बाढीपहिरोपछि इलेक्ट्रिक एण्ड इलेक्ट्रोनिक्स अन्तर्राष्ट्रिय एक्स्पो स्थगित

 

काठमाडौं । नेपालमा पछिल्लो समय आएको विनाशकारी बाढीपहिरोका कारण आगामी भदौ १९ देखि २१ गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा आयोजना हुने तय भएको ‘नेपाल इलेक्ट्रिक, पावर, लाइट तथा नेपाल कन्ज्युमर इलेक्ट्रोनिक्स एण्ड होम अप्लायन्सेस अन्तर्राष्ट्रिय प्रदर्शनी’ हालका लागि स्थगित गरिएको छ ।

मिडिया स्पेस सोलुसन्स प्रालि., एक्जिबिसन एण्ड ट्रेड सर्भिसेस इन्डिया प्रालि. तथा फ्युचरेक्स ट्रेड फेयर एण्ड इभेन्ट्स प्रालिको संयुक्त आयोजनामा प्रदर्शनी आयोजना गर्ने तयारी गरिएको थियो । तर, देशभर बाढीपहिरोका कारण ठूलो जनधनको क्षति हुनुका साथै नागरिकहरू कठिन परिस्थितिबाट गुज्रिरहेका बेला व्यापारिक प्रदर्शनी सञ्चालन गर्नु मानवीय दृष्टिले उपयुक्त नहुने निष्कर्षसहित कार्यक्रम स्थगित गरिएको आयोजकले जनाएको छ ।

आयोजकका अनुसार प्राकृतिक विपत्तिका कारण देश संवेदनशील अवस्थाबाट गुज्रिरहेको तथा उद्धार, राहत र पुनर्निर्माणलाई प्राथमिकता दिनुपर्ने परिस्थितिलाई ध्यानमा राख्दै प्रदर्शनी तत्कालका लागि स्थगित गरिएको हो । साथै, नेपाल सरकारले जारी गरेको सुरक्षा सचेतना तथा भारत र चीन सरकारले आफ्ना नागरिकका लागि जारी गरेको यात्रा सचेतनालाई समेत आयोजकले निर्णयको आधार बनाएको जनाएको छ ।

प्रदर्शनीमा सहभागी हुने प्रदर्शक, स्वदेशी तथा विदेशी आगन्तुक र सरोकारवालाको सुरक्षा तथा यात्राको सहजतालाई पहिलो प्राथमिकतामा राख्दै यस्तो निर्णय गरिएको आयोजकको भनाइ छ । प्राकृतिक विपत्तिका कारण यातायात तथा पूर्वाधारमा परेको प्रभावले समेत प्रदर्शनी सञ्चालनमा चुनौती थपिएको आयोजकले जनाएको छ ।

अवस्था सामान्य भई यातायात तथा आवश्यक पूर्वाधारहरू सुचारु भएपछि प्रदर्शनीको नयाँ मिति सार्वजनिक गरिने आयोजकले जनाएको छ । प्रदर्शनी स्थगित हुँदा सहभागी तथा सरोकारवालामा पर्न गएको असुविधाप्रति आयोजकले क्षमायाचना गर्दै प्राकृतिक विपत्तिको यस कठिन घडीमा सबैको सहयोग, सद्भाव र समझदारीका लागि आभार व्यक्त गरेको छ ।

विद्युतीय तथा विद्युतीय उपकरण, पावर, लाइटिङ, कन्ज्युमर इलेक्ट्रोनिक्स र होम अप्लायन्सेस क्षेत्रका स्वदेशी तथा अन्तर्राष्ट्रिय कम्पनीको सहभागिता रहने गरी प्रदर्शनी आयोजना गर्ने तयारी गरिएको थियो । नयाँ मिति तय भएपछि प्रदर्शनीसम्बन्धी विस्तृत जानकारी सार्वजनिक गरिने आयोजकले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार