काठमाडौं — गत भाद्र १० गते भोटेकोशीमा आएको विनाशकारी बाढीका कारण क्षति पुगेका सडक तथा पुलहरूको पुनःनिर्माण क्रममा नेपाली सेनाले नुवाकोटमा अस्थायी पुल जडान गरी यातायात सुचारु गरेको छ।
नुवाकोट जिल्लाको विदुर नगरपालिका–५, देवीघाटस्थित तादी खोलामा नेपाली सेनाले ५७.९ मिटर लम्बाइ र ५.५ मिटर चौडाइ भएको Advance Modular Panel Bridge (एक्रो ब्रिज) सफलतापूर्वक जडान गरेको हो। अधिकतम ६० टन भार वहन क्षमता रहेको उक्त पुल निर्माण भएसँगै अवरुद्ध बनेको सडक पुनः सञ्चालनमा आएको छ।
पुल सञ्चालनमा आएसँगै नुवाकोट तथा त्यस आसपासका क्षेत्रका नागरिकहरूलाई आवतजावतमा ठूलो राहत मिलेको छ। साथै, सवारी साधनको आवागमन सहज हुनुका साथै बाढी प्रभावित क्षेत्रमा आवश्यक राहत, उद्धार कार्य र अत्यावश्यक सामग्रीको ढुवानी गर्नसमेत सहज हुने बताइएको छ।
बाढीका कारण अवरुद्ध बनेका मुख्य राजमार्ग तथा रणनीतिक सडकहरूलाई द्रुत गतिमा सञ्चालनमा ल्याउन नेपाली सेनाले लगातार उद्धार तथा पुनःनिर्माणको कार्य गर्दै आएको छ।









प्रतिक्रिया