भोटेकोशी र त्रिशूली नदीमा आएको आकस्मिक तथा भीषण बाढीका कारण रसुवा, नुवाकोट, धादिङ लगायतका जिल्लामा पुगेको ठूलो जनधनको क्षतिप्रति स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) ले गहिरो दुःख व्यक्त गरेको छ।
इप्पानका अध्यक्ष मोहन कुमार डाँगीद्वारा जारी विज्ञप्तिमा बाढीले मानव बस्ती, सडक, पुलका साथै देशकै प्रमुख जलविद्युत् हब मानिने क्षेत्रका भौतिक पूर्वाधार र आयोजनाहरूमा अपूरणीय क्षति पुर्याएको उल्लेख छ।
जलविद्युत् क्षेत्रमा व्यापक क्षति
प्राप्त प्रारम्भिक विवरण अनुसार बाढीका कारण रसुवा र नुवाकोट बेसिनमा सञ्चालित तथा निर्माणाधीन दर्जनौँ आयोजना प्रभावित भएका छन्:
रसुवा जिल्ला: सञ्चालनमा रहेका करिब २३६ मेगावाट क्षमताका ५ वटा र निर्माणाधीन ३४२.४२ मेगावाटका ३ वटा आयोजनामा क्षति पुगेको छ।
नुवाकोट जिल्ला: सञ्चालनमा रहेका १२३ मेगावाटका ४ वटा र निर्माणाधीन ५२.६ मेगावाटका २ वटा आयोजना प्रभावित भएका छन्।
माथिल्लो त्रिशूली–३ ‘बी’ हब सबस्टेसनमा क्षति पुगेका कारण प्रत्यक्ष भौतिक क्षति नपुगेका धेरै आयोजनाहरूसमेत राष्ट्रिय प्रसारण प्रणालीबाट विच्छेद (डिस्कनेक्ट) हुन पुगेका छन्।
उद्धार र पुनर्निर्माणलाई प्राथमिकता दिन आग्रह
इप्पानले नदी तटीय क्षेत्र तथा आयोजना स्थलमा फसेका कामदार, प्राविधिक र स्थानीय नागरिकको तत्काल खोजी तथा उद्धारलाई पहिलो प्राथमिकता दिन नेपाल सरकार, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र स्थानीय प्रशासनसँग जोडदार माग गरेको छ। निजी क्षेत्रका प्रवर्द्धकहरूलाई पनि आफ्ना सम्पूर्ण साधन-स्रोतसहित उद्धारमा खटिन आह्वान गरिएको छ।
विपद्को यस घडीमा बैंक तथा वित्तीय संस्था, बीमा कम्पनी, निर्माण व्यवसायी र अन्य व्यावसायिक प्रतिष्ठानहरूलाई एकीकृत रूपमा सहयोग गर्न आग्रह गर्दै इप्पानले सरकारसँग क्षति मूल्यांकन, बीमा दाबी सहजीकरण र नीतिगत छुटसहित क्षतिग्रस्त प्रसारण पूर्वाधारको शीघ्र पुनर्निर्माण गर्न अपिल गरेको छ।
इप्पान अध्यक्ष मोहनकुमार डाँगीले जारी गर्नु भएको विज्ञप्तिमा बाढीका कारण ज्यान गुमाउनेहरूप्रति श्रद्धाञ्जली व्यक्त गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभ र बेपत्ताहरूको सकुशल उद्धारको कामना गरिएको छ।








प्रतिक्रिया