नेपाल सरकारले घरेलु कामदारको रुपमा मलेसिया तथा खाडी मुलुकहरुमा जान र पठाउन बन्देज लगाएका कारण विभिन्न कम्पनीहरुबाट सरसफाई सम्बन्धी (क्लिनिङ) कामको लागि माग ल्याउन समस्या देखिएको छ । घरेलु कामदारमाथि बन्देज लगाउँदा विभिन्न कम्पनीबाट आएका डिम्याण्डहरु प्रमाणिकरण नहुने र अवैधानिक बाटो हुँदै वैदेशिक रोजगारीमा जानुपर्ने बाध्यात्मक अवस्था सिर्जना भएको छ ।
सरकारले २०७३ सालदेखि वैदेशिक रोजगारीका लागि घरेलु कामदारका रूपमा जानर पठाउन बन्देज लगाएको छ । घरेलु कामदारको रुपमा विदेश जानेहरु ९५ प्रतिशत भन्दा बढी महिलाहरु हुने भएकाले उनीहरुको सुरक्षाको ग्यारेन्टी नगरिएसम्म पठाउन नसकिने नेपाल सरकारले अडान लिएको छ । यद्यपी बन्देजका कारण नेपाली महिलाहरू अवैधानिक बाटो हुँदै वैदेशिक रोजगारीमा जाने गरेको भन्दै चौतर्फी रुपमा फुकुवा गर्नुपर्ने आवाज उठिरहेको हो ।
विशेषगरी साउदी अरब, कतार, ओमान, कुवेत, बहराइन, युएईलगायतका खाडी मुलुकमा घरेलु कामदार पठान बन्देज लगाउँदा त्यहाँका ठूला कम्पनीबाट आएका सफाईकर्मी (क्लिनर)को डिमाण्ड रोकिने अवस्थामा पुगेको वैदेशिक रोजगार व्यवसायीहरु बताउँछन् । विभिन्न बहुराष्ट्रिय कम्पनीबाट ठूलो संख्यामा क्लिनरको माग आउने भएपनि प्रमाणिकरणमै समस्या हुँदा व्यवसायीलाई डिमाण्ड ल्याउन कठिन भएको नेपाल वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष राजेन्द्र भण्डारीले बताए ।
‘क्लिनर भन्नेवित्तिकै महिला कामदार नै हो भन्ने बुझाईले गर्दा वैधानिक रुपमा डिम्याण्ड ल्याउन खोज्दा पनि घरेलु कामदारको रुपमा पठाउन लागिएको आशंका गर्दै मागपत्र प्रमाणिकरण नहुने अवस्था छ,’ उनले भने, ‘घरेलु कामदारमाथि लगाइएको प्रतिबन्धले झन् समस्या बढिरहेको छ, दलालहरूले भिजिट भिसामार्फत महिलाहरुलाई उता पु¥याएर घरेलु कामदारको रूपमा बेच्ने गरेका छन् ।’ घरेलु कामदारमा जान महिलाहरुलाई लगाइएको बन्देजले अन्य क्षेत्रमा पारेको असरलाई सरकारले अविलम्ब सम्बोधन गर्नुपर्ने उनको भनाइ छ ।
सरकारले रोजगारीको लागि विदेश जान इच्छुक घरेलु कामदार पठाउन खुला गरेमात्रै सबै प्रकारका समस्या हल हुने नेपाल वैदेशिक रोजगार घरेलु महिला कामदार सरोकार समाजका अध्यक्ष किसन प्रधानले बताए । पछिल्लो समय क्लिनिङको डिम्याण्ड प्रमाणिकरण नहुने समस्या आएको व्यवसायी साथीहरुले पनि गुनासो गरिरहेका छन्,’ उनले भने, ‘यो क्लिनिङमा जाने विषय मात्र होइन, हामीले घरेलु कामदारलाई व्यवस्थित तरिकाले संस्थागत (म्यानपावर)मार्फत पठाउन खुला गर्नुपर्छ भनेर माग गरिरहेका छौं ।’ घरेलु कामदारमा प्रतिबन्ध लगाएकै कारण अवैध तरिकाले विभिन्न माध्यमबाट विभिन्न मुलुकमा पुग्ने र बेचविखनमा पर्ने जोखिम बढ्दै गएको प्रधानले बताए ।
यस्तै घरेलु कामदारमाथि लगाइएको प्रतिबन्धकै कारण वैधानिक रूपमा कामदार पठाउने गरी ल्याइने डिम्याण्ड प्रमाणिकरण नहुने अवस्था आएको वैदेशिक रोजगार व्यवसायी गणतान्त्रिक मञ्चका महासचिव कुन्छा दोर्जे डिम्दोङले बताए । ‘घरेलु कामदार र कम्पनीमा काम गर्ने गरी ल्याइएको क्लिनिङको मागपत्र फरक भए पनि सम्बन्धीत राजदूतावासले एउटै विषय मानेर डिमाण्ड नै रोक्ने गरेको छ,’ उनले भने, ‘साउदी लगायतका मुलुकबाट हस्पिटल, सपिङ मल, मल्टिनेशनल कम्पनीबाटसमेत ठूलै संख्यामा क्लिनिङको डिमाण्ड आउने भएपनि प्रतिबन्धका कारण कामदार पठाउन सकिएको छैन ।’ घरेलु कामदार र वैधानीक रुपमा क्लिनिङमा जाने कामदारलाई एउटै नजरले हेरेका कारण समस्या भईरहेको डिम्दोङको भनाई छ । दूतावासले माग प्रमाणीकरण नगरिदिँदा कामदारले अवैध बाटो प्रयोग गर्न बाध्य हुनुपरेको भन्दै उनले राज्यको वेवास्ताका कारण रोजगारीको अवसरमा अवरोध सिर्जना भइरहेको बताए ।
सरकारले घरेलु कामदारका रूपमा जानेहरुमाथि सुरक्षाको दृष्टिकोणबाट बन्देजका सर्त लगाए पनि विधिवत रुपमा विभिन्न कम्पनीहरुबाट आएका क्लिनिङका डिम्याण्डलाई रोक्ने कुनै नीति नभएको वैदेशिक रोजगार विभागका महानिर्देशक डण्डुराज घिमिरेले बताए । ‘वैधानिक रुपमा आएका डिम्याण्डलाई रोक्ने कुरै आउँदैन,’ उनले भने, ‘कतिपय अवस्थामा एउटा शिर्षकमा डिम्याण्ड ल्याउने र उता घरेलु कामदारको रुपमा काम लगाउने गरेको पनि फेला परेको छ, यसले गर्दा केही दुविधा भएको हुन सक्छ ।’ व्यवसायीले संस्थामार्फत ल्याएका डिम्याण्ड लाई सरकारले नरोक्ने, सहजीकरण नै गर्ने उनले बताए ।







प्रतिक्रिया