सशस्त्र प्रहरी महानिरीक्षक र भारतीय एसएसबीका उच्च नेतृत्वबीच भेट

सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेल र भारतीय सशस्त्र सीमा बल (एसएसबी)को Internal Security and Strategy Management Course (ISSMC) का उच्च अधिकृतहरू बीच सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालय हलचोक स्वयम्भुमा  शिष्टाचार भेटघाट भएको छ ।

सो अवसरमा सशस्त्र प्रहरी महानिरीक्षक पौडेलले सीमा सुरक्षा तथा  व्यवस्थापन गर्ने कार्यमा नेपाल–भारत दुवै सुरक्षा निकाय बीचको समन्वय, सहकार्य र आपसी सम्बन्धलाई थप सुदृढ गर्दै लैजानु पर्ने बताउनुहुँदै यस किसिमको समकक्षी सुरक्षा निकायहरु बीच हुने व्यावसायिक भ्रमणले समेत आपसी सम्बन्धलाई थप प्रगाढ बनाउँदै लैजाने विश्वास व्यक्त गर्नुभयो ।

यसअघि दुवै सुरक्षा निकायका अधिकृतहरुबीच सम्पन्न भएको अन्तरक्रिया कार्यक्रममा सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक बंशीराज दाहालले सशस्त्र प्रहरी बल नेपाल र भारतीय सशस्त्र सीमा बल बीचको सम्बन्ध आपसी विश्वास, पारस्परिक सम्मान र व्यावसायिक सहयोगमा आधारित रहेको उल्लेख गर्नुभयो ।

कार्यक्रममा सशस्त्र प्रहरी नायव महानिरीक्षक नेत्र बहादुर कार्कीले नेपाल–भारत सीमा सुरक्षा र सहयोगका विभिन्न पक्षहरु लगायत सशस्त्र प्रहरी बल नेपाललाई प्राप्त कार्यादेशहरुमा भएका उपलब्धि सम्बन्धमा विस्तृत रुपमा प्रस्तुतीकरण गर्नुभएको थियो, भने सशस्त्र प्रहरी बल नेपालले ‘शान्ति, सुरक्षा र प्रतिवद्धता’को मूल मन्त्रका साथ सीमा सुरक्षा, विपद् व्यवस्थापन, राजश्व संकलनमा सहयोग र आन्तरिक सुरक्षामा निर्वाह गरेको बहुआयामीक भूमिकालाई विशेष बृत्तचित्र मार्फत प्रस्तुत समेत गरिएको थियो ।

भारतीय सशस्त्र सीमा बलका डिआईजी सञ्जय कुमार शर्माले सन् २००१ बाटै भारतीय सशस्त्र सीमा बल नेपाल–भारत सीमा सुरक्षामा तैनाथ र सशस्त्र प्रहरी बल नेपालको स्थापना भएको संयोगको इतिहासलाई स्मरण गर्नुहुँदै सशस्त्र प्रहरी बल नेपालले व्यावसायिक कार्यसम्पादनमा हासिल गरेको प्रगति प्रशंसनीय रहेको बताउनुभयो ।

अन्तरक्रिया कार्यक्रममा दुई देश बीचको अद्धितीय र ऐतिहासिक सम्बन्धको प्रतीक मानिने खुल्ला सीमानालाई थप सुरक्षित बनाउन सूचना आदान–प्रदान, सीमा अपराध नियन्त्रण र संयुक्त क्षमता अभिबृद्धि गर्ने विषयमा छलफल भएको थियो ।

सो टोलीले राष्ट्रिय सशस्त्र प्रहरी बल नेपाल प्रशिक्षण प्रतिष्ठान मातातीर्थ तथा विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिनटार लगायतका कार्यालयहरुको समेत अवलोकन भ्रमण गर्ने कार्यक्रम रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार