वैदेशिक अध्ययनको लागि शैक्षिक परामर्श व्यवसायीहरुको छाता संगठन नेपाल शैक्षिक परामर्श संघ (इक्यान)ले आयोजना गरेको १६औं ‘इक्यान एजुकेशन फेयर’ सम्पन्न भएको छ ।
आज सोमबार राजधानीमा आयोजना गरिएको एजुकेशन फेयर १० बजेबाट सुरु भएर ५ बजेसम्म संचालन भएको थियो । सुरुवातीदेखि नै विद्यार्थीको बाक्लो उपस्थिति रहेको एजुकेशन फेयरमा २ हजार बढी विद्यार्थीको सहभागिता रहेको इक्यानले जनाएको छ ।
फेयरलाई इक्यानका अध्यक्ष शेषराज भट्टराईले उद्घाटन गर्दै वैदेशिक अध्ययनका लागि दिइने परामर्शबारे बिद्यार्थी तथा अभिभावकको ध्यानाकर्षण गराएका थिए ।
‘यो एजुकेशन फेयर कुनै एक देशलाई मात्र लक्षित नगरी मल्टि डेस्टिनेशनको रुपमा स्थापित भएको विभिन्न मुलुकमा पढ्न जाने विद्यार्थीहरुको लागि एउटा उत्कृष्ट प्लाटफर्म हो,’ अध्यक्ष भट्टराईले भने, ‘विद्यार्थीहरूले गन्तव्य मुलुकमा पाइने अध्ययनका अवसर, कलेज तथा विश्वविद्यालयका प्रतिनिधिहरूसँग प्रत्यक्ष परामर्श र पूर्व तयारीको लागि विशेषज्ञ सल्लाह प्राप्त गर्ने अवसर पाउने छन् ।’
अध्यक्ष भट्टराईले यस्ता शैक्षिक मेलाबाट दिइने सामूहिक परामर्शले विद्यार्थी तथा अभिभावकलाई विदेश गएर अध्ययन गर्न पुलको भूमिका निर्वाह गर्ने भन्दै फेयरमा सहभागि सम्पूर्ण व्यवसायी शैक्षिक संस्थाहरु र सरोकारवाला एवं शुभेच्छुकहरुलाई धन्यवाद ज्ञापन गरे ।

३० भन्दा बढी शैक्षिक संस्थाहरु सहभागि रहेको एजुकेशन फेयरबाट विदेश गएर अध्ययन गर्न चाहने विद्यार्थीले आवश्यक शैक्षिक गतिविधि, कानुनी प्राबधान र शिक्षा प्रणालीबारे सम्पूर्ण जानकारी हासिल गर्न सफल भएको मेलाकी संयोजक एवं इक्यान उपाध्यक्ष गिता शर्मा सिवाकोटीले बताइन् । इक्यानले प्रत्यक वर्ष आयोजना गर्दै आएको एजुकेशन फेयरलाई विद्यार्थीहरूले आफ्नो शैक्षिक लक्ष्यहरू प्राप्त गर्ने विश्वसनीय प्लाटफर्मको रुपमा लिएको उनको भनाई छ ।

त्यस्तै इक्यानका उपाध्यक्ष लक्ष्मण पौडेल (एन्ड्रु)ले एकै छानामुनीबाट विद्यार्थीहरुलाई गन्तव्य मुलुकका कलेज तथा विश्वविद्यालय छनौट गर्ने अवसर प्रदान गर्न मेलाले सहयोग पुर्याएको बताए । उनले मेलामा सहभागि विद्यार्थीहरुलाई स्पट एडमिसन र छात्रवृत्तिकोसमेत अवसर रहेको जानकारी दिए । मेलामा सहभागी विद्यार्थीहरूले विभिन्न देशका कलेज तथा विश्वविद्यालयका प्रतिनिधि, काउन्सिलर र शिक्षाविद्हरुसँग प्रत्यक्ष भेटघाट एवं आवश्यक जानकारी हासिल गर्न पाएको भन्दै उपाध्यक्ष पौडेलले एजुकेशन फेयर निकै उपयोगी भएको बताए ।

यसैगरी एजुकेशन फेयर इक्यानको प्रतिष्ठासँग गासिएकाले यसबाट विद्यार्थी तथा अभिभावकलाई कुनै दुविधा नहुने र विश्वसनिय वातावरणमा शैक्षिक परामर्श लिन सकिने महासचिव दिपकराज भुसालले बताए । विद्यार्थीहरुको चाहनालाई एकै ठाउँबाट सम्बोधन गर्न सकियोस भनेरै प्रत्येक वर्ष शैक्षिक परामर्शदातृ, कलेज तथा विश्वविद्यालयको सहभागितामा एजुकेशन फेयर संचालन गर्ने गरिएको उनको भनाई छ ।

यस्तै एजुकेशन फेयरले विदेश पढ्न जाने विद्यार्थीहरुको रुची र सही गन्तव्यको मार्ग निर्देशन गर्ने इक्यानका कोषाध्यक्ष आशिक कार्कीले बताए । उनका अनुसार विदेश गएर पढ्न चाहने विद्यार्थीहरुका लागि एजुकेशन फेयर एउटा उत्कृष्ट अवसर मात्र नभई गन्तव्य मुलुकको शैक्षिक प्रणाली, कानुनी प्रावधान र करिअर निर्माणको लागि आवश्यक जानकारी लिन सक्ने भरपर्दो माध्यम पनि हो ।

फेयरमा सहभागी एक छात्राले विदेश पढ्न जानको लागि चाहिने धेरै कुराको जानकारी पाएको बताइन् । उनले फेयरमा सहभागी कलेज तथा विश्वविद्यालयका प्रतिनिधिले एकदमै सरल भाषामा बुझ्नेगरी सबै विषयबस्तु बुझाइदिएको भन्दै विदेशमा गएर पढ्नेबारे निर्णय गर्न सजिलो बनाइदिएको बताइन् ।
त्यस्तै अर्का छात्रले पनि एजुकेशन फेयरबाट आफुमा भएको दुविधा हटेको बताए । उनले इन्टरनेटमा खोज्दा धेरै कन्फ्युजन भएकै कारण प्रत्यक्ष रुपमा जानकारीले उदेश्यले एजुकेशन फेयरमा सहभागी भएको बताए ।

त्यस्तै एजुकेशन फेयरमा सहभागी विद्यार्थीहरूलाई १०० प्रतिशतसम्म छात्रवृत्तिसहित आइईएलटीएस, पीटीई लगायत तयारी कक्षामा पनि विशेष छुट दिइने फेयरमा सहभागि परामर्शदातृ संस्थाहरुले उल्लेख गरेका छन् ।
यस्तै शैक्षिक परामर्श दिने संस्थाहरु, कलेज तथा विश्वविद्यालयहरु, विद्यार्थी एवं अभिभावहरु, संचारकर्मी तथा सरोकारवाला र शुभेच्छुकहरुको उत्साहजनक सहभागिताले इक्यानको १६औं मल्टिडेस्टिनेशन एजुकेशन फेयर सफलतापूर्वक सम्पन्न भएको मेला व्यवस्थापक तथा वान अपका निर्देशक रवि झाले जानकारी दिए । उनले मेलामा सहभागिता जनाउने, साथसमर्थन दिने र कार्यक्रमलाई सफल बनाउन संस्थागत रुपमा प्रायोजन गर्ने सम्पूर्णलाई धन्यवाद व्यक्त गरे ।

























प्रतिक्रिया