नेपालको शैक्षिक परामर्श र उच्च शिक्षा क्षेत्रका दुई ठूला र प्रतिष्ठित संस्थाहरू नेपाल शैक्षिक परामर्श संघ (इक्यान) र इन्टरनेसनल एजुकेसन प्रोभाइडर्स एसोसिएसन अफ नेपाल (आइप्यान) बीच नेपाललाई अन्तर्राष्ट्रिय शिक्षाको उत्कृष्ट गन्तव्य बनाउने र ‘स्टडी इन नेपाल’ अभियानलाई व्यापक रूपमा अघि बढाउने उद्देश्यका साथ एक ऐतिहासिक रणनीतिक समझदारीपत्रमा हस्ताक्षर सम्पन्न भएको छ।
सोमबार राजधानीमा आयोजित एक विशेष र गरिमामय समारोहबीच दुवै संस्थाका शीर्ष नेतृत्वले देशको शैक्षिक परिदृश्यलाई नयाँ उचाइमा पुर्याउने संकल्पसहित उक्त सम्झौतामा हस्ताक्षर गरेका हुन् । यस साझेदारीले नेपालमा विदेशी विश्वविद्यालयका सम्बन्धनमा सञ्चालित उच्च शिक्षाको प्रवर्द्धन गर्ने र परामर्श क्षेत्रलाई अझ पारदर्शी, उत्तरदायी र गुणस्तरीय बनाउने दीर्घकालीन लक्ष्य राखेको छ ।
कार्यक्रममा नेतृत्वदायी भूमिका निर्वाह गर्दै इक्यानका अध्यक्ष लक्ष्मण पौडेल (एन्ड्रयु)ले यो समझदारी नेपालको समग्र शैक्षिक इतिहासका लागि एउटा अभूतपूर्व कोसेढुङ्गा सावित हुने दाबी गरे । उनले दुई संस्थाबीचको यो ऐतिहासिक एकताले शैक्षिक परामर्शदाताहरू र अन्तर्राष्ट्रिय कलेजहरूबीचको दूरीलाई मेटाउँदै विद्यार्थी र अभिभावकहरूलाई सुरक्षित एवं भरपर्दो शैक्षिक वातावरण दिन सफल हुने विश्वास व्यक्त गरे । अध्यक्ष पौडेलले इक्यान सधैं गुणस्तरीय र नैतिक परामर्शको पक्षमा रहेको उल्लेख गर्दै आइप्यानसँगको यस सहकार्यले नेपाली विद्यार्थीहरूलाई स्वदेशमै विश्वस्तरीय शिक्षाको अवसर प्रदान गर्न र उनीहरूको शैक्षिक भविष्य सुनिश्चित गर्न मद्दत पुग्ने बताए ।
यसैगरी, इक्यानका निवर्तमान अध्यक्ष शेषराज भट्टराईले कार्यक्रममा आफ्नो विशेष उपस्थिति जनाउँदै संस्थाको निरन्तरता र दुरगामी सोच नै आजको यस सफलताको जग भएको धारणा व्यक्त गरे । उनले विगतका अनुभवहरूलाई समेट्दै दुवै अग्रणी संस्थाहरू एकै ठाउँमा उभिनुले नेपाली शिक्षा क्षेत्रमा एउटा बलियो र सकारात्मक सन्देश प्रवाह गरेको उल्लेख गरे । निवर्तमान अध्यक्ष भट्टराईले नयाँ नेतृत्वले अघि सारेको यो रणनीतिक कदमले शैक्षिक क्षेत्रका चुनौतीहरूलाई न्यूनीकरण गर्न र नेपाललाई अन्तर्राष्ट्रिय विद्यार्थीहरूको रोजाइको केन्द्र बनाउने नीतिगत कार्यहरूमा सरकारलाई समेत घच्घच्याउन ठूलो मद्दत पुग्ने विश्वास व्यक्त गरे ।

त्यस्तै आइप्यानका अध्यक्ष लक्ष्मण केसी नेपालको उच्च शिक्षा प्रणालीलाई अन्तर्राष्ट्रियकरण गर्न यो सम्झौताले नयाँ ऊर्जा थपेको बताए । उनले आइप्यान आबद्ध संस्थाहरूले स्वदेशमै अन्तर्राष्ट्रिय स्तरको गुणस्तरीय शिक्षा उपलब्ध गराउँदै आएको बताउँदै विदेशी विद्यार्थीलाई पनि आकर्षित गर्न सक्ने अवस्था सिर्जना भएको बताए । उनले भने, ‘पढाउने विषयमा आइप्यान र विद्यार्थीलाई काउन्सिल दिनेमा इक्यानको भूमिका महत्वपूर्ण भएकाले दुवै संस्थाको संयुक्त प्रयासबाट स्टडी इन नेपालको लक्ष्य प्राप्त गर्न सहज हुनेछ ।’ अध्यक्ष केसीले नेपालको शैक्षिक क्षेत्रमा दुवै संस्था मिलेर संयुक्तरूपमा काम गर्ने र यसले बजारमा स्वस्थ शैक्षिक प्रतिस्पर्धाको विकास गर्ने कुरामा विशेष जोड दिए ।
त्यसैगरी आइप्यानकी महासचिव शैलजा अधिकारीले यस ऐतिहासिक सहकार्यले दुवै संस्थाका कार्यसमिति र सदस्यहरूमा नयाँ उत्साह थपेको धारणा व्यक्त गरिन् । उनले यो समझदारीपत्र केवल कागजमा मात्र सीमित नभई यसका प्रत्येक बुँदाहरूलाई व्यवहारमा उतार्न र संस्थागत सामाजिक उत्तरदायित्वका कार्यक्रमहरूलाई संयुक्त रूपमा अघि बढाउन आफूहरू पूर्ण रूपमा प्रतिबद्ध रहेको बताइन् । महासचिव अधिकारीले जेहेन्दार, पिछडिएका र विपन्न वर्गका विद्यार्थीहरूका लागि विशेष छात्रवृत्तिको व्यवस्थापन गर्ने र ‘स्टडी इन नेपाल’ अभियानलाई विश्वव्यापी मञ्चमा पुर्याउन दुवै संस्थाको सचिवालयले निरन्तर समन्वय गर्ने प्रतिवद्धता समेत व्यक्त गरिन् ।
कार्यक्रमको संचालन इक्यानका प्रथम सचिव सुरज सिलवालले गरेका थिए ।








प्रतिक्रिया