विभाजितहरु एक हुँदै डिक्यानको विशेष भेला सम्पन्न, इक्यान निर्वाचनमा कस्तो पर्ला प्रभाव ?

नेपाल लोकतान्त्रिक शैक्षिक परामर्श संघ (डिक्यान)को विशेष भेला सम्पन्न भएको छ । सोमबार राजधानीमा आयोजित नेपाली कांग्रेस निकट शैक्षिक परामर्श व्यवसायीहरुको छाता संगठन डिक्यानको भेलाले गिता शर्मा सिवाकोटीको संयोजकत्वमा ११ सदस्यीय तदर्थ समिति गठन गरेको छ । सदस्यहरुमा भुपाल केसी (काठमाडौं), टंक पाण्डे (सरुपन्देही), शिवराम फुयाल (काठमाडौं), सुर्य पोखरेल (काठमाडौं), रजनी श्रेष्ठ (काठमाडौं), बिशाल सिटौला (झापा), दिपक सिलवाल (काठमाडौं), बिक्रम बस्नेत (पोखरा), सन्देश अर्याल (चितवन) र अर्जुन बस्नेत (काठमाडौं) रहेका छन् ।

नेपाल शैक्षिक परामर्श संघ (इक्यान)को उपाध्यक्षसमेत रहेकी शर्मालाई अब डेमोक्रेटिक व्यवसायीहरुलाई एकतावद्ध गराई डिक्यानको नेतृत्व सम्हाल्नुपर्ने जिम्मेवारी थपिएको छ । संयोजक शर्मालाई भेलाले ६ महिना भित्र निर्वाचन सम्पन्न गरी डिक्यानको नयाँ कार्यसमिति चयन गर्नुपर्ने जिम्मेवारीसमेत दिएको छ ।

उनले भेलाले दिएको म्याण्डेट अनुसार नै डिक्यानलाई अगाडी बढाउने र सबै व्यवसायी साथीहरुलाई गोलबद्ध गराउने अभियानमा लाग्ने प्रतिक्रिया दिएकी छन् । ‘शैक्षिक परामर्श क्षेत्रमा सक्रिय डेमोक्रेटिक व्यवसायी साथीहरुले विश्वास र भरोसा गरेर डिक्यानको जिम्मेवारी सुम्पिनु भएको छ,’ संयोजक शर्माले भनिन्, ‘चुनौतीहरु पनि छन्, सँगसँगै सबैको साथ लिएर अघि बढ्ने र बलियो डिक्यान बनाउने अवसर पनि प्राप्त भएको छ ।’

किन पर्यो विशेष भेलाको आवश्यकता ?
नेपाली कांग्रेस निकट शैक्षिक परामर्श व्यवसायीहरुको छाता संगठन डिक्यानमा व्यवसायीहरुको एक मत नहुँदा लामो समयदेखि विवाद कायमै थियो । राजनीतिक अस्तित्व बोकेको डिक्यान नेतृत्वमा भएको खिचातानी र मतभेदका कारण डेमोक्रेटिक शक्तिमा फुट आएको थियो । लामो समयदेखिको मनोमालिन्यले गर्दा डेमोक्रेटिक व्यवसायीहरु एकतावद्ध भइरहन सकेनन् । यसैबीच इक्यानका अध्यक्षसमेत भइसकेका नेपाली कांग्रेसको नेपाल लोकतान्त्रिक खेलकुद संघका अध्यक्ष एवं शैक्षिक परामर्श क्षेत्रमा छुट्टै पहिचान बनाएका दिपक गुरुङको नेतृत्वमा नेपाल लोकतान्त्रिक शैक्षिक परामर्श संघ (एनडेका) स्थापना भएको थियो । त्यस्तै डिक्यानको नेतृत्व पदम भट्टराईले गरिरहेका थिए । शैक्षिक परामर्श क्षेत्रमा भातृ संगठनको रुपमा दुईवटा संस्था भएपछि पार्टीगत रुपमा पनि एउटै बनाउने प्रयास भइरहेको थियो ।

एउटै व्यवसायीक क्षेत्रमा दुइवटा संस्था हुँदाको कमजोरीको फाइदा अन्य संगठनहरुलाई हुने भएपछि एकत्रित भएर अघि बढ्ने निर्णयका साथ भेला बोलाइएको र तदर्थ समिति गठन गरिएको कांग्रेस महासमिति सदस्य एवं डिक्यानका सल्लाहकार महेश कुमार कार्कीले बताए । ‘फुटेर भन्दा पनि जुटेर बलियो भइन्छ भन्ने विश्वासका साथ सबै व्यवसायीहरुलाई एउटै छातामुनी समेट्ने गरी भेला आयोजना गरिएको हो,’ उनले भने, ‘एउटै संस्थाका व्यवसायीहरुबीच मतभेद र टुटफुट हुँदा अरुले फाइदा लिने नै भए, अब विगतको जस्तो अवस्था आउन नदिन र विभिन्न मञ्चमा डिक्यानको बलियो उपस्थिति जनाउन पनि यो भेलाले गतिलो संदेश दिएको छ ।’ डिक्यान र एनडेकाको नेतृत्व गरिरहेका भट्टराई र गुरुङले अध्यक्ष पद त्यागेर नयाँ संरचनाको लागि पहलकदमी लिएपछि विशेष भेलाबाट शर्माको संयोजकत्वमा तदर्थ समिति गठन गरेर ६ महिनाभित्र निर्वाचन गराई नयाँ कार्यसमिति चयन गर्ने जिम्मेवारी दिइएको कार्कीले जानकारी दिए ।

संस्थागत रुपमा व्यवसायीक एकताका लागि कार्की र सरोज बस्नेतले भूमिका खेलेका थिए । केही समय अघि कार्की र गुरुङले आपसमा खिचिएको संयुक्त तस्वीर सावर्जनिक गर्दै डेमोक्रेटिक शक्ति एक भएको सन्देश दिएका थिए । यसले डेमोक्रेटिक व्यवसायीहरु एक ढिक्का हुने संकेत दिएको र फलस्वरुप विशेष भेला सम्पन्न भइ सबैजना एकै ठाउँमा उभिने अवस्था बनेको बस्नेतले बताए ।

आपसी मनमुटाव र तिक्तता विर्सेर लोकतान्त्रिक शक्ति एक हुनुपर्ने अवस्था आएकाले विशेष भेला बोलाइएको दिपक गुरुङले बताए । व्यक्तिगत रुपमा कुनै स्वार्थ नभएको भन्दै उनले पुरानाहरुले नेतृत्व त्याग्ने र नयाँलाई सुम्पिने साथीभाईको प्रस्तावलाई स्वीकार गर्दै अघि बढेको जानकारी दिए । ‘जो जसलाई एक अर्काप्रति चित्त बुझेको थिएन, मतभेद थियो, यी सबै दुखद कुरा थिए,’ गुरुङ भने, अब त्यस्तो हुन नदिन र एकअर्काले गल्ति गरेको महसुस भएपछि कमजोरी सच्याउने सहमतिकासाथ डिक्यानमा नयाँ नेतृत्व ल्याइएको छ ।’

डेमोक्रेट व्यवसायीहरुबीच मनमुटाव भएपनि डिक्यान र एनडेका भनेको अरुले व्याख्या गरेजस्तो छुट्नै नभई एउटै संस्था रहेको गुरुङले दावी गरे । ‘यसलाई डेमोक्रेटहरुले पार्टी र व्यवसायीहरुको साझा शक्तिको रुपमा बुझ्नु अझ राम्रो हुन्छ,’ उनले भने ।

इक्यान निर्वाचनमा पर्ला त प्रभाव !
इक्यानको आगामी नेतृत्वको लागि हुने निर्वाचन सम्मुख छ । बुझिए अनुसार मिति घोषणा नभएपनि इक्यानको चुनाव आगामी पुस अन्तिम साता हुनेगरी तयारी गरिएको छ । इक्यानको निर्वाचन मिति नजिकिंदै जाँदा शैक्षिक परामर्श व्यवसायमा संलग्न डेमोक्रेटिक शक्तिहरु एकजुट भएका छन् । बाहिर हेर्दा डेमोक्रेटिक देखिए पनि सारमा एकजुट हुन नसक्दा पटक पटक अरुले फाइदा लिएको तितो यथार्थको विश्लेषण गर्दै उनीहरु एकताबद्ध भएको सन्देश प्रवाह गरिरहेका छन् । परिणाम स्वरुप सबै डेमोक्रेट अट्ने गरी विशेष भेला सम्पन्न भइसकेको छ । सबै डेमोक्रेट एक ठाउँमा हुँदा यसपटकको इक्यानको निर्वाचन डिक्यानको पोल्टामा पर्ने आंकलन गरिएको छ । इक्यानमा लामो समयदेखि लेफ्टिस्ट (कम्युनिष्ट)हरुले नेतृत्व गर्दै आएकोमा यसपटक ब्रेक गर्ने उदेश्यले सबै डेमोक्रेटहरु गोलबद्ध भएको डिक्यानका एक सदस्यले बताए । ‘हाम्रो मतभेद र कमजोरीको फाइदा उठाउँदै पटक पटक उनीहरुले इक्यानको नेतृत्व लिइरहे, उनीहरुलाई नै अध्यक्ष बनाउन हामी आपसमा लडिरह्यौं,’ ती सदस्यले भने, ‘अब यसपटक कुनै पनि हालतमा इक्यानको नेतृत्वमा हाम्रो उम्मेदवार ल्याइन्छ, यसको लागि हामी आन्तरिक रणनीतिमा पनि जुटिसकेका छौं ।’

डेमोक्रेट व्यवसायीहरुले इक्यान निर्वाचनमा छुट्टै प्यानल निर्माण गर्ने बताएका छन् । अध्यक्षमा आफ्नो उम्मेदवार हुने र अन्य पदहरुमा अन्य शक्तिहरुसँग पनि सहकार्य गर्न सकिने उनीहरुको भनाई छ । डेमोक्रेटहरुले अध्यक्षमा उम्मेदवारी दिने तयारी गरिरहेका इक्यानका उपाध्यक्ष लक्ष्मण पौडेल एन्डु«लाई आफ्नो उम्मेदवारको रुपमा समर्थन रहेको उल्लेख गरेका छन् । लामो समयपछि इक्यानको नेतृत्वमा उपयुक्त पात्र छनौट गर्ने अवसर आएकाले यस्तो अवसर नगुमाउने बताउँदै विशेष भेलाको उदेश्य पनि एन्डु«लाई समर्थन गर्नु रहेको उनीहरुको भनाई छ ।

 

प्रतिक्रिया

सम्बन्धित समाचार