रसुवा, नुवाकोट र धादिङलगायत जिल्लामा हालै आएको विनाशकारी बाढीपहिरोबाट भएको ठूलो जनधनको क्षतिप्रति पूर्व राजदूत संघ, नेपालले गहिरो दुःख व्यक्त गर्दै प्रभावित नागरिकको उद्धार, राहत र पुनःस्थापनामा जुट्न सबै पक्षलाई आह्वान गरेको छ।
संघका अध्यक्ष चोपलाल भुसाल र महासचिव भीम उदासद्वारा जारी प्रेस वक्तव्यमा बाढीपहिरोका कारण ठूलो मानवीय क्षति हुनुका साथै धेरै नागरिक घाइते तथा विस्थापित भएको र निजी आवास, सार्वजनिक पूर्वाधार तथा भौतिक सम्पत्तिमा व्यापक क्षति पुगेको उल्लेख गरिएको छ।
संघले विपद्मा आफन्त गुमाएका परिवारप्रति हार्दिक समवेदना व्यक्त गर्दै विस्थापित, जीविकोपार्जनका आधार गुमाएका तथा आपत्कालीन सहयोगको पर्खाइमा रहेका नागरिकप्रति ऐक्यबद्धता जनाएको छ। विपद्को यस कठिन घडीमा प्रभावित नागरिकको जीवनरक्षा र सुरक्षित भविष्य सुनिश्चित गर्नु सबैको साझा दायित्व भएको संघको भनाइ छ।
खोज, उद्धार तथा राहतमा सक्रिय नेपाल सरकार, सुरक्षा निकाय, स्थानीय तह, नेपाली डायस्पोरा, स्वयंसेवक तथा आम नागरिकले गरेको प्रयासको संघले उच्च प्रशंसा गरेको छ। विपद्को कठिन परिस्थितिमा जोखिम मोलेर उद्धार तथा राहतमा खटिएका सबैप्रति संघले आभारसमेत व्यक्त गरेको छ।
बाढी तथा पहिरोमा फसेका र जोखिममा रहेका नागरिकको तत्काल उद्धार गरी सुरक्षित स्थानमा स्थानान्तरण गर्न संघले सरकारसँग आग्रह गरेको छ। प्रभावितका लागि तत्काल आपत्कालीन आश्रय, खाद्यान्न, खानेपानी, स्वास्थ्य उपचार तथा अन्य अत्यावश्यक सेवा उपलब्ध गराउन पनि उसले जोड दिएको छ। विशेषगरी बालबालिका, महिला, ज्येष्ठ नागरिक तथा अपाङ्गता भएका व्यक्तिको सुरक्षालाई प्राथमिकतामा राख्न संघले आग्रह गरेको छ।
विपद्को समयमा राजनीतिक दल, नागरिक समाज तथा आम नागरिक दलीय स्वार्थ र आपसी मतभेदभन्दा माथि उठ्नुपर्ने संघको धारणा छ। राष्ट्रिय संकटका बेला सबै पक्ष एकजुट भएर मानवीय उद्धार, राहत र पुनःस्थापनामा केन्द्रित हुनुपर्ने भन्दै संघले राष्ट्रिय एकताका साथ विपद्को सामना गर्न आह्वान गरेको छ।
संघले प्रभावित नागरिकको जीवनरक्षा र मानवीय मर्यादाको संरक्षणलाई साझा जिम्मेवारीका रूपमा लिन आग्रह गर्दै ‘प्रधानमन्त्री दैवी प्रकोप राहत कोष’मा यथाशक्य सहयोग गर्न सबै व्यक्ति, संस्था तथा समुदायलाई अपिल गरेको छ। विपद्बाट प्रभावित नागरिकलाई तत्काल राहत उपलब्ध गराउन सरकारी प्रयाससँगै निजी क्षेत्र, सामाजिक संघसंस्था, गैरआवासीय नेपाली समुदाय तथा आम नागरिकको सहयोग पनि उत्तिकै आवश्यक रहेको संघले जनाएको छ।
पूर्व राजदूत संघले बाढीपहिरोमा घाइते भएकाहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै खोज, उद्धार, राहत तथा पुनःस्थापनामा स्थलगत रूपमा खटिएका सम्पूर्ण व्यक्ति तथा संस्थाप्रति पुनः आभार व्यक्त गरेको छ।








प्रतिक्रिया