नेपाल राष्ट्रिय भूतपूर्व सैनिक सुरक्षा सेवा प्रालि, पुल्चोकद्वारा आयोजित “सि.सं. १ आधारभूत सुरक्षा गार्ड तालिम (S. No. 1 Basic Security Guard Training–Capstone 1)”को उद्घाटन समारोह पुल्चोक, ललितपुरस्थित नेपाल राष्ट्रिय भूतपूर्व सैनिक संघको प्रशिक्षण हलमा सम्पन्न भएको छ। तालिमको उद्घाटन नेपाल राष्ट्रिय भूतपूर्व सैनिक संघका वरिष्ठ उपसभापति मानार्थ उपरथी उद्धव बिष्टले गर्नुभएको हो।
उद्घाटन समारोहमा बोल्दै प्रमुख अतिथि मानार्थ उपरथी बिष्टले निजी तथा नागरिक सुरक्षा क्षेत्रमा कार्यरत सुरक्षा गार्डहरू अनुशासित, जिम्मेवार, सतर्क र व्यावसायिक हुनुपर्ने आवश्यकता औँल्याउनु भयो। उहाँले बदलिँदो सुरक्षा वातावरणअनुसार सुरक्षा गार्डहरूलाई सैद्धान्तिक ज्ञानसँगै व्यावहारिक सीपसमेत प्रदान गर्नुपर्नेमा जोड दिनुभयो। यस प्रकारको तालिमले सुरक्षा गार्डहरूको कार्यक्षमता, आत्मविश्वास, अनुशासन र सेवाभाव अभिवृद्धि गर्ने विश्वास व्यक्त गरिएको छ।

“राष्ट्र प्रथम, सुरक्षा सदैव” भन्ने मूल भावनाका साथ सञ्चालन गरिएको तालिमको उद्देश्य दक्ष, अनुशासित, जिम्मेवार र सेवामुखी सुरक्षा जनशक्ति तयार गर्नु रहेको आयोजक संस्थाले जनाएको छ। तालिमले सुरक्षा गार्डलाई आफ्नो भूमिका, जिम्मेवारी र कर्तव्यबारे स्पष्ट जानकारी दिनुका साथै जोखिम पहिचान, रोकथाम, प्रतिकार्य तथा प्रभावकारी सुरक्षा सेवा प्रदान गर्न सक्षम बनाउने लक्ष्य राखेको छ।
तालिमका सम्पूर्ण सैद्धान्तिक कक्षाहरू नेपाली सेनाका अनुभवी वरिष्ठ अवकाशप्राप्त अधिकृतहरू तथा इगल थिङ्क ट्याङ्कका सदस्यहरूले पूर्ण रूपमा स्वेच्छिक र निःशुल्क सञ्चालन गर्नुहुनेछ। सैद्धान्तिक प्रशिक्षणमा सहायक रथी (अवकाशप्राप्त) रामचन्द्र खत्री, मानार्थ उपरथी रत्न गोदार (अवकाश प्राप्त) तथा महासेनानी (अवकाशप्राप्त) धीरेन्द्र मल्लले विषयगत प्रशिक्षण दिनुहुने कार्यक्रम रहेको छ। उहाँहरूले आफ्नो लामो सैनिक सेवा, नेतृत्व अनुभव, सुरक्षा व्यवस्थापनसम्बन्धी ज्ञान र व्यावहारिक अनुभव प्रशिक्षार्थीहरूलाई हस्तान्तरण गर्नुहुनेछ।
तालिमको पहिलो दिन सुरक्षा गार्डको भूमिका, जिम्मेवारी र कर्तव्य, व्यक्ति तथा सवारीसाधनको खानतलासी तथा खाली हात कवाजसम्बन्धी प्रशिक्षण सञ्चालन गरिनेछ। यसले प्रशिक्षार्थीलाई सुरक्षा सेवाको आधारभूत अवधारणा, अनुशासन, सतर्कता र नियमित कार्यप्रणाली बारे जानकारी प्रदान गर्नेछ।
दोस्रो दिन सुरक्षा व्यवस्थापनका सिद्धान्त, जोखिम तथा सुरक्षा खतरा, नियन्त्रण कक्ष व्यवस्थापन तथा प्रतिवेदन प्रणाली, गेट सञ्चालन अभ्यास, प्रवेश–निष्कासन प्रक्रिया, परिधि सुरक्षा, शंकास्पद गतिविधिको पहिचान तथा कार्यक्रम सुरक्षासम्बन्धी प्रशिक्षण प्रदान गरिनेछ। साथै, प्रशिक्षार्थीहरूलाई दैनिक सुरक्षा विवरण तयार गर्ने, घटना अभिलेखीकरण गर्ने र आवश्यक निकायमा समयमै प्रतिवेदन गर्ने विधिबारे सिकाइनेछ।
तेस्रो दिन आगलागी नियन्त्रण, ट्राफिक नियन्त्रण तथा पार्किङस्थल व्यवस्थापन, रेडियो टेलिफोनी प्रक्रिया र खाली हात कवाजका कक्षाहरू सञ्चालन हुनेछन्। आगलागीका सम्भावित कारण पहिचान, प्रारम्भिक नियन्त्रण, सुरक्षित उद्धार, अग्निनियन्त्रक उपकरणको प्रयोग तथा आपत्कालीन अवस्थामा सम्बन्धित निकायसँग समन्वय गर्ने विषयलाई विशेष महत्त्व दिइनेछ।
चौथो दिन भिड नियन्त्रण तथा व्यवस्थापन, प्राथमिक उपचार, घाइते वा बिरामीको उद्धार, शंकास्पद वस्तु तथा विस्फोटक पदार्थ (IED) सम्बन्धी आधारभूत जानकारी, जोखिम पहिचान र प्रारम्भिक व्यवस्थापनबारे प्रशिक्षण दिइनेछ। यस्ता विषयले सुरक्षा गार्डलाई आपत्कालीन अवस्थामा संयमित, सुरक्षित र जिम्मेवार ढङ्गले कार्य गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ।
तालिमको अन्तिम दिन सुरक्षा गार्डमा हुनुपर्ने व्यक्तित्वका गुण, ग्राहकसँगको व्यवहार तथा सेवा, व्यक्ति, सामान र सूचनाको सुरक्षा, नेपाली सेना, नेपाल प्रहरी, प्रशासन, सञ्चार माध्यम, मानव अधिकार तथा कानुनी सचेतनासम्बन्धी सैद्धान्तिक कक्षाहरू सञ्चालन हुनेछन्। सुरक्षा सेवा प्रदान गर्दा कानुन, मानव अधिकार, व्यावसायिक आचरण, गोपनीयता र सेवाग्राहीप्रतिको सम्मान पालना गर्नुपर्ने विषयमा विशेष जोड दिइनेछ।
सैद्धान्तिक कक्षासँगै गेट सञ्चालन, खानतलासी, परिधि सुरक्षा, आगलागी नियन्त्रण, प्राथमिक उपचार, सञ्चार प्रक्रिया र खाली हात कवाजजस्ता व्यावहारिक अभ्यासहरू पनि सञ्चालन गरिनेछन्। यसबाट प्रशिक्षार्थीहरूले कक्षामा प्राप्त ज्ञानलाई वास्तविक कार्यस्थलको परिस्थितिमा प्रयोग गर्न सक्ने अपेक्षा गरिएको छ।
२४ भदौदेखि प्रारम्भ भएको तालिम ३१ भदौ २०८३ सम्म सञ्चालन हुनेछ। निर्धारित तालिम सफलतापूर्वक पूरा गर्ने प्रशिक्षार्थीहरूलाई समापन समारोहमानेपाल राष्ट्रिय भूतपूर्व सैनिक संघका केन्द्रीय सभापति सहायकरथी डा. केशरबहादुर भण्डारी (अवकाशप्राप्त) द्वारा प्रशिक्षार्थीहरूलाई प्रमाणपत्र प्रदान गरिने आयोजक संस्थाले जनाएको छ। तालिम सञ्चालनमा सम्बन्धित पदाधिकारी तथा विषयगत प्रशिक्षकहरूले निर्धारित समयभित्र आ–आफ्नो जिम्मेवारी पूरा गर्ने कार्यक्रम रहेको छ।
नेपाल राष्ट्रिय भूतपूर्व सैनिक सुरक्षा सेवा प्रालिले अनुभवी सैनिक अधिकृतहरूको ज्ञान, सीप र अनुभवलाई नागरिक सुरक्षा क्षेत्रमा उपयोग गर्दै दक्ष तथा व्यावसायिक सुरक्षा जनशक्ति उत्पादन गर्ने उद्देश्यले तालिम आयोजना गरेको जनाएको छ। आयोजकका अनुसार यस किसिमको प्रशिक्षणले रोजगारीमा रहेका तथा सुरक्षा क्षेत्रमा प्रवेश गर्न चाहने व्यक्तिहरूलाई आवश्यक आधारभूत ज्ञान र सीप प्रदान गर्नुका साथै समग्र निजी सुरक्षा सेवाको गुणस्तर सुधार गर्नसमेत सहयोग पुर्या उनेछ।तालिममा करिब एक सेक्सन बराबर प्रशिक्षार्थीहरू सहभागी भएका छन्।









प्रतिक्रिया