एमाले–जनता सम्बन्ध सुधारका लागि ‘६ ज’को नीति

नेकपा एमालेले जनतासँग खस्किएको सम्बन्ध सुधारका लागि ६ नीति अघि सारेको छ । यही नीतिलाई आधार मानेर एमालेले स्थानीय तह निर्वाचनकेन्द्रित मिसन जागरण अभियानमा चलाउने भएको छ ।

एमालेले अघि सारेको नीतिलाई ‘६ ज’को रुपमा व्याख्या गरेको छ । जसअन्तर्गत् ‘जनतामा जाऔं, जनताका कुरा सुनौं, जनप्रिय बनौं, जनसंगठन परिचालन गरौं, जबजलाई आत्मसात गरौं र जनमत सर्भेक्षणका आधारमा समेत प्रत्येक तहमा प्रतिस्पर्धामा सफलता हासिल गर्न सक्ने योग्य र सक्षम नेतृत्व तयार गरौं’ भन्ने रहेको छ ।

पार्टी प्रचार तथा प्रकाशन विभाग प्रमुख निरज आचार्यले एमालेले डिजिटल संगठन र प्रभावकारी प्रचारलाई प्राथमिकतमा राख्दै ६ नीतिलाई अघि सारिएको बताए । उनका अनुसार यो अभियान आगामी स्थानीय तह र प्रदेशको निर्वाचनसम्म कायम रहने छ।

पार्टीले सामाजिक सञ्जालको व्यापक प्रयोग गर्न कार्यकर्तालाई निर्देशन जारी गरेको छ। एमालेले ‘अल्गोरिदम’ र ‘पर्सेप्सन म्यानेजमेन्ट (धारणा व्यवस्थापन)’मा विशेष ध्यान दिन पनि कार्यकर्तालाई भनेको छ।

पार्टीका सबै केन्द्रीय सदस्यहरूको जिम्मेवारीसहित पठाइएको मिसन जागरणको अवधारणामा गत निर्वाचनको समीक्षा, पार्टीले हार व्योहोर्नुका कारण, कार्यकर्ता र जनताको पार्टीप्रति निराश हुनुको कारण पनि केलाइएको छ ।

मुख्यतः २०७४ को निर्वाचनमा वाम गठबन्धनका कारण उत्साहित भएका जनता माओवादीसँगको पार्टी एकता टिकाउन नसक्दा र पछि एमाले फुट्दा निराश भएर पलायन भएको एमालेले विश्लेषण गरेको छ ।

‘२०७४ को आम निर्वाचन र नेकपाको गठनबाट उत्साहित बनेको जनमत नेकपाको विघटन र एमालेको विभाजनबाट समेत निराश हुँदै क्रमश वैकल्पिक शक्तितर्फ आकर्षित भएको हो,’ पार्टीले तयार गरेको मिसन जागरण अभियानको अवधारणामा भनिएको छ– ‘आकस्मिक र अस्वभाविक रूपमा आम निर्वाचनबाट नेपालको राजनीतिमा मुख्य शक्तिका रूपमा स्थापित रास्वपा नेपालको अस्थिर राजनीति र भूराजनीतिक चलखेलको परिणाम हो ।’

पार्टी र पार्टी नेतृत्वको सरकारले गरेका राम्रा कामहरू जनस्तरसम्म प्रचार गर्न नसक्दा त्यसको असर आम जनतासम्म पुगेको एमालेको ठम्याइ छ । जसका कारण भदौ २३ र २४ गतेका विध्वंशकारी घटना भएको र मुलुकलाई नियोजित प्रतिगमनतर्फ धकेलिएको दस्तावेजमा उल्लेख गरिएको छ ।

मिसन जागरण अभियानको जिम्मेवारी लिने नेताहरूलाई वर्तमान राजनीतिको पृष्ठभूमि, निर्वाचनको पराजयका कारण र पार्टीको भावी नीतिका बारेमा स्पष्ट होऊन भन्ने ध्येयले विस्तृत र सरल भाषामा अवधारणा पत्र तयार गरिएको आचार्यले बताए ।

विगतदेखिको राजनीतिक उतारचढाव, निर्वाचन पछिको पार्टीको राजनीतिको मूल्यांकन र भावी कार्यदिशाबारे स्पष्ट भएर उनीहरूले मातहतमा सही सन्देश प्रवाह गर्न सकून् भन्ने पार्टी केन्द्रले सोचेको छ,’ उनले भने ।

प्रतिक्रिया

सम्बन्धित समाचार