नबिल बैंकले निकाल्दैछ ४ अर्बको ऋणपत्र, बिक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल

नबिल बैंक लिमिटेडले ४ अर्ब रुपैयाँ बराबरको ऋणपत्र निष्कासन गर्ने भएको छ। बैंकले १० वर्ष अवधिको ‘५.५ प्रतिशत नबिल डिबेन्चर २०९३’ निष्कासनमार्फत दीर्घकालीन ऋणपुँजी जुटाउन लागेको हो।

ऋणपत्र निष्कासन तथा बिक्री व्यवस्थापनका लागि नबिल बैंकले ग्लोबल आइएमई क्यापिटल लिमिटेडलाई बिक्री प्रबन्धक नियुक्त गरेको छ। यससम्बन्धी सम्झौतामा मंगलबार नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत मनोजकुमार ज्ञवाली र ग्लोबल आइएमई क्यापिटलका प्रमुख कार्यकारी अधिकृत मन्दीप लुइटेलले हस्ताक्षर गरेका छन्।

बैंकले एक हजार रुपैयाँ अंकित मूल्यका ४० लाख कित्ता ऋणपत्र बिक्रीमा ल्याउने तयारी गरेको छ। ऋणपत्रमा लगानी गर्नेले वार्षिक ५.५ प्रतिशत ब्याजदर पाउनेछन्। १० वर्षको अवधिसम्म रहने उक्त ऋणपत्रबाट बैंकले आफ्नो दीर्घकालीन स्रोत व्यवस्थापनलाई थप बलियो बनाउने अपेक्षा गरेको छ।

निष्कासन गर्न लागिएको ऋणपत्रमध्ये २४ लाख कित्ता व्यक्तिगत तवरबाट बिक्री गरिनेछ। व्यक्तिगत तवरमा बिक्री हुने ऋणपत्रको कुल मूल्य २ अर्ब ४० करोड रुपैयाँ हुनेछ। त्यसैगरी, १६ लाख कित्ता ऋणपत्र सर्वसाधारणका लागि सार्वजनिक निष्कासन गरिनेछ, जसको कुल मूल्य १ अर्ब ६० करोड रुपैयाँ रहेको छ।

सर्वसाधारणका लागि जारी हुने ऋणपत्रमध्ये नियमानुसार निश्चित कित्ता सामूहिक लगानी कोषका लागि छुट्याइने बैंकले जनाएको छ। नियामक निकायबाट आवश्यक स्वीकृति प्राप्त भएपछि मात्रै ऋणपत्र निष्कासन तथा बिक्री प्रक्रिया अघि बढ्नेछ।

बैंकले ऋणपत्रमार्फत संकलन हुने रकमलाई बैंकिङ व्यवसाय विस्तार तथा स्रोत व्यवस्थापनमा उपयोग गर्नेछ। दीर्घकालीन प्रकृतिको पुँजी जुटाउने उद्देश्यले बैंकले ऋणपत्र निष्कासन गर्न लागेको हो।

नबिल बैंकले हाल देशभर २६३ शाखा र ३१५ वटा स्वचालित नगद भुक्तानी यन्त्रमार्फत २६ लाखभन्दा बढी ग्राहकलाई सेवा दिँदै आएको जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित समाचार