भर्खरैको विनाशकारी बाढीपहिरोका कारण विषम परिस्थिति बनेका रसुवा, नुवाकोट, धादिङ, चितवन र नवलपरासी पूर्वका प्रभावित क्षेत्रहरूमा नेपाली सेनाले हवाई तथा जमिनी माध्यमबाट खोज, उद्धार र राहत कार्यलाई अझ तीव्र बनाएको छ। भाद्र १६ गते साँझ ७ बजेसम्म प्राप्त अद्यावधिक विवरण अनुसार सेनाले उद्धार, राहत सामग्री वितरण, टनेलमा खटिने कार्य तथा आपत्कालीन स्वास्थ्य सेवालाई एकसाथ अघि बढाइरहेको छ।
नेपाली सेनाको हवाई साधनमार्फत आज मात्रै एक बेलायती नागरिकसहित १२९ जनाको सकुशल उद्धार गरिएको छ। यससँगै सेनाले हालसम्म २७३ जना विदेशी नागरिकसहित कुल ३,८९१ जनाको सफल हवाई उद्धार गरिसकेको छ। उद्धारका साथसाथै सेनाले धुन्चे, कोलोनी, बेत्रावती र त्रिशूली ३ए इलाकामा हेलिकप्टरमार्फत २,५०० किलोग्राम अत्यावश्यक राहत सामग्रीसमेत ढुवानी गरेको छ।
पहिरोका कारण प्रभावित भएका जलविद्युत् आयोजनाका टनेलहरूमा विदेशी विशेषज्ञसहितको संयुक्त टोलीले खोज तथा उद्धारको कामलाई निरन्तरता दिइरहेको छ। चिलिमे, अपर त्रिशूली-१, त्रिशूली ३ए र त्रिशूली ३बी आयोजनाका टनेलहरूमा थुप्रिएको माटो-ढुङ्गा पन्छाउने, आउटलेटतर्फबाट प्वाल पार्ने तथा आयोजना क्षेत्रसम्म पुग्ने पहुँचमार्ग निर्माण गर्ने कार्य प्राविधिक टोलीले जारी राखेको छ।
त्यसैगरी, रसुवाको टिमुरेदेखि नुवाकोट, धादिङ, चितवन र नवलपरासी पूर्वका प्रभावित क्षेत्रहरूमा सेनाका ९ हजार २ सयभन्दा बढी फौज प्रत्यक्ष रूपमा मैदानमा खटिएका छन्। सेनाले घाइतेहरूको खोज तथा उद्धार, शव व्यवस्थापन, अवरुद्ध सडक सञ्चालन र आपत्कालीन उपचारमा समन्वयात्मक भूमिका खेलिरहेको छ। सेनाले त्रिशूली र धुन्चेमा स्थापना गरेका आपत्कालीन उपचार केन्द्र तथा मेडिकल टोलीमार्फत आज २५१ जनाले उपचार पाएका छन् भने हालसम्म कुल ३,०२८ जना प्रभावित नागरिकले स्वास्थ्य सेवा प्राप्त गरिसकेका छन्।
बाढीपछि महामारी फैलिन नदिन धुन्चे, त्रिशूली, गजुरी र देवघाट लगायतका क्षेत्रहरूमा निसङ्क्रमण (Disinfect) को काम सम्पन्न गरिएको छ भने अन्य प्रभावित क्षेत्रमा पनि स्थानीय निकायहरूसँगको समन्वयमा यो कार्य जारी छ। यस्तै, आवतजावतलाई सहज बनाउन त्रिशूली नदीका पाँच स्थानमा तुइन निर्माण गर्ने योजना अनुसार नुवाकोटको विदुर नगरपालिका-९ स्थित इन्द्रायणी घाटमा करिब २५० मिटर लामो तुइन जडान गरी प्रभावित स्थानीयलाई बजार र अस्पतालसम्मको पहुँच सहज बनाइएको छ।








प्रतिक्रिया