नेवाः सांस्कृतिक ज्ञानकोष अनलाइन संस्करणमा, १६७ भाषामा अध्ययन गर्न मिल्ने

नेवारहरुको ज्ञानको भण्डारको रुपमा रहेको नेवाः सांस्कृतिक ज्ञानकोषको अनलाइन संस्करण एक समारोहमा सार्वजनिक गरिएको छ । काठमाडौ महानगरपालिकाको सहयोगमा नेपालभाषा एकेदेमिले प्रकाशन गरेको उक्त ज्ञानकोषको अनलाइन संस्करण महानगरपालिकाका कार्यवाहक प्रमुख सुनिता डंगोलले सार्वजनिक गरेका हुन् ।

यो संस्करण रञ्जना र नेपाल लिपिमा पनि लिपि परिणत गरि अध्ययन गर्न सकिने व्यवस्था गरिएको छ । यस्तैगरी सामग्री संक्षेपीकरण गर्न मिल्ने गरि एआई प्रविधि पनि यसमा राखिएको छ ।

सो कार्यक्रममा ज्ञानकोषको अनलाइनका साथै मोबाइल भर्सन पनि सार्वजनिक गरिएको छ । हालाई एन्ड्रोइडमा मात्रै डाउनलोड गर्न मिल्ने र पछि आइओएसयूनमा पनि उपलब्ध हुने बताइएको छ ।

सो समारोहमा प्रमुख अतिथि महानगरपालिकाका कार्यवाहक प्रमुख सुनिता डंगोलले नेवाः संस्कृतिको क्षेत्रमा यो एउटा महत्वपूर्ण उपलब्धि हासिल भएको बताएकी छन् ।

त्यस्तै अनलाइन नेवाः ज्ञानकोष योजनाका प्राविधिक प्रमुख एवम् एकेडेमिका प्राज्ञ परिषदका प्राज्ञ डा. ऐलेन बैलोचन तुलाधरले डिजिटल संस्करणमा समावेश भएका विषयवस्तु बारे प्रकाश पारे । अनलाइन संस्करणमा ज्ञानकोषका विषय मात्रै डिजिटाइजेशन भएको नभई प्राविधिक विधिलाई पनि समावेश गरेको कुरा प्राविधिक प्रमुख तुलाधरले बताए । उनले यसमा डिजिटाइज का साथै ट्रान्सलेसन इन्जिन र टेक्स्ट टु स्पीच प्रविधि पनि विकास गरि समावेश गरेको बताए ।

नेपालभाषा एकेडेमिका चान्सलर एवम् ज्ञानकोष परिकल्पनाकार मल्ल के। सुन्दरले ज्ञानकोषलाई डिजिटाइज गर्न डा.एलेन बैलोचन तुलाधरले अभुतपुर्व कार्य गरेको बताए । यस्तैगरी ज्ञानकोषको प्रकाशनमा आर्थिक रुपले काठमाडौ महानरपालिकाले सहयोग गरेकोमा धन्यवाद व्यक्त गरे ।

एकेडेमिका भाइस चान्सलर डा. पुष्पराज राजकर्णिकारले स्वागत मन्तव्य राखेको यस कार्यक्ररममा कोषाध्यक्ष वीरप्रसाद भंसारीले धन्यवाद ज्ञापन गरेका थिए भने सदस्य सचिव महेन्द्र गोपाल कर्माचार्यले कार्यक्रम सन्चालन गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित समाचार