थियो।

नेपाल महिला उद्यमी महासङ्घकी निवर्तमान अध्यक्ष शोभा ज्ञवालीले नेपाली महिला उद्यमीहरूमा गुणस्तरीय वस्तु उत्पादन तथा व्यवसाय विस्तार गर्ने उच्च क्षमता भए पनि अन्तर्राष्ट्रिय बजारमा पहुँच, निर्यात प्रक्रिया, आवश्यक मापदण्ड, कागजात व्यवस्थापन र व्यावसायिक सञ्जाल विस्तारसम्बन्धी व्यावहारिक ज्ञानको अझै कमी रहेको बताइन्।

गत वर्ष एफसीडीओको कार्यक्रममार्फत म्यानचेस्टरमा ५० भन्दा बढी देशका महिला उद्यमीसँग भएको अनुभव आदानप्रदानले नेपाली उद्यमीलाई अन्तर्राष्ट्रिय बजार बुझ्न महत्वपूर्ण सहयोग पुगेको उनको भनाइ थियो।

छलफलमा सहकार्यलाई तालिम सञ्चालनमा मात्र सीमित नराखी उत्पादनदेखि बजार, बजारदेखि निर्यात र निर्यातदेखि व्यवसाय विस्तारसम्म पुग्ने गरी दिगो कार्यक्रम विकास गर्नुपर्नेमा सहभागीहरूले जोड दिएका थिए।

नेपालका महिला उद्यमी र बेलायतबीच डिजिटल बजारीकरण, प्रविधि हस्तान्तरण तथा वित्तीय स्रोतमा पहुँच विस्तार, उत्पादनको गुणस्तर प्रमाणीकरण, उत्कृष्ट प्याकेजिङ, अन्तर्राष्ट्रिय ब्रान्ड निर्माण, निर्यात प्रक्रियाको व्यावहारिक ज्ञान तथा विदेशी खरिदकर्तासँग प्रत्यक्ष व्यावसायिक सम्बन्ध विस्तारका क्षेत्रमा सहकार्य बढाउन सकिने प्रस्ताव गरिएको थियो।

कार्यक्रमको प्रभावकारिता तालिम लिनेको सङ्ख्याबाट मात्र नभई त्यसबाट कति महिला उद्यमीले आफ्नो व्यवसाय विस्तार गरे, कति रोजगारी सिर्जना भयो, कति वस्तु तथा सेवा निर्यात भए र कति महिला आर्थिक रूपमा आत्मनिर्भर बने भन्ने आधारमा मूल्याङ्कन गरिनुपर्ने ज्ञवालीले बताइन्।

उनले उद्यमशीलता विकासका कार्यक्रमलाई व्यवहारमा देखिने परिणामसँग जोड्न सके महिला तथा युवा उद्यमीलाई स्थानीय बजारबाट अन्तर्राष्ट्रिय बजारसम्म पुर्‍याउन सहयोग पुग्ने बताइन्।

एफसीडीओसँग भएको भेटले नेपाल र बेलायतबीच महिला तथा युवा सशक्तीकरण, उद्यमशीलता विकास र आर्थिक सहकार्यका क्षेत्रमा आगामी दिनमा थप सहकार्यको सम्भावना बढाएको सहभागीहरूले बताएका छन्।

प्रतिक्रिया

सम्बन्धित समाचार