रसुवाको भोटेकोशी बाढी प्रभावित क्षेत्रमा उद्धार, राहत तथा सूचना प्रवाहलाई निरन्तरता दिन नेपाल दूरसञ्चार प्राधिकरणले २० थान स्याटेलाइट फोन उपलब्ध गराएको छ। प्राधिकरणले अन्तर्राष्ट्रिय दूरसञ्चार संघबाट विपद् सहयोग स्वरूप प्राप्त गरेका यी फोनहरू राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणलाई हस्तान्तरण गरेको हो।
प्राधिकरणका अनुसार उपलब्ध गराइएका कुल फोनहरूमध्ये १० थान रसुवा र १० थान नुवाकोट जिल्लामा प्रयोग हुने गरी प्रभावित क्षेत्रमा पठाइएको छ। यी स्याटेलाइट फोनहरू आगामी तीन महिनासम्म नि:शुल्क प्रयोग गर्न सकिने व्यवस्था मिलाइएको छ।
सामान्य टेलिकम नेटवर्क वा मोबाइल टावर नटिप्ने दुर्गम तथा संरचना क्षतिग्रस्त भएका स्थानहरूमा समेत स्याटेलाइटको माध्यमबाट सीधै फोन तथा एसएमएस सेवा लिन सकिने यो प्रविधि निकै महँगो र भरपर्दो मानिन्छ। बाढी र पहिरोले सञ्चार सञ्जाल विच्छेद भएका स्थानहरूमा यो प्रविधिको प्रयोगले उद्धार टोली, स्थानीय प्रशासन र राहत व्यवस्थापकहरूबीच समन्वय कायम गरी उद्धार कार्यलाई थप प्रभावकारी बनाउने विश्वास लिइएको छ।







प्रतिक्रिया