सुरेन्द्र सुवेदी/काठमाडौं- नेपालको समग्र खेलकुद क्षेत्रको इतिहास र विकासलाई नियाल्दा नेपाली सेना र यस अन्तर्गतको त्रिभुवन आर्मी क्लबको भूमिका अग्रपंक्तिमा रहँदै आएको छ। २००८ सालदेखि नै खेलकुद प्रतियोगिताहरूमा अनौपचारिक सहभागिता जनाउन सुरु गरेको सेनाले २०४६ सालमा त्रिभुवन आर्मी क्लब र २०७२ सालमा नेपाली सैनिक शारीरिक तालिम तथा खेलकुद केन्द्रको स्थापना गरेपछि खेलकुदलाई संस्थागत र व्यावसायिक रूपमा अगाडि बढाएको हो। हाल नेपालका कुल राष्ट्रिय खेलाडीहरूमध्ये करिब ६० प्रतिशत खेलाडी नेपाली सेनाकै रहेका छन्, जसले राष्ट्रिय प्रतियोगिताहरूमा सेनाको वर्चस्व मात्र कायम राखेका छैनन्, बरु अन्तर्राष्ट्रिय मञ्चमा नेपालको उपस्थिति र पदक तालिकालाई सुदृढ बनाउने मुख्य आधार बनेका छन्।
अन्तर्राष्ट्रिय खेलकुद प्रतियोगितामध्ये विशेष गरी दक्षिण एसियाली खेलकुद (साग) मा नेपाली सेनाको योगदान ऐतिहासिक छ। २०७६ मा नेपालमै सम्पन्न १३ औं सागमा सेनाका १८० जना खेलाडीले २३ स्वर्ण, ३१ रजत र ४९ कास्य गरी कुल १०३ वटा पदक जित्दै नेपालको पदक तालिकामाथि बलियो पकड जमाएका थिए। दक्षिण एसियाली क्षेत्र मात्र नभई एसियाली र विश्वस्तरका खेलकुदमा पनि सैनिक खेलाडीहरूले देशको प्रतिष्ठा उच्च राख्ने काम गरेका छन्। चीनको हाङ्झाउमा आयोजित १९ औं एसियाली खेलकुदमा महिला कबड्डीतर्फ ऐतिहासिक कास्य पदक, धावक दीपक अधिकारीले १० हजार मिटर दौडमा कायम गरेको राष्ट्रिय कीर्तिमान र सुटिङमा शिल्सा भण्डारी रायमाझीको प्रदर्शन यसका ज्वलन्त उदाहरण हुन्।
विश्वस्तरका अन्य विशिष्ट प्रतियोगिताहरूमा पनि सेनाका खेलाडीहरूले गौरवपूर्ण सफलता हासिल गरेका छन्। भारतको नयाँ दिल्लीमा आयोजित प्रथम विश्वकप खोखो प्रतियोगितामा नेपाली टोलीलाई उपविजेता बनाउँदै रजत पदक दिलाउन सैनिक खेलाडीहरूको भूमिका निर्णायक रह्यो, जहाँ मानमति धामीले ‘बेस्ट डिफेन्स’ को उपाधि हात पारिन्। त्यस्तै, तेस्रो थाउलो विश्वकप उसुमा विजय सिञ्जालीले कास्य पदक जितेर नेपाललाई गौरवान्वित बनाए। विश्व खेलकुदको महाकुम्भ ओलम्पिकमा पनि सेनाको सहभागिता निरन्तर छ। १९६४ को टोकियो ओलम्पिकबाट सुरु भएको नेपालको यात्रामा हालसम्म सेनाका २८ जना दक्ष खेलाडीहरूले सहभागिता जनाइसकेका छन् भने फ्रान्समा सम्पन्न पेरिस प्याराओलम्पिक २०२४ मा पनि सेनाका भीमबहादुर कुमालले देशको प्रतिनिधित्व गरे।
नेपाली सेनाले देशभित्र खेलकुदको जग बलियो बनाउन गुल्मदेखि पृतना तहसम्म चरणबद्ध प्रतियोगिताहरू सञ्चालन गर्दै आएको छ। यसरी पहिचान गरिएका प्रतिभाहरूलाई अत्याधुनिक प्रशिक्षण र उचित सुविधा उपलब्ध गराई राष्ट्रिय खेलाडीको रूपमा स्थापित गरिन्छ। २०६५ देखि नियमित आयोजना हुँदै आएको ‘प्रधान सेनापति ट्रफी’ ले नयाँ खेलाडी उत्पादनमा महत्त्वपूर्ण मञ्च प्रदान गरिरहेको छ भने २०७७ सालमा त्रिभुवन आर्मी फुटबल क्लबले प्राप्त गरेको ‘एएफसी क्लब लाइसेन्स’ ले नेपाली फुटबललाई व्यावसायिक उचाइमा पुर्याएको छ।
आधुनिक प्रविधिको अभाव र खेलाडीहरूको वैदेशिक पलायन जस्ता चुनौतीका बाबजुद नेपाली सेनाले राष्ट्रिय खेलकुद परिषद् र विभिन्न खेल संघहरूसँग समन्वय गर्दै खेलकुदको विकासमा अविचलित योगदान दिइरहेको छ। राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मञ्चमा प्राप्त गरेका अनगिन्ती पदकहरू नेपाली खेलकुदको इतिहासमा नेपाली सेनाले पुर्याएको ऐतिहासिक, अपरिहार्य र गौरवपूर्ण योगदानको जीवन्त प्रमाण हुन्।









प्रतिक्रिया