ट्राफिक प्रहरीको प्रस्टिकरणः गणेश नेपालीको आत्मदाह प्रयासमा ट्राफिक कारबाहीसँग कुनै सम्बन्ध छैन

काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले ट्राफिक कारबाहीका कारण एक युवाले आत्मदाहको प्रयास गरेको भन्ने विषयमा विभिन्न सञ्चारमाध्यम र सामाजिक सञ्जालमा प्रकाशित तथा प्रसारित समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। कार्यालयले शुक्रबार प्रेस विज्ञप्ति जारी गर्दै उक्त दाबी तथ्यहीन, भ्रामक र आधारहीन रहेको स्पष्ट पारेको हो ।

प्रहरीका अनुसार असार २५ गते त्रिपुरेश्वरस्थित राहदानी विभाग अगाडि मुगु जिल्लाको सोरु गाउँपालिका–१ निवासी २८ वर्षीय गणेश नेपालीले आत्मदाहको प्रयास गरेका थिए । घटनासँग जोडेर ट्राफिक प्रहरीले जरिवाना तिराएकै कारण उनले यस्तो कदम चालेको भन्ने विवरण सार्वजनिक भए पनि त्यसमा कुनै सत्यता नरहेको कार्यालयले जनाएको छ।

विज्ञप्तिमा घटनास्थलको प्रारम्भिक अनुसन्धानबाट गणेश नेपालीलाई ट्राफिक प्रहरीले कुनै पनि प्रकारको जरिवाना नगरेको र ट्राफिक कारबाहीसँग उक्त घटनाको कुनै सम्बन्ध नरहेको उल्लेख गरिएको छ।

कार्यालयले घटनाको वास्तविक कारणबारे सम्बन्धित निकायबाट अनुसन्धान जारी रहेको जानकारी दिँदै अनुसन्धान पूरा नहुँदै आधिकारिक पुष्टि बिना सुरक्षा निकायको नाम जोडेर समाचार सम्प्रेषण गर्दा आमनागरिकमा भ्रम सिर्जना हुने जनाएको छ।

ट्राफिक प्रहरी कार्यालयले सञ्चारमाध्यम, सामाजिक सञ्जाल प्रयोगकर्ता तथा सर्वसाधारणलाई अनुसन्धानको निष्कर्ष नआउँदासम्म अपुष्ट र कपोलकल्पित सूचना प्रसारण नगर्न तथा आधिकारिक तथ्यका आधारमा मात्र समाचार सम्प्रेषण गर्न आग्रह गरेको छ।

प्रतिक्रिया

सम्बन्धित समाचार