जापानमा निश्चित सीपयुक्त श्रमिक पठाउने जिम्मा म्यानपावरलाई

सरकारले जापानमा ‘निश्चित सीपयुक्त श्रमिक’ पठाउने जिम्मा इजाजतपत्र प्राप्त संस्था (म्यानपावर कम्पनी)लाई दिएको छ । श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले गत माघ २५ गते स्वीकृत गरेको कार्यविधिमार्फत जापानमा सीपयुक्त श्रमिक पठाउने जिम्मा म्यानपावरहरुलाई दिइएको हो ।

तत्कालै कार्यान्वयनमा जाने गरी स्वीकृत भएको ‘जापानमा निश्चित सीपयुक्त श्रमिक पठाउने कार्यविधि, २०८०’ अनुसार अब म्यानपावर कम्पनीहरुले स्पेसिफाइड स्किल्ड वर्कर (एसएसडब्ल्यू) प्रणालीमा आधारित भएर जापानमा नेपाली सीपयुक्त श्रमिक पठाउन सक्नेछन् । यसअघि सन् २०१९ मार्च २४ मा जापानमा सीपयुक्त श्रमिक पठाउने गरी नेपाल र जापानबीच द्विपक्षीय समझदारी गरेको थियो ।

सोही समझदारीको आधारमा नेपालीलाई जापानमा रोजगारीको लागि पठाउने कार्यलाई व्यवस्थित, छिटोछरितो र पारदर्शी बनाउन वाञ्छनीय भएकोले कार्यविधि ल्याइएको मन्त्रालयले जनाएको छ ।

जापानमा सीपयुक्त श्रमिक पठाउन नसकेको आलोचना खेप्दै आएको मन्त्रालयले द्विपक्षीय श्रम समझदारी भएको झण्डै ६ वर्षमा कार्यविधि ल्याएको छ । कार्यविधिले सीपयुक्त श्रमिक पठाउने सम्पूर्ण अधिकार म्यानपावर कम्पनीहरुलाई दिएको छ भने आफ्नै स्वामित्वमा जापानीज भाषा र सीप प्रशिक्षणको लागि तालिम केन्द्र सञ्चालन गर्न पाइने व्यवस्था गरेको छ ।

यसको लागि म्यानपावर कम्पनीहरुले कामदारको माग संकलन, प्रमाणीकरण तथा सहजीकरण एवं आवश्यक कल्याणकारी सेवा तथा कार्यहरु गर्ने प्रयोजनको लागि जापानमा कानुनी रुपमा दर्ता भएको आफ्नै सम्पर्क शाखा वा यसप्रकारको काम गर्न अनुमति प्राप्त संस्था ‘रजिस्टर्ड सपोर्ट अर्गनाइजेशन’सँग सम्झौता गरेको हुनुपर्नेछ ।

रजिस्टर्ड सपोर्ट अर्गनाइजेशन भन्नाले जापानमा एसएसडब्लु सम्बन्धी व्यवस्था कार्यान्वयन गर्न एवं यस प्रणाली अन्तरगत आउने श्रमिकहरुका लागि प्रवेषाज्ञा सहजीकरण, आवश्यक कल्याणकारी सेवा तथा कार्यहरु गर्न कानुनी रुपमा दर्ता भएको अनुमतिप्राप्त संस्था हो ।

यस्ता संस्थाले एसएसडब्लु अन्तरगत नेपाली श्रमिक तथा म्यानपावरसँग कुनैपनि शुल्क नलिने सम्झौता गरेको हुनु पर्नेछ । त्यस्तै जापानी रोजगारदाता वा भाषा तथा सीप तालिमप्रदायक संघसंस्थाले नेपालमै आएर तालिम प्रदान गर्ने भएमा त्यस्ता संस्थाहरुको आफ्नै पूर्वाधार वा करार सम्झौता गरी पूर्णकालिन उपयोग गर्न सकिने प्रशिक्षण केन्द्र सञ्चालन गर्न पाइने व्यवस्था गरिएको छ ।

कार्यविधिले एसएसडब्लु प्रणाली अन्तरगत जापान जान चाहने श्रमिकले जापान सरकारको सम्बन्धित निकायबाट मान्यता प्राप्त संस्था वा म्यानपावरबाट सञ्चालन गरिएको जापानी भाषा परीक्षा र पेशागत सीप परीक्षा उत्तीर्ण गर्नुपर्ने व्यवस्था गरेको छ । साथै परक्षिा उत्तीर्ण गरेका श्रमिकहरुको विवरण अध्यावधिक गर्न म्यानपावर कम्पनीहरुले सूची पठाउनु पर्नेछ ।

यद्यपी एसएसडब्लु प्रणाली अन्तरगत श्रमिकको छनौट सरकारबाट नै गर्ने भनी रोजगारदाताको तर्फबाट अनुरोध भई आएका मागपत्रहरुको सन्दर्भमा श्रमिकहरुको विज्ञापन, दरखास्त संकलन एवं छनौटको सम्पूर्ण प्रक्रिया वैदेशिक रोजगार विभागको जापान इकाइले सञ्चालन गर्ने उल्लेख गरिएको छ ।

रोजगार सम्झौता सम्पन्न भएका र जापान जान योग्यता हासिल गरेका श्रमिकको प्रवेषाज्ञाको लागि म्यानपावरले गरेको सिफरिसको आधारमा विभागले नेपालस्थित जापानी राजदूतावासमा सिफारिस गर्नेछ । तर भिसा प्राप्त नभएमा त्यसको जवाफदेही विभाग नहुने प्रस्ट पारिएको छ ।

त्यसैगरी जापान गएका सीपयुक्त नेपालीहरुले गर्ने काम, सेवासुविधा, गुनासो सुनुवाई, व्यवसायजन्य सुरक्षा तथा स्वास्थ्य, कल्याणकारी सेवाहरुको सञ्चालन, श्रम विवादको निरुपण, कायृस्थल निरीक्षण, श्रमिकको सम्पर्क विवरण, क्षतिपूर्ति माग दावी तथा परिपुरण सम्बन्धी काम रजिस्टर्ड सपोर्ट अर्गनाइजेशनले गर्नुपर्ने कार्यविधिमा उल्लेख छ ।

नेपाली श्रमिकलाई जापानमा रोजगारीको लागि पठाउँदा लाग्ने हवाई भाडा, बीमा, स्वास्थ्य परीक्षण, कल्याणकारी कोषमा योगदान, सामाजिक सुरक्षा कोषमा योगदान, र श्रम स्वीकृतिमा लाग्ने खर्च रोजगारदाताले व्यहोर्ने भनिएको बाहेक अन्यको हकमा सेवा शुल्क तथा खर्च मन्त्रालयले तोके बमोजिम हुने बताइएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार