इरानले आफ्नो राष्ट्रिय फुटबल टोलीका ‘महत्त्वपूर्ण’ सहयोगी कर्मचारीहरूलाई अमेरिकाले भिसा दिन अस्वीकार गरेको आरोप लगाएको छ। यो घटना वासिङ्टनले इरानी खेलाडीहरूलाई आगामी विश्वकपका लागि यात्रा गर्ने अनुमति दिएको केही घण्टापछि सार्वजनिक भएको हो।
अमेरिकी अधिकारीहरूले १५ जुनमा लस एन्जलसमा हुने इरानको पहिलो खेलको १० दिन अगाडि, शुक्रबार नै सबै खेलाडी र आवश्यक सहयोगी कर्मचारीहरूलाई भिसा जारी गरिएको पुष्टि गरेका थिए । यद्यपि, अमेरिकी अधिकारीहरूले गलत बहानामा आतंकवादीहरूलाई अमेरिका छिराउन यो प्रणालीको दुरुपयोग गर्न नदिने चेतावनी पनि दिएका छन्।
टर्कीस्थित इरानी दूतावासले भने, ‘व्यवस्थापकीय र कार्यकारी कर्मचारी तथा प्राविधिक सल्लाहकारहरूको ठूलो हिस्सालाई भिसा नदिएर अमेरिकाले खेलकुदमा राजनीतिक हस्तक्षेप गरेको’ आरोप लगाएको छ । इरानी सरकारी सञ्चारमाध्यमका अनुसार फुटबल महासंघका अध्यक्ष, उपाध्यक्ष र मिडिया निर्देशकसहित १५ जना प्रशासनिक अधिकारीहरूलाई प्रवेश अनुमति नदिइएको अन्तर्राष्ट्रिय संचारमाध्यम बीबीसीले उल्लेख गरेको छ।
इरानी टोली शनिबार टर्कीको प्रशिक्षण शिविरबाट मेक्सिकोका लागि प्रस्थान गरेको छ। प्रतियोगिताका लागि उनीहरू मेक्सिकोमा बस्नेछन्। मेक्सिकोका लागि इरानी राजदूतका अनुसार, भिसाका सर्तहरू अनुसार टोलीले आफ्नो खेलको दिन नै अमेरिका प्रवेश गर्ने र सोही दिन फर्कनुपर्ने बाध्यता छ। इरानी पक्षले अमेरिकी निर्णयलाई ‘कपाटीपूर्ण’ भन्दै यसले इरानी फुटबल टोलीविरुद्धको भेदभावपूर्ण व्यवहारलाई उच्च तहमा पुर्याएको टिप्पणी गरेको छ। इरानी दूतावासका अधिकारीहरूले यस विषयमा हस्तक्षेप गर्न विश्व फुटबलको सर्वोच्च निकाय फिफासँग माग गरेको बीबीसीले जनाएको छ।
सन् २०२६ को विश्वकप जुन ११ देखि अमेरिका, क्यानडा र मेक्सिकोमा संयुक्त रूपमा आयोजना हुँदैछ। इरान सन् २०२५ को मार्चमा आफ्नो छनोट समूहमा शीर्ष स्थान हासिल गर्दै प्रतियोगिताका लागि छनोट भएको थियो। यो विश्वकपको इतिहासमै पहिलो पटक हो कि कुनै आयोजक राष्ट्रले आफूसँग युद्धरत देशको टोलीलाई स्वागत गर्दैछ।









प्रतिक्रिया