काठमाडौंमा भोलीबाट दुईदिने ‘स्टडी इन इन्डिया एक्स्पो’ हुँदै, ३० भन्दा बढी भारतीय विश्वविद्यालयको सहभागिता रहने

काठमाडौंमा भारतीय विश्वविद्यालय तथा कलेजहरूमा अध्ययन गर्न इच्छुक नेपाली विद्यार्थीहरूलाई लक्षित गर्दै भोलीबाट ‘स्टडी इन इन्डिया एक्स्पो’ हुने भएको छ । नयाँ बानेश्वरस्थित होटल एभरेष्टमा यही जेठ २२ र २३ गते अर्थात भोलीबाट दुई दिन सम्म एक्स्पो संचालन हुने अफेयर्स नेपालले जनाएको छ ।

शिक्षा मन्त्रालयको स्वीकृतिमा सञ्चालन हुन लागेको एक्स्पोमा भारतका ३० भन्दा बढी प्रतिष्ठित विश्वविद्यालय तथा कलेजहरूको प्रत्यक्ष सहभागिता रहने फेयर्स नेपालका प्रबन्ध निर्देशक कुमार थपलियाले जानकारी दिए । बिहान १० बजेदेखि बेलुका ५ बजेसम्म सञ्चालन हुने एक्स्पोमा निशुःल्क प्रवेशको व्यवस्था गरिएको उनले बताए ।

एक्स्पोमा विद्यार्थीहरूले कलेजका आधिकारिक प्रतिनिधिसँग सिधै भेटघाट र अन्तरक्रिया गर्दै दुई सय भन्दा बढी स्नातक, स्नातकोत्तर तथा अन्य शैक्षिक कार्यक्रमबारे विस्तृत जानकारी प्राप्त गर्न सक्ने बताइएको छ ।

एक्स्पोको विशेष आकर्षणका रूपमा विद्यार्थीहरूले स्थलमै प्रत्यक्ष आवेदन दिन सक्ने व्यवस्था मिलाइएको जानकारी दिंदै मेरिटका आधारमा शतप्रतिशतसम्म छात्रवृत्ति प्राप्त गर्ने अवसरसमेत रहेको थपलियाले बताए । साथै, विश्वविद्यालयहरूको शुल्क संरचना, भर्ना प्रक्रिया, तथा अध्ययनपछिको करिअर सम्भावनाबारे विस्तृत परामर्श प्रदान गरिने छ ।

नेपाल र भारतबिचको भौगोलिक, सांस्कृतिक तथा सामाजिक निकटताका कारण भारतीय शैक्षिक संस्था नेपाली विद्यार्थीहरूका लागि उपयुक्त गन्तव्यका रूपमा स्थापित हुँदै आएका छन् ।

भारतमा उच्च शिक्षा हासिल गर्ने योजना बनाएका विद्यार्थी तथा अभिभावकलाई एक्स्पोमा सहभागी भई उपलब्ध अवसरको लाभ लिन आयोजकले आग्रह गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार