सेखौनामा ६० लाखको विद्यालय भवन निर्माण हुने, अध्यक्ष साहले गरे शिलान्यास

सर्लाहीको धनकौल गाउँपालिका वडा नं. १ सेखौनास्थित श्री आधारभूत विद्यालय सेखौनामा करिब ६० लाख रुपैयाँको लागतमा निर्माण हुन लागेको ४ कोठे विद्यालय भवनको शिलान्यास गरिएको छ ।

गाउँपालिकाको शिक्षा क्षेत्रलाई थप सुदृढ र व्यवस्थित बनाउने लक्ष्यका साथ निर्माण हुन लागेको उक्त भवनको शिलान्यास गाउँपालिका अध्यक्ष रामाअश्रय साहले गरेका हुन् ।

शिलान्यास समारोहलाई सम्बोधन गर्दै अध्यक्ष साहले गुणस्तरीय शिक्षाको आधार बलियो भौतिक पूर्वाधार भएको उल्लेख गर्दै गाउँपालिकाले शिक्षा क्षेत्रलाई उच्च प्राथमिकतामा राखेर काम गरिरहेको बताए । उनले विद्यालयमा अध्ययनरत विद्यार्थीहरूलाई सुरक्षित, व्यवस्थित तथा आधुनिक शैक्षिक वातावरण उपलब्ध गराउन स्थानीय तह प्रतिबद्ध रहेको बताउँदै आगामी दिनमा समेत शिक्षा क्षेत्रको विकासका लागि आवश्यक लगानी र पूर्वाधार निर्माणलाई निरन्तरता दिइने स्पष्ट पारे।

कार्यक्रममा वडा नं. १ का वडा अध्यक्ष गौरी महतो, जनप्रतिनिधिहरू, गाउँपालिकाका कर्मचारी, विद्यालय व्यवस्थापन समितिका पदाधिकारी, शिक्षक, अभिभावक तथा स्थानीयवासीहरूको उल्लेखनीय सहभागिता रहेको थियो । सहभागीहरूले नयाँ भवन निर्माणसँगै विद्यालयको शैक्षिक गुणस्तरमा थप सुधार आउने र विद्यार्थीहरूले सहज वातावरणमा अध्ययन गर्ने अवसर प्राप्त गर्ने विश्वास व्यक्त गरेका छन् ।

निर्माणाधीन ४ कोठे भवनले विद्यालयमा बढ्दो विद्यार्थी सङ्ख्यालाई व्यवस्थापन गर्न महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ । साथै, स्थानीय तहबाट शिक्षा क्षेत्रमा भइरहेको लगानीले ग्रामीण क्षेत्रका विद्यालयहरूको समग्र शैक्षिक विकासमा सकारात्मक प्रभाव पार्ने विश्वास गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार